तेस्रो हिमालय ट्राभल मार्ट जेठ २३ बाट

तेस्रो हिमालय ट्राभल मार्ट जेठ २३ बाट

लोकसंवाद संवाददाता  |  पर्यटन  |  जेठ २०, २०७६

काठमाडौँ । नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ सन् २०१७ देखि आयोजना गरिँदै आएको हिमालय ट्राभल मार्ट २०७६ साल जेठ २३ गते २६ (जुन ६ देखि ९ तारिख) सम्म तेस्रो पटक काठमाडौँको सोल्टी क्राउन प्लाजामा आयोजना हुने भएको छ । 

नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगम तथा पाटा अन्तर्राष्ट्रिय एवम् पर्यटन क्षेत्रका विभिन्न सङ्घ–संस्थाहरूको सहयोग, समन्वय तथा सहकार्यमा प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टको आयोजनामा तेस्रो हिमालय ट्राभल मार्ट हुन लागेको हो । 

हिमालयन राष्ट्रहरूबाट बिक्रेताहरू तथा विश्वव्यापी क्रेताहरुलाई एउटै मञ्चमा भेला गराई उनीहरूबिच व्यापार आदान–प्रदान तथा सम्बन्ध सञ्जाल बिस्तारको उद्देश्यले पाटा नेपाल च्याप्टरद्धरा विजनेस–टु–विजनेस मार्टको आयोजना गरेको अध्यक्ष सुनिल शाक्यले जानकारी दिनुभएको छ । 

यस सम्बन्धी सम्पूर्ण जानकारी दिने उद्देश्यले २०७६ साल जेठ २० गते सोमबार आयोजना गरेको पत्रकार सम्मेलन दिएको जानकारी अनुसार यसपटकको बीटुबी मार्टमा ३० मुलुकबाट विश्वव्यापी क्रेता कम्पनीहरू र ६ वटा मुलुक (नेपाल, भारत, पाकिस्तान, चीन, भुटान र थाइलेण्ड) बाट ४५ बिक्रेता कम्पनी तथा संस्थाहरूको सहभागिता जनाउने सुनिश्चित भएको छ । समग्रमा नेपाल सहित ४१ देशका करिब ७०० जनाले मार्टमा सहभागिता रहने समेत सम्मेलनमा जानकारी गराइएको थियो । 

उक्त मार्टको आयोजनाको लागि करिब ६ करोड खर्च हुने अनुमान गरिएको छ । त्यसको लागि नेपाल पर्यटन बोर्डको तफबार्ट २ करोड विनियोजन गरिएको छ भने अरू बाँकी निजी क्षेत्रबाट जुटाएर मार्ट सम्पन्न गर्ने तयारी भइरहेको आयोजकले जनाएका छन् । यस अघि २०१७ र २०१८ मा पनि पहिलो र दोस्रो हिमालय ट्राभल मार्ट सम्पन्न भइसकेको छ भने यो तेस्रो पटक आयोजना गर्न लागिएको हो ।