परमसत्य

परमसत्य

सब्बु पाठक  |  साहित्य  |  श्रावण १३, २०८०

ठूलै झरीले पनि त
के नै बिगार्न सक्यो र 
रुझायो केवल अस्तर 
न त तन न त मन ।

टन्टलापुर घामले पनि त 
सकेन केही लछार्न 
केवल चर्मका केही रङ मात्र बदलिए 
न त तन न त मन ।

चैतको हुरीसँगै बरालिए 
कसिङ्गरले केही क्षण बास मात्रै मागे र बसे 
नतमस्तक मेरो मन अहँ सकेन 
बिथोल्न र हल्लाउन ।

बर्खे झरीले रुझाउन सकेन 
चैते घामले तताउन सकेन 
हुरीले उडाउन सकेन 
अन्य तत्वले के नै डग मगाउन सक्छ र 
केवल परम शक्ति बाहेक
जय परमसत्य ।