किन ८ महिनामै बर्खास्तीमा परे चिनियाँ विदेशमन्त्री  चिन गाङ ?

किन ८ महिनामै बर्खास्तीमा परे चिनियाँ विदेशमन्त्री  चिन गाङ ?

लोकसंवाद संवाददाता  |  विदेश  |  श्रावण १०, २०८०

चीनका विदेशमन्त्री चिन गाङ ८ महिनामै पदमुक्त भएका छन् । सन् २०२२ मा विदेशमन्त्री बनाइएका उनलाई राष्ट्रपति सी जिनपिङको निर्देशनमा पदबाट हटाइएको हो । अब पुनः विदेशमन्त्रीको जिम्मा वाङ यीले लिनेछन् । हाल विदेश मामिला प्रमुख रहेका वाङ यी यसअघि १० वर्ष विदेशमन्त्री थिए । ५७ वर्षीय चिन गाङ २५ जुनदेखि सार्वजनिक जीवनमा देखिएका छैनन् । चिनियाँ विदेश मन्त्रालयले विदेशमन्त्रीबारे कुनै जानकारी नरहेको बताउँदै आएको थियो । त्यसबेलादेखि नै उनको भविष्यबारे अनेकौं अड्कल बाजी गरिएका थिए । 

अमेरिकाका लागि चिनियाँ राजदूत रहेका चिन गाङलाई गत डिसेम्बरमा मन्त्री नियुक्त हुँदा राष्ट्रपति सी जिनपिङका विश्वासपात्रका रुपमा हेरिएको थियो । मंगलबार चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाले भनेको छ, ‘चीनको शीर्ष विधायिकाले वाङ यीलाई विदेशमन्त्रीमा नियुक्त गरेको छ । चिन गाङलाई विदेशमन्त्रीको पदबाट हटाइएको छ ।’

उनलाई पदबाट हटाउनुको कारण भने खुलाइएको छैन । तर राष्ट्रपति सीको निर्देशनमा गाङलाई पदमुक्त गरिएको सिन्ह्वाले उल्लेख गरेको छ । चीनको विदेशनीति उच्च तहका अधिकारीले निर्माण गर्छन् र विदेशमन्त्रीलाई कार्यान्वयनको निर्देशन दिइन्छ । उनलाई राजनीतिक कारण वा विवाहोत्तर सम्बन्धका कारण कारबाही गरिएको अनुमान गरिएको थियो । चीनको इतिहासमै कम उमेरमा विदेशमन्त्रीमा नियुक्त भएका उनी छोटो समयमै पदबाट हट्न पुगेका छन् । 

चीनमा बेपत्ता हुने पुरानै प्रकरण

कम्युनिस्ट शासन रहेको चीनमा नेताहरु बेपत्ता हुने, बर्खास्त हुने, कारबाहीमा पर्ने र सार्वजनिक जीवनमा फर्किने क्रम पुरानै हो । सन् २०१२ को कुरा हो । त्यसबेला सी जिनपिङ राष्ट्रपति बन्ने निश्चित थियो । तर उनी १ सेप्टेम्बरदेखि अचानक बेपत्ता भए । अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टन सहितका विदेशी नेता र कूटनीतिज्ञ हरुसँग निश्चित गरिएका बैठकमा सामेल भएनन् भने कुनै सार्वजनिक कार्यक्रममा पनि देखिएनन् । दुई सातापछि १५ सेप्टेम्बरमा उनी सार्वजनिक भए र १५ नोभेम्बर, २०१२ मा उनी चीनको राष्ट्रपति बने । 

