भरतपुर अस्पतालको सिटी स्क्यान मर्मतको सम्झौता अवधि सकिएको ४ दिनपछि सेवा नै बन्द

भरतपुर अस्पतालको सिटी स्क्यान मर्मतको सम्झौता अवधि सकिएको ४ दिनपछि सेवा नै बन्द

मन्जु नेपाली  |  स्वास्थ्य  |  श्रावण ९, २०८०

चितवन ।चितवनको भरतपुर अस्पतालमा सिटी स्क्यान मर्मतको सम्झौता अवधि सकिएको ४ दिनपछि सेवा नै बन्द  भएको छ ।

अस्पतालले एक सूचना जारी गर्दै मेसिनको सफ्टवेयर र हार्डवेयरमा समस्या भएकै कारण केही दिन सम्मका लागि उक्त  सेवा बन्द हुने भएको हो ।

सिटी स्क्यान मेसिन उपलब्ध गराउने हस्पिटेक इन्टरप्राइजेज प्रालिसँग मेसिनको बार्षिक मर्मत तथा विस्तृत मर्मतको सम्झौता अवधि (४ साउनसम्म)थियो तर  सकिएको चार दिनपछि मेसिन बिग्रिको हो  ।

यसैले पनि समस्या भयो ।मेसिनको ग्राफिक्स कार्डमा नै समस्या देखिएकोले अस्पतालका बायो मेडिकल इन्जिनियर तुलसी खनालले जानकारी दिनुभयो ।मेसिन सप्लाइ गर्ने कम्पनीले सिंगापुरबाट सामान मगाउनुपर्ने उहाँको भनाई छ। कहिले सामान आउँछ एकिन नभएकै कारण सेवामा समस्या हुने खनालले भन्छन् । भरतपुर अस्पतालले बार्षिक ५० लाख रुपैयाँ रकम भुक्तानी दिने गरी बार्षिक मर्मतका लागि हस्पिटेकसँग आर्थिक बर्ष २०७७/०७८ देखि सम्झौता गर्दै आएको छ ।

 तर अस्पतालले आर्थिक बर्ष २०७८/०७९ र २०७९/०८० मा गरेर दुईपटक सम्झौता नवीकरण गरेको थियो । यसरी सधैं म्याद थप गर्नुभन्दा नयाँ टेण्डरमा जानु उपयुक्त हुने सुझाव आएकाले सम्झौता नवीकरण नगरेको अस्पतालको भनाइ छ ।अस्पतालको सिटी स्क्यान मेसिनबाट दैनिक ४०र५० जना बिरामीले सेवा लिँदै आएका थिए । २०७४ जेठमा ६ करोड ४७ लाख रुपैयाँ खर्चिएर खरिद गरिएको सिटी स्क्यान मेसिन वारेन्टी समय सकिएको र उक्त मेसिन पाँच महिनामै बिग्रिएको हो ।

मेसिनमा पटकपटक समस्या आएपछि अस्पतालले सिटी स्क्यान सप्लाई गर्ने कम्पनीलाई नै बर्षको ५० लाख दिने गरेर मर्मत सम्भारसम्बन्धी सम्झौता गरेको थियो । सिटी स्क्यान मेसिनका नाममा अस्पताललाई वर्षौसम्म कम्पनीले ‘दुहुना गाई’ बनाएको भन्दै अस्पताल भित्रै आलोचनासमेत हुने गरेको छ ।

अस्पतालमा सिटी स्क्यान गरेको रकम तीन हजारदेखि ९ हजारसम्म तिर्नुपर्छ, अन्य निजीमा ४ हजारदेखि १३ हजारसम्म तिर्नुपर्छ । यसअघि भरतपुर अस्पतालमा सिटी स्क्यान गर्दै आएका बिरामी अब निजी अस्पताल र प्रयोगशालामा जानुपर्ने बाध्यता सृजना भएको छ भने अस्पतालमा सेवा दिन नसकिने भएकाले हाल मेसिन नबन्ने भएको खनालले बताउँछन् ।