विश्वविख्यात विद्धानहरूको दृष्टिमा 'पूर्वीय सभ्यता': दिव्यज्ञान माथि कर्मकाण्डको छाया !

पुस्तक परिचर्चा

विश्वविख्यात विद्धानहरूको दृष्टिमा  'पूर्वीय सभ्यता': दिव्यज्ञान माथि कर्मकाण्डको छाया !

अनिता पन्थी  |  दृष्टिकोण  |  श्रावण २२, २०८०

 'हामी भारतवर्षमा आउँदा विज्ञानको त्यस्तो महान् गङ्गाको दर्शन पाउँछौँ, जुन चाहिँ त्यहाँ नित्य बगिरहन्छिन् किनकि भारतवर्षले सम्पूर्ण विश्वभरि नै आफ्नो  बौद्धिक ज्ञान र प्रगतिका अभिलेखलाई बौद्धकाभन्दा पनि पहिलेदेखि नै संसारभरि वितरण गरिरहेको छ । त्यही कालमा नै यसले साङ्ख्य दर्शन र आणविक सिद्धान्तको निर्माण गरेको थियो ।'

@ प्रोफेसर काकुजो ओकाकुरा

                                                   

यी माथिका हरफ जापानी दार्शनिक, कलाविद्, क्युरेटर तथा लेखकका अभिव्यक्ति हुन् । उनले हाम्रै पुर्खाका सन्दर्भमा यी कुरा बोल्दैछन् । 

एकान्तमा बसेर फेरि पल्टाउदैछु पूर्वजको यश, कीर्ति र गौरवलाई । विरलै मात्र यस्ता ग्रन्थहरू हुन्छन्, जुन फेरि फेरि पढिन्छन्, जीवनभर उपयोगी हुन्छन् । अविस्मरणीय हुन्छन् । केही वर्ष अघि जे होस् म सम्पूर्ण रूपले अपरिपक्व थिएँ,  अहिलेको तुलनामा । त्यसो त हरेक क्षण मानिस अपरिपक्व नै हुन्छ, अपूर्ण हुन्छ । आज गरिएको कर्म भोलि एकदमै अपरिष्कृत लाग्छ ।  

जे होस् त्यतिबेला पढेकी थिएँ–  'पूर्वीय सभ्यता' । विषयवस्तु उही भएर पनि त्यसले पार्ने प्रभाव उही नहुँदो रहेछ । त्यस निमेष र अहिलेमा मैले धेरै अन्तर पाएँ । यतिखेर म जति अभिभूत छु त्यस घडी भएकी थिइनँ । धन्य हो ! फेरि पल्टिए यी पृष्ठहरू ।  समयप्रति म ज्यादा आभारी छु । किनकि समयले नै पुनः अह्राएको थियो, यस कृतिको अध्ययनमा डुब्न । त्यसभन्दा पनि ज्यादा सलील ज्ञवाली र डा. गोविन्दराज भट्टराईप्रति म आभारी छु, कृतज्ञ छु । वहाँहरूको  स्तुत्य कर्मले नै आज 'पूर्वीय सभ्यता' को त्यो उद्दीप्त ज्योति देख्न पाएँ । म शब्दातीत छु । त्यसो त म मात्र होइन स्वयं समय र जगत् नै विस्मयाकुल छ । 

 उत्तरपूर्वी भारतको सिलाङमा जन्मिनु भएका सलील ज्ञवाली हामी यताको लागि एउटा नौलो नाम लाग्न सक्छ । यद्यपि हामी एउटै वंशका अंशियार हौँ । पूर्वीय ज्ञानले प्रदीप्त ज्ञवाली त्यसको गहिराइ खोज्दै, भारतवर्षको  गौरवमय इतिहासको वहाँले उत्खनन् गर्नु भएको छ । प्राचीन गौरवको जगेर्ना गर्नु भएको छ । हामी सबै उनै जननीका सन्तान हौँ तर सच्चा सुपुत्र चाहिँ ज्ञवाली नै हुन् भनौँ जस्तो भइरहेको छ, यतिखेर । मातृदेवो भवः, अतिथिदेवो भवः, पितृदेवो भवः को पाठ त हामीले पढी आएकै हो ।

