साहित्यिक पत्रकार सङ्घ: डा. जगमान गुरुङ, गीताकेशरी र मदनदास श्रेष्ठलाई अभिनन्दन

साहित्यिक पत्रकार सङ्घ: डा. जगमान गुरुङ, गीताकेशरी र मदनदास श्रेष्ठलाई अभिनन्दन

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण १४, २०८०

काठमाडौं । साहित्यिक पत्रकार सङ्घले आज यहाँ आयोजना गरेको एक विशेष समारोहमा नेपाली संस्कृतिका विशिष्ट संस्कृतिविद् डा. जगमान गुरुङ, वरिष्ठ आख्यानकार गीताकेशरी र वरिष्ठ कलाकार मदनदास श्रेष्ठलाई अभिनन्दन गरेको छ । 

साहित्यिक पत्रकार सङ्घको स्वर्ण महोत्सवको सन्दर्भ पारेर उहाँहरूलाई अभिनन्दन गरिएको हो । प्रमुख अतिथि संविधानसभाका अध्यक्ष एवम् पूर्व सभामुख सुवासचन्द्र नेम्बाङ, विशिष्ट अतिथि प्रतिनिधिसभा सदस्य एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र प्रतिनिधिसभा सदस्य एवम् नेपाली काङ्ग्रेसका नेता शंकर भण्डारी, सङ्घका अध्यक्ष राधेश्याम लेकाली लगायतले उहाँहरूलाई अभिनन्दन गर्नुभएको थियो ।

अभिनन्दन कार्यक्रममा इतिहासविद् प्रा.डा. सुरेन्द्र केसी, साहित्यिक पत्रकार सङ्घका पूर्व अध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठ, गुन्जनका पूर्व अध्यक्ष हिरण्यकुमारी पाठक, नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ र साहित्यकार उन्नति बोहरा शीलासमेतको सहभागिता थियोे । 

कार्यक्रममा प्रमुख अतिथि सुवासचन्द्र नेम्बाङले लेखक साहित्यकारहरूले देशमा सधैं गाईजात्रा भइरहेको छ भनेर गुनासो गर्नुभन्दा त्यस्ता गाईजात्रा गर्नेहरू सम्म आफ्ना विचार पुर्‍याउने र उनीहरूलाई ठीक बाटोमा ल्याउने तर्फ लाग्नुपर्ने बताउनुभयो । उहाँले साहित्यिक पत्रकार सङ्घका गतिविधिसँग आफू लामो समयदेखि जोडिएको बताउँदै यस्ता कार्यक्रमबाट समाजलाई अघि बढाउने काममा योगदान पुग्ने धारणा राख्नुभयो । 

विशिष्ट अतिथि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले देशमा बढ्दो विकृति र विसङ्गति विरुद्ध स्रष्टाहरू फेरि जागरुक हुनुपर्ने आवश्यकता औंल्याउनु भयो । सक्रिय राजनीतिमा लागेपछि आफूले सिर्जनात्मक कार्यमा समय दिन नसके पनि साहित्य आफ्नो रूचिको विषय भएको बताउनुभयो । 

पूर्वमन्त्री नेपाली काङ्ग्रेसका नेता शंकर भण्डारीले यो देशको निर्माणमा पृथ्वीनारायण शाहको योगदानलाई कसैले पनि नकार्न नसक्ने बताउँदै नयाँ निर्माण हुन लागेको संसद भवनको प्राङ्गणमा उहाँको प्रतिमा राख्नुपर्ने धारणा राख्नुभयो । उहाँले आजको कार्यक्रम आफ्नो जीवनकै ऐतिहासिक कार्यक्रम भएको पनि बताउनुभयो ।

सम्मानित व्यक्तित्व द्वय डा. जगमान गुरुङ र मदनदास श्रेष्ठले समेत बोल्नुभएको उक्त कार्यक्रममा वरिष्ठ समालोचक प्रमोद प्रधानले सम्मानित व्यक्तित्वहरूको योगदानमाथि प्रकाश पार्नुभएको थियो । 

अध्यक्षको आसनबाट सङ्घका अध्यक्ष राधेश्याम लेकालीले साहित्यिक पत्रकार सङ्घले ५० वर्षदेखि साहित्यिक पत्रकारिता, साहित्य, कला, संस्कृति आदिका क्षेत्रमा गर्दैआएको योगदानको स्मरण गर्नुभयो । उहाँले साहित्यिक पत्रकारहरूको हकहितको सुरक्षा र सहयोगका लागि छुट्टै निकायको आवश्यकतामा जोड दिनुभयो । साथै उहाँले समाजसेवी शोभित उप्रेती सितको सहकार्यमा शैलुङमा 'स्रष्टा गृह' को संचालन गरिने पनि बताउनु भयो । 

कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथिहरू, समालोचक प्रमोद प्रधानलाई मायाको चिनोसहित सम्मान गरिएको थियो भने समाजसेवी शोभित उप्रेतीले आजैदेखि उप्रेती समाजको राष्ट्रिय अध्यक्षको जिम्मेवारी सम्हाल्नु भएकोमा बधाई पनि ज्ञापन गरिएको थियो । 

होटल तपसमा आयोजना गरिएको कार्यक्रमको सञ्चालन साहित्यकार श्रीबाबु कार्कीले गर्नुभएको थियो ।