पाकिस्तानी पूर्वप्रधानमन्त्री खानलई तीन वर्ष जेल सजाय, फैसला लगतै पक्राउ, पाँच वर्ष चुनाव लड्न नपाउने

पाकिस्तानी पूर्वप्रधानमन्त्री खानलई तीन वर्ष जेल सजाय, फैसला लगतै पक्राउ, पाँच वर्ष चुनाव लड्न नपाउने

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण २१, २०८०

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान भ्रष्टाचारको मुद्दामा अदालतले तीन वर्ष जेल सजाय र एक लाख रुपैयाँ जरिबाना तोकेको छ ।

आफूमाथिका आरोप अस्वीकार गर्दै आएका खान अदालतको फैसलालगत्तै लाहोरस्थित निवासबाट पक्राउ परेका छन् । पक्राउ पर्नुअघि रिकर्ड गरिएको एउटा भिडियो सन्देशमा उनले आफ्ना समर्थकहरूलाई भनेका छन्, ‘मेरो मात्रै एउटा अपिल छ, चुप लागेर घरमा नबस्नुस् ।’

इस्लामावाद स्थित अदालतले खानलाई प्रधानमन्त्री भएको समयमा राज्यका उपहारहरू बिक्री गर्दा आफूलाई प्राप्त भएको आम्दानी घोषणा नगरेकोमा दोषी ठहर गरेको हो । न्यायाधीशले उनलाई तत्काल पक्राउ गर्न आदेश दिएका थिए । खानका वकिल इन्तजार हुसैनले पूर्वप्रधानमन्त्री खानलाई उनको लाहौरस्थित घरबाट नियन्त्रणमा लिइएको बताएका छन् ।

शनिबार अपराह्न १२ बजेपछि तोसाखाना मामिलाको सुनुवाइ तेस्रो पटक सुरु भएको थियो । जसमा इमरान खानका वकिल अनुपस्थित थिए । अदालतले उनका वकिललाई १२ बजेसम्म उपस्थित हुन समय दिए र त्यो समयमा अनुपस्थित भएपछि अदालतले आफ्नो निर्णय सुनाएको थियो । 

खानको समूहले अदालतको निर्णयविरुद्ध पुनरावेदन गर्ने जनाएको छ । उनको पार्टी तहरिक–इ–इन्साफले फैसला पक्षपात पूर्ण भएको टिप्पणी गर्दै त्यसविरुद्ध सर्वोच्च अदालतमा चुनौती दिने बताएको छ । जेल सजाय तोकेलगत्तै उनको पार्टीले अध्यक्ष तथा पूर्व प्रधाजनमन्त्री खानलाई दिएको सजाय विरुद्ध देशव्यापी रुपमा शान्तिपूर्ण प्रदर्शन गर्ने निर्णय गरेको छ । पाकिस्तान चुनाव आयोगका वकिल अमजद परवेजले अदालतको सजायसँगै इमरान खान पाँच वर्षसम्म चुनावमा भाग लिन अयोग्य बन्ने बताएका छन् । 

अदालतले फैसला सुनाइ रहँदा मुद्दा दायर गर्ने पक्षका वकिलसहितको समूहले खानलाई चोरीको आरोप लगाउँदै अदालतको भवन बाहिर नाराबाजी गरेका थिए । गत मेमा अदालतमा अनुपस्थित भएको आरोपमा उनलाई पक्राउ गरिएको थियो । सो गिरफ्तारीलाई गैर कानुनी घोषणा गरिएपछि उनी रिहा भएका थिए । त्यसयता उनको दलले अधिकारीहरूबाट चरम दबाबको सामना गरिरहेको छ । उनको पार्टीका दर्जनौं नेताहरुले प्रशासनको दबाबकै कारण पार्टी छाड्न बाध्य भएका छन् । उनलाई लामो समयदेखि सहयोग गर्दै आएका नेताहरु नै पार्टीबाट अलग भएका छन् । खान गिरफ्तार भएपछि भएको प्रदर्शनमा संलग्न भएको आरोपमा हजारौं लाई पक्राउ गरिएको थियो । 

दालतले दोषी ठहर गरेपछि खानलाई सधैंका लागि चुनाव लड्न अयोग्य घोषणा गरिने सम्भावना पनि छ । पाकिस्तानको संसद् अगस्ट ९ मा विघटन हुँदैछ । त्यसपछि कामचलाउ सरकार चुनावसम्म सत्तामा रहनेछ । नयाँ निर्वाचनको मिति तय गरिएको छैन। तर संवैधानिक रूपमा नोभेम्बर महिनाको प्रारम्भसम्ममा चुनाव सम्पन्न भइसक्नुपर्छ ।