बर्खास्त गरिएका विदेशमन्त्री चीन गाङ एक महिनादेखि बेपत्ता छन् । अमेरिकाका लागि राजदूत भइसकेका उनी हेनरी किसिन्जरजस्ता वयोवृद्ध कुटनीतिज्ञसँग बेइजिङमा भएका छलफलमा नदेखिएपछि कुनै नयाँ घटनाक्रमको अनुमान गरिएको थियो । उनी बेपत्ता भएको प्रकरणलाई कतिपयले टीभी एङ्करसँगको अफेयरसँग जोडेर हेरिरहेका छन् भने कतिले उनको लोकप्रियताबाट राष्ट्रपति सी डराएको हुनसक्ने अड्कल समेत गरेका थिए । 

लामो समयदेखि दुश्मनी पूर्ण सम्बन्धमा रहेका इरान र साउदी अरबबीच सम्झौता गराए भने एक वर्षअघिसम्म अमेरिकाले चीनप्रति आक्रामक नीति लिँदै ताइवानको साथमा उभिदै आएको थियो । जुन, २०२३ मा चीनमै आएर अमेरिकी विदेशमन्त्रीले ताइवानको स्वतन्त्रतामा समर्थन नगर्ने बचन दोहोर्‍याए । यसले चिन गाङको कुटनीतिले सफलता मात्रै पाएन, लोकप्रियता पनि बढ्यो । यही क्रममा उनी बेपत्ता भएका थिए ।

उत्तरपूर्वी तियाजिनका चिन गाङ लामो समयदेखि राष्ट्रपति सीका विश्वासपात्रका रुपमा काम गर्दै आएका थिए । १८ वर्षअघि विदेश मन्त्रालयको प्रोटोकल विभागमा रहेका उनी २०१८ देखि उपविदेशमन्त्री र २०२१ देखि अमेरिकाको राजदूत भएका थिए । प्रोटोकल विभाग र राष्ट्रपति सीका भ्रमणको व्यवस्थापनको काम गरेका कारण उनको शीर्ष नेताहरुसँग राम्रो सम्बन्ध रह्यो । चीन गाङ १७ महिना अमेरिकी राजदूत भएपछि २०२२ मा विदेशमन्त्री बनेका थिए । 

गत ४ जुलाईमा युरोपेली संघका विदेश नीति प्रमुख जोसेफ बोरेलसँगको भेट गर्ने कार्यक्रम थियो । यस्तै १० र ११ जुलाईमा इन्डोनेसियामा एक सम्मेलनमा सहभागी हुने कार्यक्रम थियो । तर उनी यी कुनै कार्यक्रममा नदेखिएपछि उनी बेपत्ता भएको चर्चा सुरु भएको थियो । चिन गाङको स्थानमा पूर्व विदेशमन्त्री वाङ यी सहभागी हुँदै आएका थिए । चिन गाङ अन्तिम पटक २५ जुनमा रुसी, श्रीलंका र भियतनामी अधिकारीसँगको बैठकमा देखिएका थिए । 

चिनियाँ कम्युनिस्ट पार्टीले सुरुदेखि नै नेताहरुको निजी जीवन र स्वास्थ्यबारे गोपनीयता राख्दै आएको छ । चीनमा कुनै कारण बिना नै वरिष्ठ नेताहरु लामो समय सार्वजनिक रुपमा नदेखिनु साधारण कुरा हो । विगतमा बेपत्ता भएका केही नेता तथा व्यापारीहरूमाथि आपराधिक घटनामा छानबिन भयो भने कोही केही समय गायब भएपछि फेरि सार्वजनिक भए । तर उनीहरु गायब हुनुको कारण भने सार्वजनिक गरिदैन । 

चिनियाँ विदेशमन्त्री चिन गाङ गायब हुनुका पछि मुख्यतः २ कारण मानिएको छ । पहिलो अमेरिकी नागरिक तथा टीभी एङ्कर फु जियोतियानसँगको अफेयर हो । ‘द विक’ का अनुसार विवाह बिना नै टीभी एङ्करसँग १ बच्चा जन्माएको विषयमा उनीमाथि छानबिन भइरहेको छ । जबकि चिनियाँ कम्युनिस्ट पार्टीमा बहुविवाह निषेधित छ । 