यद्यपि व्यवहारमा त्यसलाई रत्तिभर लागू गरेका रहेनछौं । आज हामी आफ्नी जन्म दातृलाई भुलेर अरूकी, पराइकी आमालाई सभ्य र प्रतिष्ठित ठानी उनैको वाह वाहीमा लागेका छौँ  । यस दुःखद स्थितिमा ज्ञवालीले आफ्नी आमाको दिव्य परिचयलाई उद्‌भासित गराउन - एसियाली, युरोपेली, पश्चिमेली तथा विश्वप्रसिद्ध विचारक, दार्शनिक, वैज्ञानिक, सर्जक, कला प्रेमी विद्वान विदुषीले भारतवर्ष तथा पूर्वजका यश कीर्ति र कर्मका सम्बन्धमा, विभिन्न समयमा उल्लेख गरेका अभिव्यक्तिलाई बडो यत्नका साथ सङ्गृहीत गर्नु भएको छ– 'ग्रेट माइन्ड्स अन् इण्डिया' । यसको नेपाली अनुवाद चाहिँ डा.गोविन्दराज भट्टराईले गर्नु भएको छ । 'पूर्वीय सभ्यता' यसैको अर्को नाम हो । यसलाई वहाँले 'मेरो जीवनकै सर्वाधिक मूल्यवान कर्म' भन्नु भएको छ । यही अभिव्यक्ति पर्याप्त छ प्रस्तुत ग्रन्थको महत्त्व कति रहेछ भन्ने बोध गर्न । 

 मैले फेरि पनि विद्वान् द्वयलाई नमन गरेँ । आज उहाँहरूकै अमूल्य कर्मले आफ्नी माताप्रति मैले गौरव बोध गर्न सकेँ । पुर्खाको अ वर्णित कार्यव्यापारलाई पहिचान गर्न पाएँ । उज्यालो छविलाई उद्‍बोध गर्न समर्थ भएँ । धन्य हो ! हामी भारतवर्षमा जन्मिन पाएछौँ -असम्भव प्राप्तिसँगै निस्किने लामो उच्छवास लिएर म फेरि पुस्तकमा घोप्टिन थाल्छु । त्यसै क्षण एकचोटि आफैँलाई धिक्कारे ! यस पवित्र भूमिमा बास पाएर पनि, किन हामी आफैँलाई हीन देख्छौँ ?  लघुताभासले शिर झुकाउँछौँ ? जुन प्रश्नले मन उदास हुन्छ ।

उता पश्चिममाहरू भारतवर्षलाई सम्झिँदा मात्रै पनि गौरवान्वित हुन्छन् । ग्रीसका राजा किङ पौलकी पत्नी अझ भनौँ एडभान्स फिजिक्सकी  अनुसन्धाता क्विन फे्रड्रिका एक ठाउँमा भन्छिन्, 'हे भारतवर्षका मित्रहरू, यस्तो ज्ञान प्राप्त गर्ने तपाईँहरू भाग्यशाली हुनुहुन्छ । तपाईँहरूदेखि मलाई ईर्ष्या लाग्छ । ग्रीस मेरो जन्मभूमि हो भने भारतवर्ष मेरो आत्माको देश हो (पृ–१२२)।'

वास्तवमा हामी कस्ता छौँ भने, हाम्रो परिचय पनि अरूले गराइदिनु पर्छ । तब मात्र हामीलाई आफूप्रति विश्वास लाग्छ - म फलानो हुँ । आमाको काखमा बसेर स्तनपान गरिरहेका छौँ तर हामीलाई थाहा छैन उनी कस्ती छिन् । उनको माया ममता वात्सल्यलाई समेत अरूले नै अर्थ्याइदिनु पर्छ । किनकि हामीमा स्वविवेक छैन । आफूलाई बिलकुल देख्दैनौँ अरूलाई मात्र देख्ने विमार छ हामीसँग । त्यसैले त आफ्नो इतिहास भुल्दैछौँ, सभ्यता कुल्चँदैछौँ ।

