प्रा.डा.जगमानलाई संस्कृति पुरस्कार

प्रा.डा.जगमानलाई संस्कृति पुरस्कार

लोकसंवाद संवाददाता  |  समाज  |  जेठ २१, २०७६

कास्की । भैरव सांस्कृतिक संरक्षण समितिले सञ्चालन गर्दै आएको ‘श्री सर्वज्ञमान विष्णुदेवी संस्कृति पुरस्कार २०७५’ बाट संस्कृतिविद् तथा प्रा.डा. जगमान गुरुङलाई प्रदान गरिएको छ ।

 नेपाली संस्कृति विकासका लागि अनुसन्धानका माध्यमबाट पुर्‍याउनु भएको योगदानको उच्च कदर गर्दै उहाँलाई सो पुरस्कारबाट सम्मान गरिएको हो । गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले २०७६ जेठ २० गते सोमबारका दिन पोखरामा आयोजित एक कार्यक्रमबीच पुरस्कृत व्यक्तित्व गुरुङलाई रु एक लाख एकसहित दोसल्ला र सम्मानपत्रले सम्मान गर्नुभयो । 

मातृभूमिलाई शिरमा राखेर काम गर्ने व्यक्ति नै मुलुकको सुपुत्र–सुपुत्री हुने बताउँदै प्रमुख कुँवरलले मानिसलाई ठूलो आसन र भाषणले नभई कर्मले बनाउने बताउनुभयो । 

पुरस्कृत व्यक्तित्व प्रा.डा.गुरुङले पुरस्कारले आफूलाई संस्कृतिको जगेर्नामा थप उत्साहित तुल्याएको उल्लेख गर्दै सर्वज्ञमान परिवारसँग नेवारी संस्कृति बुझ्दा नजीकको सम्बन्ध रहेको बताउनुभयो । भैरव सांस्कृतिक परिवारका पूर्वप्रमुख सल्लाहकार तथा स्वर्गीय सर्वज्ञमान प्रधानाङ्ग तथा उहाँकी धर्मपत्नी विष्णुदेवीका नाममा उहाँको परिवारबाट प्रत्येक तीन वर्षमा प्रदान गर्नेगरी २०५५ सालमा रु एक लाख पाँच हजार अक्षयकोषबाट सो पुरस्कार स्थापना गरिएको हो । प्रतिभा छनोट समितिका संयोजक संस्कृतिकर्मी तीर्थ श्रेष्ठ, प्राज्ञ हरिदेवी कोइराला, पृथ्वीनारायण क्याम्पसका संस्थापक क्याम्पसप्रमुख जोर्जजोन लगायतले संस्कृतिको संरक्षण आवश्यक रहेकामा गर्नुुभएको थियो ।