केयुद्वारा विद्यार्थीलाई व्यापार प्रवर्द्धन गर्न ३५ लाख विनियोजन,१ करोडको अक्षय कोष स्थापना

केयुद्वारा विद्यार्थीलाई व्यापार प्रवर्द्धन गर्न ३५ लाख विनियोजन,१ करोडको अक्षय कोष स्थापना

लोकसंवाद संवाददाता  |  शिक्षा  |  श्रावण १४, २०८०

काभ्रे । काठमाडौ विश्वविद्यालयले नेपालको इतिहासमै पहिलो पटक स्नातक तह उतीर्ण गरेका विद्यार्थीलाई लक्षित गरी कम्तीमा ७० जनालाई रोजगारी प्रदान गर्न स्वत: रोजगारी कार्यक्रम सार्वजनिक गरेकाे छ । 

विश्वविद्यालयका अनसार  हाल नेपालमा थप रोजगारी सृजना तथा आर्थिक विकासका लागि स्व: रोजगारी र व्यवसाय विकासका लागि काठमाडौं विश्वविद्यालयले विजनेश इन्क्युबेशन सेन्टर मार्फत विश्वविद्यालयमा अध्ययन गर्दै गरेका विद्यार्थीहरूलाई नेतृत्व विकास र व्यवसायमा ल्याउन व्यापार गर्न प्रोत्साहन एव सहयोग गर्ने योजना बनाएको छ । यस अन्तर्गत विश्वविद्यालयमा अध्यनरत विद्यार्थीहरुबाट कम्तीमा २० वटा व्यवसाय स्थापना गराउने विश्वविद्यालयको योजना  रहेको समेत जनाइएको छ ।

सोही कार्यका लागि विश्वविद्यालय अनुदान आयोगबाट  एक करोड रुपियाँ सहयोग प्राप्त भएको छ । काठमाडौ विश्वविद्यालयले व्यवस्थापन गरिरहेको इनरजाइज नेपालले उर्जा सँग सम्बन्धित सोचलाई व्यापारमा परिणत गर्न ३५ लाख विनियोजन गरेको छ भने एक करोड रुपियाँको अक्षय कोष स्थापना गरेको छ ।

विश्वविद्यालयबाट नविनतम सोचलाई व्यापारमा परिणत गर्न यी स्रोत प्रयोग गरि आर्थिक सहयोग एवं लगानी गर्ने योजना बनाएको छ । आर्थिक सहयोग मात्र नभइ प्राविधिक र व्यवस्थापन सम्बन्धी परामर्श निशुल्क रुपमा उपलब्ध गराउने योजना पनि विश्वविद्यालयले गरेको छ । त्यस्तै काठमाडौं विश्वविद्यालय अन्तर्गत कोरियन सरकारको सहयोगमा नेपाल टेक्नोलोजी इनोवेशन सेन्टरको पनि स्थापना भएको छ । सो सेन्टरमा अत्याधुनिक उपकरणहरु पनि रहेका छन् । अनुसन्धान गरी व्यापारीकरण सम्म पुग्न आवश्यक सेवा र सुविधा त्यस सेन्टरबाट विद्यार्थीलाई उपलब्ध गराइने  समेत जनाइएको  छ ।

विश्वविद्यालयले कार्यक्रमलाई दिर्घकालीन बनाउनका लागि मुनाफा वितरण नगर्ने कम्पनी 'नलेज युटिलाइजेशन,  इन्क्युबेशन एण्ड इनोभेसन सेन्टर (KUIIC)   को पनि स्थापना गरेको छ । विश्वविद्यालयले लगानी गरेका व्यवसायबाट प्राप्त मुनाफा पून नयाँ सोचमा लगानी गर्ने कम्पनीको योजना रहेको छ । यस कम्पनीले लगानी का साथै परामर्श, तालिम, सहयोग र सहजीकरण गर्ने उद्देश्य लिएको छ । यस कम्पनीले थप लगानीका लागि लगानीकर्तासँग जोड्न पनि सहयोग गर्ने कार्यक्रम रहेकाे पनि इनरजाइज कार्यक्रम व्यवस्थापक डा‍‌‍. विजय थापाले जानकारी दिनु भएको छ ।  

काठमाडौं विश्वविद्यालयमा सन् २०१४ मै स्थापना भएको काठमाडौं विश्वविद्यालय विजनेश इन्क्यूबेशन सेन्टरको स्थापना भएको थियो । देशकै शैक्षिक संस्थामा पहिलो यस्तो सेन्टर भएको र सो संस्थाले २०१७ सम्ममा १० वटा नविनतम सोचहरूलाई व्यापारका रुपमा परिणत गरेको थियो । काठमाडौं विश्वविद्यालयले आन्तरिक स्रोतबाट संचालन गरेको सो सेन्टर हाल काठमाडौ विश्वविद्यालयले व्यवस्थापन गरिरहेको इनरजाइज नेपालले सञ्चालन गर्दै आएको छ ।