 'पूर्वीय सभ्यता' पढेपछि मैले एक्कै चोटि उज्यालो र अँध्यारोको अनुभूत गर्न पुगेँ - कस्तो आश्चर्य लाग्ने कुरा । यस पुस्तकका अद्भुत वाणीहरूले आज आफैँ प्रतिको दृष्टिकोण बदलिएको छ । सङ्कीर्ण चेत अचानक विस्तार भएको आभास हुन्छ । लाग्यो, अब हामी सुस्ताएर हुँदैन । विद्यमान पश्चिमा को, सभ्यताभन्दा कैँयन् गुणा हामी  अग्रपङ्क्तिमा रहेछौँ उस समयमै । त्यही सभ्यतामा सिँढी लगाएर अस्तित्व कायम गर्दै अब जानु पर्छ । पुर्खाको छविलाई रक्षा गर्दै त्यो पाइला पछ्याउन सक्नु पर्छ । आफ्नी मातालाई अरूले चिनाएर होइन आफैँ चिन्न समर्थ हुनुपर्छ । महान् अग्रजका नाम बिकाएर होइन कर्मले आफैँ बिक्न सक्नु पर्छ । त्यसो त हामीले कहाँ चिन्न सक्यौँ र हाम्रा अग्रजहरूलाई रु गर्व गर्न त हामीले सके कै होइन, नाम कसरी बिकाउनु रु आफूसँग भएको माल नै के हो हामीलाई थाहा छैन ।

हातको फिलिङ्गो सदृश त्यसलाई हत्याएर हलुङ्गो हुन चाहन्छौँ । अझ भनौँ कौडीमा मिल्काएर रिक्त हुन चाहन्छौँ । हाम्रो यति ठूलो इतिहास हुँदाहुँदै आज हामी अतीत बेगारका बाउन्ने भएका छौँ । यो दुःखको कुरा हो । उता पश्चिममाहरू यहीँको दीपमा उज्यालो सल्काएर हजारौँ लाखौँ माइलको यात्रा सम्पन्न गरिसकेका छन् । त्यो बोध नभएका हामी उतै को महिमा गाएर विपथगामी अझ गतिहीन भएका छौँ । स्वर्ण कचौराको मूल्य बोध नभएका हामी, चौबाटोमा  ढुकेर बसेका छौँ कसैको कृपा पूर्ण दृष्टि परिहाल्छ कि भनेर । 'पूर्वीय सभ्यता' पढेपछि एकचोटि सबैले यही अनुभूत गर्ने छन्, जस्तो मैले गरेँ । त्यसै निमेष मैले प्रतिज्ञा गरेँ, हाम्रो गुमेको इज्जत र प्रतिष्ठा पुनः कायम गर्दै जानु पर्छ, सबैले प्रतिज्ञा गरौँ एक दिन त्यो निश्चय पूरा हुनेछ । 

  सदियौं देखि हामीले भन्दै आयौँ, पूर्वमा केही छैन । के छ यहाँ ? बस् एउटा थोत्रो संस्कार छ । त्यो पनि समय अनुसार चल्न नजान्ने । उता पश्चिामाले कत्रो फड्को मारिसक्यो । आइन्स्टाइन उतै जन्मिए । पाइथो गोरस उहीँ का हुन् । हामीलाई अझै थाहा छैन । जसलाई हामीले ठूलो देख्यौँ तिनीहरू यहीँको दीपमा प्रज्वलित भएका थिए, लामो मार्ग तय गर्न हाम्रै अग्रजबाट उनीहरू दीक्षित भएका थिए । जगत्ले पुजेका हाम्रा पाणिनि, कालिदास, व्यास, पतञ्जलि, बाल्मिकी सँगै कैयन् पितामहबाट उनीहरूले जे सिके त्यसैले उनीहरूलाई शिखर पुर्‍यायो ।

