कृषि विकास बैंकले आर्थिक वर्ष २०७९/८०मा नाफा ३ अर्ब ९ करोड

कृषि विकास बैंकले आर्थिक वर्ष २०७९/८०मा नाफा ३ अर्ब ९ करोड

लोकसंवाद संवाददाता  |  कारोबार  |  श्रावण २१, २०८०

काठमाडौं । कृषि विकास बैंकले गत आर्थिक वर्ष २०७९/८०मा  ३९.१८ प्रतिशतले नाफा बढाएको बैंकले जनाएको छ  ।

बैंकका अनुसार  २०८० असार मसान्तमा आफ्नो नाफामा  ३९.१८ प्रतिशतको बढाउँदै  ३ अर्ब ९ करोड रुपैयाँ पुगेको हो । २०७९ असार मसान्त सम्म्मा बैंकको त्यस्तो नाफा २ अर्ब २२ करोड रुपैयाँ मात्रै थियो ।

बैंकले उपलब्ध गराएको वितरणमा  योग्य नाफा नै २ अर्ब रुपैयाँ आर्जन गरेको छ । १३ अर्ब ४५ करोड रुपैयाँ चुक्ता पुँजी (प्रिफरेन्सियल सेयर बाहेक) रहेको बैंकले गत आर्थिक बर्षको वितरण योग्य नाफाबाट लगानीकर्तालाई १४.९६ प्रतिशत लाभांश दिन तयारी छ भने  बैंकको जगेडा कोषमा ११ अर्ब ७२ करोड रुपैयाँ रहेको  उल्लेख छ ।

कृषि विकास बैंकले गत आर्थिक बर्षमा एक खर्ब ९९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर एक खर्ब ७१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरि ८ अर्ब ८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको देखिन्छ ।

बैंकको प्रति सेयर आम्दानी २०.६२ रुपैयाँ छ भने प्रति सेयर नेटवर्थ २११.६ रुपैयाँ रहेको छ । कृषि विकास बैंकको खराब कर्जा २.४८ प्रतिशत रहँदा कस्ट अफ फण्ड ७.७१ रुपैयाँ रहेको छ । आधार ब्याजदर १०.०६ प्रतिशत रहेको बैंकको स्प्रेड दर भने ३.९४ प्रतिशत कायम राखेको  छ ।