युवा वैज्ञानिक सम्मेलन तयरी, जेठ २२ र २३मा हुने

युवा वैज्ञानिक सम्मेलन तयरी, जेठ २२ र २३मा हुने

लोकसंवाद संवाददाता  |  ज्ञानविज्ञान  |  जेठ २०, २०७६

काठमाडौं । दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) क्षेत्रमा विज्ञान तथा प्रविधिमा भएका पछिल्ला खोज, अनुसन्धान तथा उपलब्धिको अनुभव आदानप्रदान गर्न युवा वैज्ञानिक सम्मेलन आयोजना हुने भएको छ । 

 प्रदेश नं ३ उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र त्रिभुवन विश्वविद्यालय, जल तथा मौसम विज्ञान केन्द्रीय विभागको सहकार्यका यही जेठ २२ र २३ गते आयोजना हुने सम्मेलनमा सार्कमा आबद्ध देशसहित बेलायत, फिनल्याण्ड र जर्मनीका एक सयभन्दा बढी युवा वैज्ञानिकको सहभागिता रहनेछ । 

मन्त्रालयद्वारा यहाँ आज आयोजित पत्रकार सम्मेलनमा युवा सम्मेलनका संयोजक प्रा.डा. दीपक अर्यालले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा सार्थक कार्यान्वयन गर्न सम्मेलनले महत्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो । सम्मेलनमा जलवायु परिवर्तनले स्वास्थ्य क्षेत्रमा पारेका असर,वन, कृषि, पर्यटन, ऊर्जा जल तथा ऊर्जा क्षेत्रमा पछिल्लो समय विकसित उपलब्धिलाई कार्यपत्र तथा पोष्टर प्रदर्शनीका माध्यमबाट  प्रस्तुत गरिने छ । 

प्रा.डा. रामेश्वर अधिकारी र प्रा. डा. विनोद दवाडीले विश्वविद्यालयमा प्राप्त ज्ञानलाई व्यावहारिक रुपमा उतार्न सम्मेलन सेतु बन्ने बताउनुभयो । नेपालका विभिन्न क्षेत्रका कार्यरत ३५ युवा वैज्ञानिकले आफ्ना कार्यपत्र तथा आफूले गरिरहेका खोज तथा अनुसन्धानलाई प्रस्तुति दिनेछन् । 

‘विश्वमा विकसित विज्ञान तथा प्रविधि क्षेत्रका ज्ञानसित सार्क क्षेत्रका वैज्ञानिकका ज्ञानलाई सम्मेलनले जोड्न सहयोग गर्नेछ’।

पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार प्रदेश नं ३ का उद्योगमन्त्री अरुणप्रसाद नेपालले आर्थिक समृद्धिलाई सहयोग पुर्‍याउन मन्त्रालयले पहिलो पटक सम्मेलन आयोजना गर्न लागिएको बताउनुभयो । नेपाल अनुसार–‘स्थानीय निकाय, प्रदेश तथा सघंलाई समेत विज्ञान तथा प्रविधिका क्षेत्रमा आगामी दिनमा गर्नुपर्ने कामको मार्गनिर्देशसमेत सम्मेलनले गर्नेछ । विज्ञान तथा प्रविधिको विकासविना आर्थिक समृद्धि हासिल गर्न कठिन छ । यस क्षेत्रमा लगानी बढाउन आवश्यक छ ।’