दिव्य दृष्टि र ज्ञानले सम्पन्न ऋषि मनीषी, महाभारत कालीन उच्च सभ्यता, एट्म वम भन्दा पनि शक्तिशाली ब्रह्मास्त्र, पाशुपतास्त्र, आग्नेयास्त्र, पर्जन्यास्त्रजस्ता शस्त्रास्त्रहरू, आकाशमा उड्ने पुष्प विमान, रावणजस्तो वैज्ञानिक सबै सबैलाई हामीले भुल्यौँ । भुल्यौ मात्र होइन हाम्रो चेतनले त्यसलाई मिथक देखि अर्को दृष्टिले हेर्न सकेन । त्यसो त यो हाम्रो भूल होइन । अज्ञानता हो । पूर्वीय ज्ञान भण्डार देखेर उताकाहरु अवाक् छन् । जुन कुरा उनीहरूले कल्पनासम्म गर्न सकेका थिएनन् । आश्चर्यमा छन् ।  वशीभूत छन्, आकृष्ट छन् । सम्मोहित छन् । त्यो ज्ञानातीत, अनुभवातीत, कालातीत सौर्य समान सभ्यताले उनीहरूका आँखा तिरमिराएका छन् । यता हामीलाई त्यसो किन हुँदैन त र ? किनकि हामी दृष्टिविहीन छौँ । हजारौँ सौर्य प्रकाशले पनि हामीलाई कुनै असर गर्ने छैन, अर्थात् हुनु नहुनुको भेद हामीसँग केही छैन ।

महान् जर्मन प्राच्यविद् तथा हाइडेल्वर्ग विश्वविद्यालयका संस्कृत प्राध्यापक डा. हेन्रिख जिमरले पनि त्यसै भनेका छैनन्, 'हामी पश्चिमेलीहरू एउटा त्यही चौबाटोमा पुग्न लागेका छौँ, जुन स्थानमा भारतीय चिन्तकहरू जेजस क्राइस्ट आउनुभन्दा पनि झण्डै ७०० वर्ष अघि पुगिसकेका थिए । त्यही वास्तविक कारणले गर्दा हामी व्याकुल र उद्विग्न हुन्छौँ, साथै उत्तेजित पनि पौरस्त्य ज्ञान र विद्वत्ताको अवधारणा र विम्ब समक्ष भेट हुँदा हाम्रो मन अशान्त हुन्छ साथै हामी उत्सुक पनि हुन्छौँ (पृ–१०४)।'

अर्को ठाउँमा क्वान्टमको अनिश्चितता सिद्धान्तका प्रणेता वर्नर हाइजेन्बर्ग भन्छन् - क्वान्टम फिजिक्समा(Quantum Physics)  मलाई उन्मादी वा असङ्गत लागेका केही कुरा भारतीय दर्शनका विषयमा छलफल तथा वार्ता गरिसके पश्चात् अर्थपूर्ण लाग्न थाले  ।  

समयभन्दा निकै अघि हाम्रो सभ्यता र समृद्धि उत्कर्षमा पुगिसकेको कुरा वेद, पुराण, रामायण, महाभारत, उपनिषद, भगवद्गीतालगायत ग्रन्थबाट विश्वले चाल पाएर भन्यो, जुन समय उता सभ्यताको आरम्भ पनि भएको थिएन । जर्मन दार्शनिक जोहान गटफ्रिड हर्डरले भनेका छन्, 'मानव जातिको उत्पत्तिको आद्य रूप खोज्दै जाँदा भारतवर्षमा पुगिन्छ, जहाँ मानव मष्तिष्कले सर्वप्रथम विद्वत्ता र सदाचारको आकार पत्ता लगायो । ती गुणहरू सरलताले र शक्तिले उदात्तता सम्पन्न थिए, जसका तुलनामा कुनै कुरा हामी युरोपेलीहरूका, यो चिसो दार्शनिक जगत्का कसैका मनमा आउँदैनन् (पृ–४४)।' 

