म्याग्दी स्थित तातोपानी कुण्डको आम्दानी एक करोड ३७ लाख

म्याग्दी स्थित तातोपानी कुण्डको आम्दानी एक करोड ३७ लाख

लोकसंवाद संवाददाता  |  कारोबार  |  श्रावण २, २०८०

म्याग्दी । प्राकृतिक उपचार स्थलको रुपमा परिचित म्याग्दीको सिङ्गा तातोपानी कुण्डमा एक वर्षको अवधिमा  एक करोड ३७ लाख आम्दानी भएको छ । आर्थिक वर्ष २०७९/८० मा प्रवेश शुल्कलगायत विभिन्न शीर्षकमा सो आम्दानी भएको हो । 

म्याग्दी नदीको किनारमा प्राकृतिक रुपमा निस्कने ५० डिग्री सेल्सियस तातोपानी सङ्कलन गरिएको तलाउमा स्नान गरेर उपचार र अवलोकनका लागि तातोपानीमा आउने पाहुनाले तिर्ने प्रवेश शूल्क आम्दानीको मुख्य स्रोत हो । कुण्ड व्यवस्थापन समितिका अध्यक्ष कृष्ण खड्काले भन्नुभयो– 'बिरे नुनको गन्ध नआउने पानी सङ्कलन गरिएको पोखरीमा स्नान गरेर छाला, ग्यास्ट्रिक, वाथ, चोटपटक लागेको लगायत निको हुने गरेको छ ।' गत आर्थिक वर्षमा १८ हजार २०८ जनाले स्नान गरेका थिए । 

बिरामीले स्नान गर्ने कुण्डमा प्रवेश शुल्कबापत  ६२ लाख ९७ हजार र पाहुनाले स्नान गर्ने कुण्डबाट  २५ लाख ८८ हजार आम्दानी भएको छ । चन्दा बापत  चार लाख सोह्र हजार, मन्दिरको भेटी पाँच लाख ३० हजार, आजीवन सदस्यताबाट  तीन लाख आठ हजार तथा  ब्याजबाट  १७ हजार आम्दानी भएको छ । 

प्रवेश शुल्क र चन्दा सहयोग बापत उठ्ने रकममध्ये २५ प्रतिशत बेनी नगरपालिका र १३ प्रतिशत आन्तरिक राजस्व कार्यालयमा कर बुझाउने अध्यक्ष खड्काले बताउनुभयो । तातोपानी सङ्कलन गरिएको तलाउमा एक पटकमा तीन सय ५० देखि चार सय जनाले स्नान गर्न सक्ने क्षमता छ । सात दिन स्नानका लागि प्रतिव्यक्ति  तीन सय ५० शूल्क तोकिएको छ । बिरामी र छोटो अवधि स्नान गर्नेका लागि फरक फरक कुण्ड छन् । 

अध्यक्ष खड्काका अनुसार कुण्डको आम्दानीबाट तातोपानीको सरस्वती माविका ६ निजी शिक्षकको तलबका लागि रु १३ लाख ६४ हजार उपलब्ध गराइएको छ । कुण्डका कर्मचारीको तलबमा  ११ लाख ३३ हजार, संरचना निर्माण र मर्मतमा रु दश लाख ८९ हजारसहित कूल  एक करोड ३६ लाख १९ हजार खर्च भएको छ । आर्थिक वर्ष २०७८/७९ मा  एक करोड १७ लाख २२ हजार, आव २०७७/७८ मा रु ७८ लाख एक हजार, आव २०७६/७७ मा रु एक करोड १३ लाख ४९ हजार, आव २०७५/७६ मा ९९ लाख ४२ हजार तथा आव २०७४/७५ मा  ६५ करोड छ लाख आम्दानी भएको थियो । 

यस्तै आर्थिक वर्ष २०७४/७५ मा रु २६ लाख ५७ हजार, आव २०७५/७६ मा ९६ लाख १० हजार, आव २०७६/७७ मा एक करोड १४ लाख २३ हजार, आव २०७७/७८ मा  एक करोड १४ लाख ५२ हजार तथा आव २०७८/७८ मा  एक करोड ९० लाख ५६ हजार खर्च भएको छ ।