शब्दहरु केलाउँदा

शब्दहरु केलाउँदा

विष्णु न्यौपाने  |  साहित्य  |  श्रावण २०, २०८०

शब्दहरु केलाउँदा
शब्दहरु म विरुद्ध 
शब्दकोश नै लिएर जाई लाग्छ 
प्रसंग उही नै त हो
म त केवल
शब्दहरु केलाउन मात्र चाहेको थिए
शब्दहरूका भाव बुझ्न खोजेको थिए
शब्दहरु महादेवका जटाबाट निस्किएको 
शितल जल हो कि
वा ज्वारभाटाबाट निस्किएको 
तात्तातो ज्वालामुखी हो 
वा भर्खरै प्रेम बसेका जोडीका 
मिठास पूर्ण भावनाहरूले भरिएका प्रेमपत्र हो 
वा समयमा पुग्न नसकी बस छुटेर 
बाटो किनारमा अलपत्र परेको यात्री हो 
यस्तो लाग्छ मलाई 
शब्दहरूका अर्थ जटिल छन्।।१।।


हजुरआमाले केलाउँदा का चामल जसरी 
शब्दहरु केलाउन त म के सक्थे र ?
त्यहाँ भेटिएका ढुङ्गा र बियाँलाई म 
फ्याँक्न के सक्थे र ?
म त केवल 
शब्दहरु पढ्दै थिए
बर्षभरि नपढेर परिक्षाको अन्तिम रात 
हतार हतार पुरै किताबहरु पढे सरी
म शब्दहरु पढ्दै थिए
केवल अर्थ बुझ्दै थिए ।।२।।

शब्दहरु मिठास पनि हुन्छन्
जङ्गली तीखा काँढाहरू पनि हुन्छन्
शब्दहरूलाई केलाउँदा 
म भन्न  बाध्य भएको छु
मेरो वेदनासँग मिल्ने शब्दहरु अर्कै छन्।
तर शब्दहरुको जालले  
मेरो यथार्थको सही प्रतिविम्बन गर्न सक्दैनन्। 
निर्मल सफा पानीलाई 
मैलो देखाउन खोज्दा न्यायोचित हुँदैन
शब्दहरु नै वैचारिक दृष्टिले 
विशुद्ध कुण्ठामा आधारित भएपछि
यथार्थपरक ढङ्गले तटस्थ शब्दहरु 
आउनुपर्नेमा बिडम्बना त्यो गायब छ 
आत्मनिर्भरता तिम्रो ध्वस्त भएर हो या 
सही प्रतिविम्बन लाई विषयान्तर गरेर 
दिशाहीन सन्देश दिन खोजेका 
ति शब्दहरु छिचोल्दै 
म उत्साह, प्रेम , सद्भाव 
र सहकार्यका शब्दहरु 
एकै ठाउँमा उभ्याउन खोज्छु
शब्दहरु भने चाङका चाङ
बदनाम र अवमूल्यन गर्ने 
शब्दकोश नै खडा गर्न खोज्छ ।।३।।


                                    धुम्बाराही, काठमाण्डौं