क्याबात जनार्दन शर्मा ! प्रचण्डको एकल निर्णय, बिचार र स्वामित्वमा धावाका लागि

क्याबात जनार्दन शर्मा ! प्रचण्डको एकल निर्णय, बिचार र स्वामित्वमा धावाका लागि

डिल्ली बि.सी.  |  दृष्टिकोण  |  श्रावण ६, २०८०

‘हाम्रो पार्टी बहु पदीय भए पनि एक पदीय कार्यकारी छ । रूपमा बहु पदीय छ, तर सारमा एक पदीय छ । त्यो भनेको प्रचण्ड नै हो । उहाँले नै त्यो निर्णय गर्नुहुन्छ ।’ यो विचार  नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय उपमहासचिव जनार्दन शर्माले २०८० साउन ३ गतेका दिन  एक अनलाइनमा तर्फबाट दिपेश शाही र बसन्त बस्नेतले गरेको अन्तरवार्तामा प्रकाशित छ ।

यो विचारले मेरो मस्तिष्क रन्थनायो । मेरो बुझाइमा कमी पनि हुन सक्छ । म कार्यक्रम र बैचारिक रुपमा उहाँको पार्टीको नाम थाहा पाएदेखि सहमत नहुने थोरै  व्यक्ति मध्येको एक हुँ । तर उहाँ र प्रचण्डको सम्बन्धका विषयमा मौखिक भनाई र प्रकाशित समाचार साँच्चिकै सत्य पनि रहेछन् । प्रमाण, त्यही अन्तरवार्तामा उहाँले भन्नु भएको छ ।

करिब ३८ वर्ष भन्दा बढी प्रचण्डसँग संगत गरेका हरेक विषयमा साथ र सहयोग गरेका यति सम्म की हालको सरकारको सम्बन्ध नै उहाँको कारणले भएको जस्ता तथ्य उहाँ आफैले भन्नु भएको छ । विषय सकारात्मक वा नकारात्मक जे जस्ता भएपनि उहाँले बोलेका विषयमा उहाँले तथ्यमा भनेको मैले बुझेको छु । नेता जी शर्माले मान्ने राजनीतिक सिद्धान्तको मुल सार मैले बुझे अनुसार ‘माक्र्सवादी दर्शन सर्वहारा वर्गको मुक्तिको मार्ग हो ।’ हुन त माक्र्सवादी दर्शनलाई मैले बुझेको जस्तो ७ वाक्यमा सिमित गर्नु मेरो ठूलो अल्पज्ञान हुन सक्छ तर निचोड, त्यो निचोड भित्रको अझै निचोडमा भन्दा यस्तै हुन आउछ की जस्तो लागेर मैले उल्लेख गरेको हुँ । 

नेता जी, शर्मा ज्यू, मैले बुझेको माक्र्सवाद र तपाईले बुझेको माक्र्सवाद पनि फरक नहोला । यसर्थ फरक नहोला कि समाज विज्ञानको सबैभन्दा अब्बल विज्ञान माक्र्सवाद हो भनि आजपनि माक्र्सवादी र मार्क्सवादीले स्वीकार गरेका छन् । त्यसो हो भने तपाईको पार्टीमा बहु पदीय जिम्मेवारीको कुनै अर्थ छैन् भन्ने तथ्य सर्व सत्य हो । हैन भन्ने ठाउँपनि छैन् । तपाईले नै प्रष्टसँग बहु पदीय भनेपनि सारमा एक पदीय पार्टी भएको, अझै सारमा एक पदीय भनेको त्यो प्रचण्ड हो भन्नु नै भएको छ । आजको यो प्रसंग पनि यही किन कि आज तथ्य व्यक्त भएको छ ।

तपाईले अन्तरवार्तामा भनेको कुरामा मेरो कहिँ कतै एक अंश पनि विमती छैन् । तपाईलाई अन्तरवार्ताकारले नै ‘हक्की छन्, जनार्दन शर्मा ‘प्रभाकर’ । मनमा लागेका कुरा सीधै भनिदिन्छन् ।’ भनेर विषयको सिरानमै उल्लेख गर्नु भएको छ । मेरो त्यस कुरामा पनि विमती छैन् । त्यसैले तपाईले भनेको कुरा तथ्य हो । तथ्य जहिले पनि सत्य हुन्छ । यो तथ्य तपाईको अन्तरवार्ता पढ्ने र सुन्ने सबैले के बुझे मैले त तपाईले अगुवाइ गरेको जनयुद्ध पनि तथ्य हो भन्ने बुझे । त्यो तथ्य भएकै कारण सत्य पनि हो ।

