दाहालको उद्गमस्थल दैलेख दुल्लु स्थित दहगाउँमा 'दाशु' को मूर्ति अनावरण यत्रा

नियात्रा

दाहालको उद्गमस्थल दैलेख दुल्लु स्थित दहगाउँमा 'दाशु' को मूर्ति अनावरण यत्रा

डा.विष्णुप्रसाद दाहाल  |  साहित्य  |  श्रावण १३, २०८०

सधैँ ६ बजे उठ्ने म आज त बिहानै ४ बजे नै उठे । आज नेपाली प्रकृतिको अनुपम छटाले भरिएको कर्णाली प्रदेशको दैलेख जिल्लाको दुल्लु स्थित दह गाउँ वत्स गोत्रीय दाहाल वंशको उद्गमस्थल ऐतिहासिक थलो जाने दिन थियो । आफ्नो नित्य कर्म सकेर गाडीतर्फ लागेँ । काठमाडौँ कोटेश्वरको कामख्या पेट्रोल पम्पमा पुगेँ । केहीबेरको पर्खाइ पछि गाडी तिनकुने हुँदै हात्तीगौँडा तिर हुँइकियो  रोहणी सरलाई लिन । उहाँलाई लिएर नारायणगोपाल चोक हुँदै कलङ्कीतिर लागियो । 

रोहिणी दाहाल, केशव शर्मा रुपाखेती, पदम दाहाल, केशव दाहाल, बलराम दाहाल, अम्बिका दाहाल नेपाल र म सहित सातजनाको टोली लिएर गुरुजी विजय थापाले गाडी सुर्खेत पुग्ने लक्ष्यका साथ गुडाए । टोलीले केशव शर्मालाई हेड सरको उपाधि सहित टोली नेता बनाएको थियो । टोली नेताले महादेव बेँसीमा एकजना बन्धुको पसलमा चिया नास्ता खाने व्यवस्था मिलाए ।

चिया नास्ता पछि टोली गन्तव्यतर्फ लाग्यो । त्यहाँबाट गजुरी, मुग्लिन हुँदै चितवन पुगेर खाना खायौँ । त्यहाँबाट नारायणीको पुल पार गरेर महेन्द्र राजमार्ग हुँदै पश्चिमतर्फ लाग्यौँ । बाटो चौडा पार्ने काम धमाधम भइरहेको रहेछ । बाटो भन्नु मात्र पिच, धुलै धुलो नवलपुर, बर्दघाट अनि रामग्रामसम्म सास्ती नै भोगियो । रामग्रामबाट धुलाको डरले बुटबल नगई भैरहवातिर लाग्यौँ । रुपन्देही जिल्लाको लुम्बिनी क्षेत्रको बाहिर पर्सा चोकमा हल्का खाजा खायौँ ।

लुम्बिनी उद्यानको उत्तर पश्चिमको बाटो हुँदै गोरुसिङ्गेमा पुनः महेन्द्र राजमार्ग समातेर गन्तव्यतर्फ अगाडि बढ्यौँ । चन्द्रौटा, भालु वाङ, दाङको लमही हुँदै राती साढे १० बजे कोहलपुर पुगेर एउटा होटलमा बास बस्यौँ । असाध्यै गर्मी, खाना खाएर सुत्दा १२ बजेको थियो । सुर्खेत पुग्ने हाम्रो लक्ष्य भने अधुरो नै रह्यो । 

अघिल्लो  दिनभरि गाडीमा कुँजिएर बस्दा र गाडीले तुइँक्याउँदा थाकेका हामी बिहान ५ बजे उठेर हिँड्ने सल्लाह गरेर सुतेका ७ बजेमात्र त्यहाँबाट हिड्न सफल भयौँ  । कोहलपुरबाट पूर्वपश्चिम राजमार्गसँग बिदा भएर कर्णाली राजमार्गतर्फ अगाडि बढेको टोली चिसापानी, हात्तीसार र हर्रेको लेक हुँदै छिन्चु पुग्यौँ । त्यहाँ चिया नास्ता खाएर अगाडि बढ्यौँ । हाम्रो गाडी भेरी नदी तरेर कोहलपुर देखिको करिब ७५ किलोमिटरको यात्रा छिचोल्दै सुर्खेत उपत्यकामा प्रवेश गर्‍यो  ।