भारतवर्ष समस्त ज्ञानको उद्गम स्थल भएको त्यो समवेत स्वरले म छिनछिनमा दुःखी भइरहे, किनकि हामीले आफ्नै प्रतिष्ठाको अवमूल्यन गर्यौँ । हाम्रा विभूतिहरूले छोडेर गएको अभेद्य, अखण्डित ज्ञान सागरको विश्वले वन्दना गर्दैछ । उदेक लाग्दो कुरा त के भने, हामी त्यसैलाई अपहेलना गरेर व्यर्थ को देख्दै छौँ । पश्चिमले हाम्रै आँगनबाट धेरै थोक सिके, त्यसैको पृष्ठभूमिमा वैज्ञानिक भए, आविष्कारक भए, दार्शनिक तथा विचारक भए । कला प्रेमी र विशिष्ट साहित्यकार त्यसैले पोषित भए । हिसाब सिके, व्याकरण पढे ।

यस सन्दर्भमा फ्रान्सका प्रसिद्ध लेखक तथा साहित्यकार फ्राँस्वा भोल्तेअरका अभिव्यक्ति औचित्यपूर्ण लाग्छ । उनी भन्छन्, 'म विश्वस्त छु -हाम्रा सबै कुरा गंगाजीको तट बाटै प्राप्त भएका छन् - खगोल शास्त्र, ज्योतिष शास्त्र, आध्यात्मिक विद्या सबै सबै । यो विशेष उल्लेख्य कुरा छ- पच्चिस सय वर्षअघि ग्रिसको सोमस टापुका पाइथागोरस ज्यामिति सिक्नका लागि गंगाजी सम्म पुगेका थिए । आर्य ब्राम्हणहरूका विज्ञानको यश धेरै अघि युरोपमा स्थापित भइनसकेको भए उनले कदापि त्यो लामो  यात्राको कष्ट उठाउने थिएनन् होला (पृ–४१)।' 

पाश्चात्य भूमिमा आज जेजस्तो उपलब्धि भएको छ त्योभन्दा धेरै धेरै उपलब्धि पौरस्त्य भूमिमा पहिल्यै भइसकेको थियो । विद्यमान विश्वमा भौतिक आविष्कार जुन तरिकाले उत्कर्षमा पुगेको छ त्यो त भारतवर्षकै ज्ञान र विज्ञानको परिष्कृत रूप मात्रै हो, उनीहरू यही भन्छन् । जुन कुरा हामीलाई अझै पनि अनौठो लाग्दैछ । कहाँको पश्चिमा जगत् कहाँको भारतवर्ष रु यही त हाम्रो विडम्बना हो । श्रीखण्ड लाई खुर्पाको बिँड देखे पछिको नियति यस्तै हुने गर्छ । सभ्यताको उद्गम भूमि किन आज आफ्नै सन्ततिबाट उपेक्षित हुँदैछ ? हिगेलले भारतवर्षलाई स्वप्न भूमि भनेका थिए । तर हामीले दिवा भूमि पनि बनाउन सकेनौँ । अतीतको गौरव गाथा हामीलाई मिथक लाग्दैछ । मिथक नै भनेका छौँ । त्यसैले त मूल्य बोध गर्न सकेका छैनौँ, पुर्खाको । ‘युरोपेलीहरूको उच्चतम दर्शन समेत वेदान्तको तुलनामा एउटा निस्तेज फिलिङ्गोजस्तो मात्र देखिन्छ,’  स्लेगल मुक्त कण्ठले भन्छन् । 

