भरतपुरका २८३ जना शैक्षिक सत्र २०८०/८१ का लागि छात्रवृत्तिका लागि छनोट

भरतपुरका २८३ जना शैक्षिक सत्र २०८०/८१ का लागि  छात्रवृत्तिका लागि छनोट

लोकसंवाद संवाददाता  |  शिक्षा  |  श्रावण ९, २०८०

चितवन । भरतपुर महानगरपालिकाले शैक्षिक सत्र २०८०/८१ मा कक्षा ११ अध्ययन गर्ने २८३ जना विद्यार्थीलाई छात्रवृत्तिका लागि छनोट गरेको छ । आवेदन दिएका आठ सय १९ जना मध्येबाट उनीहरुलाई छनोट गरिएको हो ।
 
महानगरपालिकाभित्र सञ्चालित दश जोड दुईमा अध्ययन गर्ने विद्यार्थीले अनलाइन माध्यमबाट भरेका फारमको मूल्याङ्कन गरी नतिजा प्रकाशन गरिएको हो । भरतपुर महानगरका नगर शिक्षा अधिकारी महेन्द्रप्रसाद पौड्यालले विज्ञान सङ्कायमा एक सय ५३ जना र अन्यमा एक सय ३० जनाले छात्रवृत्ति पाएको बताउनुभयो ।
 
भरतपुरका २९ वटा दश जोड दुईमा छात्रवृत्ति पाएका विद्यार्थीले शतप्रतिशत निःशुल्क अध्ययन गर्न पाउने छन् । जसमध्ये अरोमा कलेजमा ३९ जना, अर्किड कलेजमा ३१ जना, वाल्मीकि कलेजमा २६ जना, सप्तगण्डकी कलेजमा २१ जना, नारायणी पब्लिक स्कुलमा २१ जना गरी २८३ जनाले छात्रवृत्ति पाएका छन् ।
 
दश जोड दुईमा भर्ना भएका विद्यार्थीमध्ये १० प्रतिशतलाई अनिवार्यरुपमा छात्रवृत्ति दिनुपर्ने कानुनी व्यवस्था छ । एसइईमा प्राप्त गरेको सबैभन्दा माथिल्लो ग्रेड ९जीपीए० लाई नै मुख्य आधार बनाएर छात्रवृत्तिका लागि विद्यार्थी छनोट गरिएको हो ।
 
विज्ञान सङ्कायमा छात्रवृत्तिका लागि विज्ञान, गणित र अङ्ग्रेजीमा विद्यार्थीले प्राप्त गरेको जीपीएलाई आधार मानिएको थियो भने अन्यमा गणित, अङ्ग्रेजी, नेपाली र सामाजिक विषयको जीपीलाई आधार बनाएर नजिता प्राकाशन गरिएको पौडेलले बताउनुभयो ।
 
जेहेन्दार ३७ प्रतिशत, गरिव तथा विपन्न ३६ प्रतिशत, आदिवासी जनजाती १० प्रतिशत, दलित ५ प्रतिशत, अपाङ्गता भएका र जनआन्दोलन घाइतेका सन्ततिलाई समान तीन/तीन प्रतिशत, सहिद, बेपत्ता परिवार र मधेस आन्दोलन घाइते सन्ततिलाई समान दुई/दुई प्रतिशतका आधारमा छनोट गरिएको हो ।