थारू समुदायको ‘बडघर प्रथा’ कानूनी मान्यता दिने तयारी

थारू समुदायको ‘बडघर प्रथा’ कानूनी मान्यता दिने तयारी

लोकसंवाद संवाददाता  |  समाज  |  जेठ २१, २०७६

दाङ । थारू समुदायको बडघर प्रथा संरक्षण गर्नुपर्नेमा जोड दिइएको छ । प्रदेश नं ५ थारू बाहुल्य क्षेत्र भएकाले पुर्खादेखि चलिआएको बडघर प्रथालाई कानूनमा समावेश गर्नु आवश्यक रहेको यहाँ आयोजित कार्यक्रमका सहभागीको धारणा राखेका छन । 

दाङको दङ्गीशरण गाउँपालिका–३ चखौरामा भएको जनसरोकार र कानून निर्माण प्रक्रिया विषयक अन्तरक्रियामा प्रदेश नं ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले थारू समुदायको बडघर प्रथा संरक्षणका लागि कानून निर्माण गर्न लागिएको  जानकारी दिनु भएको थियो । पुुस्तौंदेखि चलिआएको बडघर प्रथालाई कानूनी मान्यता दिन प्रदेश सभाले थारू अगुवासँग सुझाब संकलन गरिरहेको समेत मन्त्री केसीको भनाइ थियो । 

कार्यक्रममा प्रदेश नं ५ का प्रदेशसभा सदस्य डिल्ली चौधरीले थारूहरुको बडघर प्रथा संरक्षणका लागि थारू समुदायका अगुवासँग सुझाव संकलन गरिएको बताउनुभयो । अहिले गाउँका सबै झै–झगडादेखि अन्य विवादहरु मतहवाले नै मिलाउँदै आएकाले कानूनी रुपमै महतवालाई जिम्मेवारी दिने गरी नीति बनाउन लागिएको प्रदेशसभा सदस्य सदस्यकोे भनाइ छ ।

थारूका अगुवाहरुले नै बजेट चुन्न पाउने, छलफलमा भाग लिन पाउने, मेलमिलाप गराउन पाउने खालको कानून निर्माणका लागि यसरी सुझाव संकलन गर्न लागिएको प्रदेश नं ५ का प्रदेश सचिवालय सचिव दुर्लभकुमार पुनले जानकारी दिनुभयो । महतवाले मिलाउन नसकेको विवादहरु मात्रै न्यायिक समितिमा पठाउने गरी कानूनी व्यवस्था मिलाउन लागिएको छ ।