त्यहाँको फलफूल तथा तरकारी बजारबाट २–३ दिनका लागि पुग्ने फलफूल र तरकारी किनेर हामी गन्तव्यतर्फ अगाडि बढ्यौँ । सल्लाघारीको पीपलको फेदमा बसेर चिया खाँदै लघु कविता गोष्ठी सम्पन्न गर्‍यौँ । त्यहाँबाट अगाडि बढ्ने क्रममा गुराँसे र  जिरो किलाको बिचमा काफलको भरपुर स्वाद लिँदै माथिल्लो डुङ्गेश्वर हुँदै दैलेख जिल्लाको दुल्लु नपा १२, दहगाउँ दाहाल थरको उद्गमस्थलमा दिनको साढे १ बजे पुग्यौँ र दाहाल प्रतिष्ठानको आश्रममा खाना खाएर आराम गर्‍यौँ । त्यहाँ दाशुको मूर्ति अनावरणका लागि काम भइरहेको हुँदा काम गर्ने र काम गर्न लगाउने बन्धु किशोर दाहालसहितको टिम केही दिन अघिदेखि नै त्यहीँ बसिरहेको थियो । 

दाशुको काल्पनिक मूर्ति अनावरणका लागि सम्पूर्ण कार्य पूरा भइसकेको थियो । दिनको साढे २ बजे सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालले उक्त कार्यको प्रमुख आतिथ्यता ग्रहण गर्ने सूचना प्रसारण स्थानीय सञ्चार माध्यमबाट प्रसारित गरिएको थियो । देशको कार्यकारी प्रमुख दहगाउँमा आउने भएकाले अघिल्लै दिनदेखि नै पुलिस, सशत्र र आर्मी साथै विभिन्न पार्टीका नेता, कार्यकर्ता तथा सर्वसाधारण जनताहरूको चहलपहल बढेको थियो ।

त्यहाँबाट अगाडि बढ्दै दुल्लु साँस्कृतिक सङ्ग्रहालय, शिव कुण्ड, ब्रम्ह कुण्ड, धूलेश्वर मन्दिरको अवलोकन भ्रमण गरियो । धूलेश्वर मन्दिर वि.सं. १९१५मा वढाहाकिम कर्णेल कुलमान सिंह बस्न्यात (श्रीपाली)ले व्यवस्थित गराएका रहेछन् । त्यस मन्दिरको विशेषता भने ७ वर्षदेखि १५ वर्षका वन थरका पुजारी हुँदा रहेछन् ।

बिहानदेखि त झनै सुरक्षाकर्मीले सुरक्षालाई आफ्नै नियन्त्रणमा लिइसकेका थिए । मानिसहरूको उपस्थिति बाक्लो हुँदै गयो तर प्रमुख अतिथिको आगमन समयमा हुन सकेन । मानिसहरू छटपटाउन थाले । कार्यक्रम सञ्चालक दाशु प्रतिष्ठानका केन्द्रीय कोषाध्यक्षले धैर्य गर्न अनुरोध गर्दै साँस्कृतिक कार्यक्रम गराएर भुलाइरहेका थिए । उपस्थित महानुभावहरू पनि रमाइरहेका थिए । बल्लतल्ल साढे ३ बजे हेलिकप्टरमार्फत प्रधानमन्त्रीको आगमन भयो ।

प्रधानमन्त्री दाहालले हेलीप्याडबाट सिधै दाहाल प्रतिष्ठान नाला, काभ्रेको दहगाउँमा रहेको जग्गामा बनाइएको मास्टर प्लानको अनावरण गरेर नजिकै रहेको दहगाउँको पञ्चदेवलको अवलोकन गरेका थिए । त्यसपछि कार्यक्रम स्थल पुग्दा चार बज्न लागेको थियो । कार्यक्रममा प्रवेश गर्दा बाजागाजासहित पञ्चकन्याले स्वागत गरेका थिए भने अन्य गण्यमान्य एवम् सर्वसाधारणले पङ्क्तिबद्ध भएर फूल गुच्छाले भव्य स्वागत गरेका थिए ।