हिगेलले भारतवर्षलाई स्वप्न भूमि भनेजस्तै मैले 'पूर्वीय सभ्यता' लाई स्वप्न उपहारको रूपमा लिएँ । प्रस्तुत ग्रन्थ प्रत्येकको हात हातमा पुगोस् । यही शुभेच्छा छ । थोरै भए पनि त्यो हृदय बलोस्, आफ्नो अतीतको गाथामा श्रद्धाले शिर झुकोस् । अलिकति भए पनि पूर्वजको सम्झनामा प्रतिष्ठा बोध होस् । यसले आफ्नै अतीतको गौरवशाली आँगनमा पुर्याउने छ । अन्धताले भरिएका हामीले एकै चोटि अरू ठूलो अपेक्षा राख्नु हुँदैन ।  अहिलेलाई यति नै पर्याप्त छ । लाग्दैछ हामी कस्तुरी रहेछौँ, आफैंसँगको सुवास थाहा नपाएर अनन्त भड्किरहने जड पथ रोज्दैछौँ ।  पूजनीय विगतलाई आत्मसात् गर्न, सन्देहबाट दूर हुन अब जरुरी छ । तब मात्र हामीलाई यो आर्य भूमिप्रति आस्था जाग्न थाल्छ । अनि हाम्रा ऋषि तपस्वीप्रति कृतज्ञ हुन सक्छौँ । तब वेद, पुराण, गीता, उपनिषदको ख्याति मनन गर्न समर्थ हुन्छौँ । 'पूर्वीय सभ्यता'  एउटा यस्तो मणि हो, जसले हामीलाई आफू हुनुको उद्‍बोध गराउँछ । आफू हुनुको अस्तित्व खोज्न लगाउँछ । हाम्रो गुमेको आदर पुनः कायम गर्न उत्साहित गराउँछ ।    

समयको मागलाई परिपूर्ति गर्न 'पूर्वीय सभ्यता'  स्कूल देखि विश्वविद्यालयसम्मका पाठ्यक्रममा अनिवार्य रूपमा राखिनु पर्ने बेला आएको छ । तर एउटा कुरा के भने अबको त्यो पढाइ वैज्ञानिक तरिकाको हुनुपर्छ, खोज अनुसन्धानमूलक । त्यसो नहुने हो भने हामीले यसभित्र केही पनि फेला पार्न सक्ने छैनौँ । श्लोक मात्र कण्ठ गर्ने पढाइ अब रोकिनुपर्छ । त्यस्तो शिक्षा नीतिले किमार्थ वैज्ञानिक जन्माउँदैन, आविष्कारक बनाउँदैन । जब हामी कर्मकाण्डमा सीमित भयौँ अनि सबै थोक ओझेल परे । त्यसभित्रको अनन्त ज्ञान पुञ्ज त्यही कर्मकाण्डले खुइल्याइदियो । अनि गम्भीर अध्ययन नभएर खुम्चियो

  

वास्तवमा हामी कस्ता छौँ भने, हाम्रो परिचय पनि अरूले गराइदिनु पर्छ । तब मात्र हामीलाई आफूप्रति विश्वास लाग्छ - म फलानो हुँ । आमाको काखमा बसेर स्तनपान गरिरहेका छौँ तर हामीलाई थाहा छैन उनी कस्ती छिन् । उनको माया ममता वात्सल्यलाई समेत अरूले नै अर्थ्याइदिनु पर्छ । किनकि हामीमा स्वविवेक छैन । आफूलाई बिलकुल देख्दैनौँ अरूलाई मात्र देख्ने विमार छ हामीसँग । त्यसैले त आफ्नो इतिहास भुल्दैछौँ, सभ्यता कुल्चँदैछौँ ।

भारतवर्षको यश कीर्ति फैलाउने अर्थात्  निर्माता (पूर्वज) लाई हामीले चिनेनौँ, दूरतामा रहेकाहरूले कति लाभ उठाइसके । प्रसिद्धि आर्जन गरे हाम्रै दीप ज्योतिले ओलिकित भए, जहाँ हामी भने अन्धकार देखि केही देख्दैनौँ । 