यस्तो बेला यो सार्वजनिक गर्नु साँच्चिकै महत्वपूर्ण सूचना र जानकारी हो । यो अभिव्यक्तिले तपाईलाई कति असर पर्दछ त्यो भविष्यमा देख्न पाइने छ तर वर्तमान राजनीति त्यसमा पनि तपाईको पार्टी अहिलेको अवस्थामा यो अभिव्यक्ति अर्थपूर्ण छ । यसले साँच्चिने त छाँट त छैन तर तपाईंमा प्रश्न गर्ने आँट भने पक्कै गर्नु भएको छ ।

त्यो जनयुद्ध भयानक थियो । ठूलो बलिदान थियो । व्यक्ति, बस्ती, समाज, जिल्ला, देश मात्रै हैन विश्व समुदायलाई चकित बनाउने तथ्य, सत्य सावित गरेको थियो । तर त्यो तथ्य केवल एक व्यक्तिका लागि, एक व्यक्तिको उपज थियो भन्ने तपाईको भनाइले तथ्यको पर्दाफास गरेको छ । त्यो युद्ध माक्र्सवादी दर्शनकै बागडोरमा थियो । किन की सर्वहारा वर्गको मुक्तिको मार्ग थियो । यति महान व्यक्तित्व जो बहुको अर्थ नभएर एकको मात्रै अर्थ रहेछन्  । त्यसैले त त्यो महान युद्ध, कार्यकर्तामा जनयुद्ध थियो । तर एक पदका लागि त्यो युद्ध थियो ।

किन की युद्धको उपलब्धी ज्ञानेन्द्र शाहले विघटन गरेको संसदलाई ज्ञानेन्द्र बाटै पुनःस्थापना गराएर ८३ जना सांसदमा परिणत भएर एक मनको निर्णयबाट मन युद्धमा परिणत भयो । आज तपाईले भनेजस्तो बहु पदीय भनेपनि एक पदीय मा तथ्य सावित भएको छ ।

नेता जी, शर्मा ज्यू,कै भनाइका आधारमा पनि भन्न सकिन्छ । आज तत्कालिन नेकपा (माओवादी केन्द्र) का दिग्गज नेताहरु तपाईको पार्टीमा हुनु हुन्न । किनभने नेपालमा हिमाली दर्शनका लेखक मोहन बैद्य, बाबुराम भट्टराई जस्ता व्यक्तिहरु बहु पदीय जिम्मेवारीको अभ्यास गरेकै कारण सानासाना समूहमा संगठित हुनु हुन्छ । उहाँलाई तपाई र तपाई जस्ता हजारौ नेता कार्यकर्तासँग मिलेर बहु पदीय अभ्यास गर्न चाहनु हुन्थ्यो होला । विगतको जीवन भोगाई, योगदान र संघर्षको प्रतिफलको साझेदार हुन चाहना थियो होला ।

यी सबै मानव जीवन र स्वभावमा हुने गुण उहाँहरूमा पनि निहित हुन्छन् भन्ने बहु पद माथिको एक पदीय सारले किन नबुझेको होला । रामबहादुर थापा, लेखराज भट्ट, प्रभु शाह जस्ता सयौं नेता आज त्यो बहु पदीय भित्रको एक पदका कारण अन्य पार्टीमा कार्यकर्तासँग चिरपरिचित हुने गर्नु हुन्छ । यो बहु पदीय माथिको एक पदीय कार्य मार्क्‍सवादसँग तारतम्य ता देखिदैन । के यो लेनिनवादसँग संगती होला त ?

उसो भए लेनिनवादी सिद्धान्तमा एउटा महत्वपूर्ण अंग छ त्यो हो जनवादी केन्द्रीयता । जनवाद र केन्द्रीयता दुई शब्द छन् । यी शब्दलाई मिलाएर जनवादी केन्द्रीयता भनिन्छ । यी शब्द जब मिलाइन्छ तब जनवादी केन्द्रीयता हन्छ । अझ भन्दा जनवाद र केन्द्रीयता बीचको सही सन्तुलन नै जनवादी केन्द्रीयता हो । जनवादमा आम हुन्छ । जनवाद तल्लो तहको विचार हो । केन्द्रीयता माथी हुन्छ । माथिल्लो तहको विचार हो । त्यसैले जनवादी केन्द्रीयता को अर्थ हो तलबाट जनवाद, माथिबाट केन्द्रीयता । अझै लेनिनवादीको व्याख्यामा भन्दा ‘जनवादी केन्द्रीयता’ भनेकै छलफलमा स्वतन्त्रता र काममा एकता हो ।