आसन ग्रहण पश्चात प्रधानमन्त्री पुष्पकमल दाहालले कुल शिरोमणि आदिपुरुष दाशुको पूर्णकदको मूर्ति अनावरण गरेका थिए । त्यसपछि समसामयिक विषयमा मन्तव्य दिएका थिए । उनले दहगाउँमा दाशुको प्रतिमा स्थापना कार्यले यस ठाउँको विकासमा टेवा पुग्ने साथै पर्यटकीय स्थल बन्ने सम्भावना रहेको छ भनी आश्वासन दिएका थिए । यसका बारेमा सरकारले पनि सहयोग गर्ने छ भन्ने कुरा समेत अवगत गराएका थिए । कार्यक्रम ४५ मिनेटमा सकिएको थियो । अन्त्यमा प्रमुख अतिथि एवम् अतिथिहरूलाई मायाको चिनो प्रदान गरेर कार्यक्रम समापन गरिएको थियो ।

कार्यक्रमको आयोजक भने कुल शिरोमणि दाशु स्मृति तथा अनुसन्धान प्रतिष्ठान, कोटेश्वर काठमाडौँ रहेको थियो । म र केशव दाहाल भने आजीवन सदस्य भएर पनि प्रतिष्ठानको उक्त कार्यक्रमको आयोजक समूहको टिममा अटाएनौँ, तर काठमाडौँ, नाला काभ्रे, पोखरा, चितवन, सुर्खेत र नेपालगञ्जबाट आएका अन्य भाइबन्धुहरू भने अटाए । हामी बाहिर बाहिरै धुमिरहियौँ, खल्लो महसुस भयो र केशबजी त बेलुकी नै बाटो लागे । म भने नतमस्तक भएर त्यही बसेँ । 

अघिल्लो दिनको कार्यक्रमको धपेडीले हाम्रो टोली बिहान सात बजे मात्र जागा भयो । बिहान ७ बजे दहगाउँ दाहालको आश्रमबाट पञ्चदेवल, मष्ठथानको अवलोकन गरी दहका देवललाई परैबाट नमन गर्दै अगाडि बढ्यो । हाम्रो टोलीमा स्थानीय बासिन्दा भट्टराई गुरु मालिका माईको मन्दिरसम्म जाने भन्दै सामेल भए ।

। हाम्रो टोलीले उनलाई मालिका माई जाने बाटामा छोडेर दुल्लुतर्फ अगाडि बढ्यो । हाम्रो टोलीमा केशव दाहालको सट्टामा प्रतिष्ठानका अध्यक्ष मुकुन्द दाहाल सहभागी भएका थिए । बाटामा धर्म गद्दी राजा युधिष्‍ठिरको न्याय चौतारी दुल्लु नपा ७, पथर नाउली, सतखम्बा, पटाङ्गिनी देवल, दुल्लु दरबार, कीर्ति स्तम्भ, साहित्यिक उद्यान तथा संरक्षण पार्कको अवलोकन गरियो ।

त्यस उद्यानमा ३० वटा प्रतीक राख्ने ठाउँ बनाएको रहेछ तर २८ जना साहित्यकारका अर्ध कदका प्रतीक राखिएका रहेछन् । एकै ठाउँमा यति धेरै साहित्यकाहरूका प्रतीक देखेर अचम्मित हुँदै मैले नाम टिप्ने जमर्को गरेँ । बायाँ तर्फबाट क्रमश आदिकवि भानुभक्त, युवाकवि मोतीराम भट्ट, कविशिरोमणि लेखनाथ पौडेल, महाकवि लक्ष्मीप्रसाद देवकोटा, योगी नरहरि नाथ, नाट्य सम्राट बालकृष्ण सम, जय पृथ्वीबहादुर सिंह,  हृदयचन्द्रसिंह प्रधान, धरणीधर कोइराला, वी.पी. कोइराला, सिद्धिचरण श्रेष्ठ, गुरुप्रसाद मैनाली, युद्ध प्रसाद मिश्र, पहलमान सिंह स्वाँर, गोपालप्रसाद रिमाल, पारिजात, भूपी शेरचन, Giusoppe Tucci विदेशी भाषाशास्त्री, भीमनीधि तिवारी, श्रीरत्न शर्मा रिजाल, पूर्ण प्रकाश नेपाल यात्री, रत्नाकर देवकोटा, जङ्गबहादुर शाह, कृष्णसेन इच्छुक, विशाखर पाध्या, अमरसिंह ढोली र प्रा.डा. जयराज पन्तको सालिक रहेछ ।