हाम्रा ऋषिहरू ज्ञान र विज्ञानमा मात्र सिमित थिएनन् - प्रेमका, करुणाका, सद्भावनाका, मानवताका पनि उद्गम थिए, प्रतिमूर्ति थिए । मृत्युको अवश्यम्भावितालाई प्रसन्न मनले स्वीकार्ने अद्भुत चेतना  थियो  । प्रकृतिको अ बोध्य भाषा बुझ्ने अन्तर्ज्ञान समेत हाम्रा पुर्खाहरूसँग थियो । जति हामी पूर्व जको सभ्यताबाट टाढिँदै गएका छौँ त्यति क्लिष्ट र शुष्क भएका छौँ । आधुनिकताको नाउँमा आफ्नै सभ्यतालाई उपहास गर्दैछौँ । अझ सभ्य बन्नका लागि विरोध गर्दैछौँ ।  उदेक लाग्दो कुरा त के भने हामीले आधुनिक र सभ्य देखेकाहरू फेरि यताको ज्ञानले अभिभूत छन् । प्रसिद्ध बेलायती इतिहासकार डा। आर्नोल्ड जोसेफ टोइन्बी भन्छन्, - 'सर्वाधिक सङ्कट पूर्ण समयमा मुक्तिको उपाय भनेको भारत वर्षको प्राचीन सनातन मार्ग रहेको छ । ...... अब हामी भारत भूमितिर फर्किन्छौं, जसको आध्यात्मिक उपहारले मानिसलाई मानव बनाउँछ ...(पृ–१०२)।' 

दुःखको कुरा अध्यात्मलाई हामी कर्मकाण्डसँग जोडेर हेर्ने गछौं । धार्मिक दृष्टिलाई त्यसैको नजिक पुर्‍याउँछौँ ।  यद्यपि उनले भनेको अध्यात्म अर्कै हो -आत्म ज्ञान । तत्त्व ज्ञान । भित्री ज्ञान । विश्वकै दिव्य पुञ्ज मानिएको हाम्रो गौरवलाई, दिव्यज्ञानलाई त्यही औपचारिक कर्मकाण्डले निल्दै आएको छ ।    

हाम्रा महर्षिहरूले त्यस्ता अद्भुत रहस्य सम्पूर्णता अन्तर ज्ञनबाट प्राप्त गरेका थिए । जुन भौतिक विज्ञान र प्रविधिभन्दा धेरै उचाइको छ । पश्चिमाले त्यो कुरा धेरैपछि बुझ्यो । हामीले त अहिले पनि बुझ्न सकेका छैनौँ । भूगर्भ विद् आर्थर होल्म्स विस्मित हुँदै भन्छन्-'पृथ्वीको आयुको अनुमान गर्ने विषयमा वैज्ञानिक अभिलाषा हुनुभन्दा धेरै पहिले प्राचीनकालमा ऋषिमुनिहरूले संसारको इतिहास (क्रोनोलोजी) का धेरै विस्तृत प्रणालीहरूको प्रतिपादन गरिसकेका थिए (पृ–१०५)।'

यही कुरा एक अध्यात्म वादीले भनेको हुन्थ्यो भने हामी विश्वस्त हुन सक्ने थिएनौँ । किनकि अध्यात्मले परा भौतिक, अन्तर्बोध को कुरा गर्छ । त्यो उचाइमा पुग्न साधारण मानिसले सक्दैन । त्यसैले  हामी त्यसमा विश्वास पनि गर्दैनौँ । तर यहाँ महान् वैज्ञानिक, चिन्तक, दार्शनिकले बोलेका कुरा हुनाले सन्देहदेखि हामी दूर छौँ । ती तथ्य पूर्ण छन् । अर्को ठाउँमा ज्याक सर्फाती भन्छन्, - ब्रह्माण्डीय  संज्ञान अर्थात् भारतवर्षको साङ्ख्य दर्शन नै सम्पूर्ण सृष्टिको आधार  हो ।