सन् २०२२ को अक्टोबरमा पाकिस्तानको निर्वाचन आयोगले तोशाखाना मुद्दामा पूर्वप्रधानमन्त्री इमरान खानलाई अब पाँच वर्षको लागि चुनाव लड्न अयोग्य ठहर गरेको थियो । आयोगले खानले प्रधानमन्त्री पदमा रहँदा तोशाखानामा आफूले पाएका उपहारबारे अधिकारीहरूलाई सही जानकारी नदिएको बताएको थियो । इमरान खानले उक्त आरोपको खण्डन गरेका छन् । उनीमाथि प्रधानमन्त्री पदमा रहँदा व्यक्तिगत फाइदाका लागि महँगो उपहार बेचेको आरोप लागेको छ ।

खानले निर्वाचन आयोगलाई बुझाएको विवरणमा यी सम्पत्तिबारे उल्लेख गरिएको छैन । त्यसपछि आयोगले खानलाई प्रधानमन्त्री हुँदा आफूले पाएका उपहारहरू बेचेको र उनलाई फौजदारी कानुन अनुसार सजाय दिनुपर्ने भन्दै जिल्ला अदालतमा उजुरी दिएको थियो । पाकिस्तानमा सन् १९७४ मा तोशाखाना स्थापना भएको हो । मन्त्रिपरिषद्को प्रशासनिक मातहतको एक विभाग तोसाखानामा प्रधानमन्त्री, राष्ट्रपति, राज्य प्रमुख, मन्त्री, सांसद वा अन्य वरिष्ठ अधिकारीहरूले भ्रमणका क्रममा प्राप्त गरेका बहुमूल्य उपहारहरु राख्ने गरिन्छ । विदेश भ्रमणका क्रममा परराष्ट्र मन्त्रालयका अधिकारीहरूले ती उपहारहरूको अभिलेख राख्ने गर्छन् र स्वदेश फर्किएपछि तोशाखानामा जम्मा गरिन्छ ।

तोशाखानामा राखिएका सामानलाई स्मृति चिन्हका रूपमा हेर्ने गरिन्छ । यहाँ राखिएका हरेक वस्तु बिक्री गर्नका लागि मन्त्रिपरिषद्को स्वीकृति अनिवार्य छ । अदालतको फैसलाअनुसार सन् २०१८ देखि सन् २०२२ सम्म प्रधानमन्त्री रहँदा खानले विदेश भ्रमणका क्रममा प्राप्त भएका १४ करोड पाकिस्तानी रुपियाँ भन्दा बढीका उपहारहरू बिक्री गरेका थिए ।

इमरान खान पाकिस्तानका भूतपूर्व अन्तर्राष्ट्रिय क्रिकेटर पनि हुन् । राजनीतिमा प्रवेश गरेको दुई दशकपछि उनी पाकिस्तानका प्रधानमन्त्री बनेका थिए । पाकिस्तानको इतिहासमा विश्वासको मत गुमाएर सत्ताबाट बाहिरिने उनी प्रथम प्रधानमन्त्री समेत हुन् । सन् १९९६ मा उनले आफ्नो दल पाकिस्तान तहरिक–ए–इन्साफ (पीटिआई) स्थापना गरेका हुन् । तर सन् २०१३ को आमनिर्वाचनपछि मात्रै उनको पार्टी राष्ट्रिय पार्टीका रुपमा बलियो शक्ति बनेर उदाउन थालेको हो । ‘नयाँ पाकिस्तान’को नारा अनुसार भ्रष्टाचारविरुद्ध लड्ने र अर्थतन्त्रलाई लयमा ल्याउने बाचा गरेर सन् २०१८ को जुलाईमा उनी सबैभन्दा ठूलो दलको नेताका रुपमा प्रधानमन्त्री निर्वाचित भएका थिए । तर सन् २०२२ को अप्रिलमा विश्वासको मत प्राप्त गर्न नसकेपछि उनी पदबाट हटेका हुन् । 

पाकिस्तानको राजनीतिमा सेनाको महत्वपूर्ण भूमिका हुँदै आएको छ । कतिपय समयमा सैन्य कुमार्फत सत्ता हातमा लिने गरेको पनि पाइन्छ । कैयौं विश्लेषकहरूले सन् २०१८ पछि खान सत्तामा आउनुमा सेनाको सहयोग रहेको बताउने गरेका छन् । विपक्षमा रहँदा उनी सेनाको कटु आलोचकका रुपमा देखिने गरेका थिए । अदालतले दोषी ठहर गरेपछि खानलाई सधैंका लागि चुनाव लड्न अयोग्य घोषणा गरिने सम्भावना पनि छ । पाकिस्तानको संसद् अगस्ट ९ मा विघटन हुँदैछ । त्यसपछि कामचलाउ सरकार चुनावसम्म सत्तामा रहनेछ । नयाँ निर्वाचनको मिति तय गरिएको छैन। तर संवैधानिक रूपमा नोभेम्बर महिनाको प्रारम्भसम्ममा चुनाव सम्पन्न भइसक्नुपर्छ ।