त्यहाँबाट अगाडि बढ्दै दुल्लु साँस्कृतिक सङ्ग्रहालय, शिव कुण्ड, ब्रम्ह कुण्ड, धूलेश्वर मन्दिरको अवलोकन भ्रमण गरियो । धूलेश्वर मन्दिर वि.सं. १९१५मा वढाहाकिम कर्णेल कुलमान सिंह बस्न्यात (श्रीपाली)ले व्यवस्थित गराएका रहेछन् । त्यस मन्दिरको विशेषता भने ७ वर्षदेखि १५ वर्षका वन थरका पुजारी हुँदा रहेछन् । त्यहाँबाट हाम्रो टोली फर्कियो ।

सात खम्बा हुँदै भैरवी गापा वडा नं.१ र दुल्लु नपा १० जोड्ने मितेरी पुल, काल ज्वाला, शितल ज्वाला, शिर स्थानमा रहेको ज्वाला मन्दिर, नाभिस्थानमा रहेको बडी ज्वाला, नाभिस्थान क्षेत्रमा रहेका मन्दिरहरूको अवलोकन गरियो । नदी किनार रहेको पसलमा नास्ता गरेर नारायण नपा दैलेखतिर लागियो । १२बजे दैलेख पुगियो । दैलेखमा जिल्ला प्रहरी कार्यलय प्रमुखमा हाम्रा बन्धु भएकाले हामी भेट्न भनी गयौँ उनको अनुरोधमा त्यहीँ खाना खाइयो ।

खाना पाक्न केही समय लाग्ने भएकाले विलाशपुरका राजाले बनाएको वटुक भैरव (अग्नि वेताल) को मन्दिर अवलोकन गर्ने अवसर मिल्यो । उक्त कार्यको लागि रवीन्द्रराज शर्माले साथ दिनुभएको थियो । मन्दिरको अवलोकन पश्चात प्रहरी कार्यलयको पाहुना कक्षमा बसेर खाना खाइयो । खानाको जति प्रशंसा गरे पनि नपुग्ने स्वादिलो थियो । हाम्रो भ्रमण टोली धन्यवाद प्रकट गर्दै त्यहाँबाट सुर्खेततर्फ अगाडि बढ्यो । पहिले गएकै बाटो भएकाले गुरुजीले गाडी हुइँक्याए  । सुर्खेतको नजिकैको सल्लेरी वनमा पहिलेकै ठाउँमा पीपलको फेदमा बसेर चिया पिउँदै पुनः लघु कवि गोष्ठी गरियो । ६ बजे सुर्खेत झरियो । त्यहाँ बुलबुले तालको अवलोकन समेत गर्ने मौका मिल्यो । त्यहाँबाट अगाडि बढ्यो । राती १० बजे लमही आइपुगेर एक होटलमा बास बस्यौँ । 

सधैँ झैँ नित्य कर्म सकेर होटलको हरहिसाब बुझाएर बिहान ६ बजे हाम्रो भ्रमण टोली लुम्बिनी मायादेवीको मन्दिर अवलोकन गर्ने लक्ष्यका साथ अगाडि बढ्यो । हाम्रो गुरुले जखेवा ताल देखाउन भनी लगे तर तालमा पानी रहेनछ । धेरैबेर अलमल नगरीकन त्यहाँबाट निस्कियौँ । भालुवाङ भन्दा अगाडि चिया नास्ता गरेर अगाडि बढ्यौँ । हाम्रो टोली गोरुसिङ्गेबाट महेन्द्र राजमार्ग छोडेर ९ बजे त लुम्बिनी पुग्यो र ४ नं. गेटबाट गन्तव्यतर्फ लाग्यो ।

मूल गेट हुँदै अगाडि बढ्यो । प्रवेश शुल्क तिरेर मन्दिर भित्र पस्यौँ । मायादेवी मन्दिर, बुद्ध स्नान पोखरी साथै अशोक स्तम्भको अवलोकन गरी त्यहाँबाट बाहिरियौँ । भैरहवामा गाउँले खाना खाने सौभाग्य मिल्यो । खाना खाएर टोली अगाडि बढ्यो । नवलपरासीमा रहेको शाश्वत धामको दर्शन गरेर रातको १० बजे काठमाडौँ आइपुग्यो । यसरी हाम्रो पाँच दिनको काठमाडौँ–कर्णाली प्रदेशको दहगाउँ, दुल्लु, दैलेखको भ्रमण समापन गरेका थियौँ ।