जियोतियानले गत वर्ष आफ्नो एक बच्चा रहेको ट्विट गरेकी थिइन् । निकै भाइरल भएको यो ट्वीटरमा बच्चाका बाबु चिनियाँ भएको बताएकी थिइन् । सरकारी स्वामित्वमा रहेको हङकङस्थित फिनिक्स टेलिभिजनका लागि काम गर्ने फु जियोतियानले मार्च २०२२ मा ‘टक विथ वल्र्ड लिडर्स’ कार्यक्रममा चिन गाङसँग अन्तर्वार्ता लिएकी थिइन् । यो कार्यक्रममा उनले राष्ट्रसंघमा पूर्वमहासचिव बान कि मुन, अमेरिकाका पूर्वविदेशमन्त्री हेनरी किसिन्जरसहित ५० देशका राजदूत र ३०० बढी नेताहरुसँग अन्तर्वार्ता लिएकी छन् । चिनियाँ विदेशमन्त्रीसँगै उनकी प्रेमिका पनि गायब भएको दाबी गरिएको छ । 

सफ्ट डिप्लोमेसीलाई बदल्दै चीनले २०२२ मा सी जिनपिङले वुल्फ वारियर डिप्लोमेसीका पक्षधर चिन गाङलाई नयाँ विदेशमन्त्री बनाएका थिए । विदेशमन्त्री बन्नुअघि र पछि उनले चीन–अमेरिका सम्बन्धबारे पटक पटक अन्तर्राष्ट्रिय मिडियामा चीनको विदेश नीति, अमेरिकासँगको सम्बन्ध लगायतका विषयमा लेख लेखेका थिए । चीनमा पछिल्लो समयमा लोकप्रियता बढेपछि कतिपयले उनको तुलना राष्ट्रपति सीसँग गर्न थालेका थिए । अमेरिकी आकाशमा चिनियाँ बलुन पुग्दा उनले अमेरिकी प्रचारको जमेर प्रतिरोध गरेका थिए । 

उनले लामो समयदेखि दुश्मनी पूर्ण सम्बन्धमा रहेका इरान र साउदी अरबबीच सम्झौता गराए भने एक वर्षअघिसम्म अमेरिकाले चीनप्रति आक्रामक नीति लिँदै ताइवानको साथमा उभिदै आएको थियो । जुन, २०२३ मा चीनमै आएर अमेरिकी विदेशमन्त्रीले ताइवानको स्वतन्त्रतामा समर्थन नगर्ने बचन दोहोर्‍याए । यसले चिन गाङको कुटनीतिले सफलता मात्रै पाएन, लोकप्रियता पनि बढ्यो । यही क्रममा उनी बेपत्ता भएका थिए ।

चीनमा शक्तिशाली व्यक्तिहरु बेपत्ता हुने क्रम माओको समयदेखि नै चल्दै आएको छ । चीनमा एकपटक माओले हन्ड्रेड फ्लावर्स क्याम्पेन चलाएका थिए । यसअनुसार सबैलाई पार्टी र सरकारको आलोचन गर्ने छुट दिइएको थियो । यसपछि धेरैले सरकार र कम्युनिस्ट पार्टीको खुलेर आलोचना गरे । तर जसले विरोध गर्‍यो, उनीहरु त्यसपछि बेपत्ता भए । अर्थात पार्टी र सरकारका विरोधीहरूलाई किनारा लगाइयो । यो माओले पार्टीका विरोधी पत्ता लगाउन चलेको चाल थियो । उनी पार्टीभित्रै रहेका विरोधीहरु पहिचान गर्न चाहन्थे । राष्ट्रपति सीले पनि यही नीति अपनाएको बताइन्छ । चीनमा गायब हुनेको सूचीमा कलाकार, अधिकारवादी, व्यापारीदेखि खेलाडीसम्म छन् ।