विश्वकप क्रिकेट : पाकिस्तानद्वारा आयोजक इग्ल्याण्ड पराजित

विश्वकप क्रिकेट : पाकिस्तानद्वारा आयोजक इग्ल्याण्ड पराजित
इग्ल्याण्डको विकेट लिएपछि खुसी साटासाट गर्दै पाकिस्तानका खेलाडी । तस्बिर : क्रिकइन्फो डट कम ।

लोकसंवाद संवाददाता  |  खेलकुद  |  जेठ २१, २०७६

काठमाडौं । इग्ल्याण्डमा जारी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबार राति सम्पन्न खेलमा पाकिस्तानले आयोजक इग्ल्याण्डलाई १४ रनले पराजित गरेको छ ।

३४९ रनको लक्ष्य पछ्याएको इग्ल्याण्ड ९ विकेट गुमाएर ३३४ रनमा सीमित भयो । इग्ल्याण्डका लागि जोइ रुट र जोस बटलरले शतक प्रहार गरे पनि टिमलाई जित दिलाउन सकेनन् । रुटले १०७ र बटलरले १०३ रनको योगदान दिए । यस्तै, जोनी बेरस्ट्रोले ३२, क्रिस वोक्सले २१, मोइन अलीले १९ र मार्क उडले १० रन जोडे । अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन् ।

पाकिस्तानका वाहव रियाजले सर्वाधिक तीन विकेट लिए । १० ओभर बलिङ गरेका उनले ८२ रन खर्चिए । यस्तै, सादब खान र मोहम्मद आमिरले समान दुई विकेट लिँदा मोहम्मद हफिज र सोयब मलिकले पनि एक–एक विकेट चट्काए ।

त्यसअघि टस हारेर ब्याटिङ गर्न आएको पाकिस्तानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३४८ रनको विशाल स्कोर खडा गर्यो । टिमका लागि अलराउन्डर मोहम्मद हफिजले सर्वाधिक ८४ रन जोडे । ६२ बल खेलेका उनले ८ चौका र २ छक्का प्रहार गरे । यस्तै, बाबर आजमले ६३, कप्तान सर्फराज अहमदले ५५, इमाम उल हकले ४४, फकार जमानले ३६ र असिफ अलीले १४ रनको योगदान दिए । हसन अली र सादब खानले समान १० रनमा अभिजित रहे ।

बलिङतर्फ इग्ल्याण्डका मोइन अली र क्रिस वोक्सले समान ३ विकेट लिँदा मार्क उडले २ विकेट चट्काए ।

खेलको प्लेअर अफ दि म्याच मोहम्मद हफिज घोषित भए ।

प्रतियोगितामा दुई खेल खेलेको पाकिस्तानको यो पहिलो जित हो । यसअघि पाकिस्तान वेस्ट इण्डिजसँग ७ विकेटले पराजित भएको थियो ।