यस विषयमा नेता जी प्रष्ट हुनु हुन्छ । त्यसैले त केन्द्रीयताको करिब ४० वर्षे भोगाई र अनुभवको बृहत आधारमा वा संश्लेषणमा ‘...सारमा एक पदीय छ । त्यो भनेको प्रचण्ड नै हो ।’ भन्नु भएको छ । अनि अरु किन बहु पदीयको सपनामा रुमलिनु जरुरी छ । जो बहु पदीय जिम्मेवारीको अभ्यास गर्दछ त्यो एक पदीय  हतौडाको अचानो भएर चकनाचुर हुन्छ, भएका छन्, फेरी पनि हुने प्रवल संभावना भएकै कारण नेताजीको यो विचार व्यक्त भएको भन्दा अलि छिटो तर्क गरेको भन लान तर समय आइसकेको छ । अबको एक पदीय सारको अनुभुति गर्ने जिम्मा तपाई र तपाईहरु जस्तै को हो ।

नेताजीको पार्टीको बारेमा भन्दापनि नेताजीका पनि नेताकै व्यवहारले कहि कतै लेनिनवादी संगठनात्मक सिद्धान्त अंगिकार गरेको पाइदैन । एकल निर्णय, एकल बिचार र एकल स्वामित्वको कारण आज केवल तपाईको पार्टीमा मात्रै हैन सिङ्गो नेपालको कम्युनिष्ट आन्दोलनमा नै ठुलै असर परेको छ । तपाईको पार्टीबाट तपाईहरु जस्ताको पहलमा बनेको नेकपा र नेकपालाई नेपाली नागरिकले गरेको जन अनुमोदन यी एक पदीय निर्णयका माहिरले गर्दा एकता भङ्ग भएको यही यथार्थले प्रष्ट हुन्छ । कयौं सहयात्रीहरू पाखा लागे । आज पाइले भनेको खिचडी विचारधारा भएकाको सरकार निर्माण गर्न तपाईले नै अगुवाई गर्नु भएको भन्नु नै भएको छ । यसर्थ तपाईको नेतृत्व नत माक्र्सवादी सिद्धान्तमा आधारित रहेको छ न लेनिनवादी संगठनात्मक पद्दतिमा छ । छ त केवल एक पदीयमा छ । गन्तव्य विहानको यात्रा अन्तत: विसर्जनमा समाप्त हुने निश्चित छ ।

माक्र्सवाद द्वन्द्व वादी विचारको उच्चतम विश्वास गर्ने समाज विज्ञान हो । यो अनविज्ञ भएर ‘सारका एक पदीय’ले अधिनायकत्व जमाएका भने पक्कै हैनन् होला । मलाई लाग्छ बुझेरै, जानेरै, अध्ययन गरेरै व्यवहारमा प्रयोग जस्तो लाग्छ । तर तपाईले आन्तरिक भोगाई र अनुभव जुन सार्वजनिक आमसञ्चारमा व्यक्त गर्नु भयो यो आजका लागि मात्रै हैन । भोली नेपाली राजनीति र कम्युनिष्ट आन्दोलनको अध्ययन गर्ने सबैका लागि क्याबात जनार्दन शर्मा भनिने नै छ ! 

तपाईको पार्टीमा टोल देखि एक पदीय सम्म जुन प्रकारको संगठन संचालनको कुहिरो मडारिएको छ । यस्तो बेला यो सार्वजनिक गर्नु साँच्चिकै महत्वपूर्ण सूचना र जानकारी हो । यो अभिव्यक्तिले तपाईलाई कति असर पर्दछ त्यो भविष्यमा देख्न पाइने छ तर वर्तमान राजनीति त्यसमा पनि तपाईको पार्टी अहिलेको अवस्थामा यो अभिव्यक्ति अर्थपूर्ण छ । यसले साँच्चिने त छाँट त छैन तर तपाईंमा प्रश्न गर्ने आँट भने पक्कै गर्नु भएको छ । गर्नुहोस्, अझै प्रश्न गर्नुहोस्  कमरेड जनार्दन । अवश्य पनि निकास एकदिन निस्कने छ । त्यो तपाई र तपाईका पार्टीका लागि फलदायी सावित हाे ।