एशियन लाइफ इन्स्योरेन्सलाई नेपाल इन्स्योरेन्सको सञ्चालक शेयर खरिद बिक्री लागि स्वीकृती प्रदान

एशियन लाइफ इन्स्योरेन्सलाई नेपाल इन्स्योरेन्सको सञ्चालक शेयर खरिद बिक्री लागि स्वीकृती प्रदान

लोकसंवाद संवाददाता  |  कारोबार  |  श्रावण २३, २०८०

काठमाडौँ ।  एशियन लाइफ इन्स्योरेन्स कम्पनीले निर्जीवन बीमा कम्पनीमा समेत लगानी बिस्तार गर्न लागेकाे कम्पनीले जनाएको  छ ।

कम्पनीका अनुसार  नेपालको सबैभन्दा पुरानो निर्जीवन बीमक नेपाल इन्स्योरेन्सको १३ प्रतिशत शेयर खरिद गर्दै एशियन लाइफ इन्स्योरेन्सले निर्जीवन बीमा व्यवसायमा समेत लगानी बिस्तार गर्न लागेको  हो ।

बीमा नियामक नेपाल बीमा प्राधिकरणले एशियन लाइफ इन्स्योरेन्सलाई सोमबार नेपाल इन्स्योरेन्सको संस्थापक शेयरमा लगानी गर्न स्वीकृती प्रदान गरेको  कम्पनीले जनाएकाे छ ।। बीमा कम्पनीको संस्थापक शेयर खरिद बिक्री गर्न प्राधिकरणको पूर्व स्वीकृती अनिवार्य हुन्छ। आइएमई समूहबाट एशियन लाइफले १३ प्रतिशत अर्थात् १९ लाख ४३ हजार १९५ कित्ता संस्थापक शेयर खरिद गर्न स्वीकृती पाएको छ ।

नेपाल इन्स्योरेन्समा रहेको आइएमई लिमिटेड, आइएमई होल्डिङ्गस प्रालि र आइएमई इन्भेष्टमेण्ट प्रालिले संस्थापक शेयर बिक्री गर्न लागेका हुन् । १९ लाख ४८ हजार ५३८ कित्ता संस्थापक शेयर बोल कबोलमार्फत् बिक्रीका लागी सूचना प्रकाशन गरेको थियो । संस्थापक सेयरको प्रतिकित्ता न्यूनत्तम मूल्य ३०० रुपैयाँ तोकिएको थियो । यी कम्पनीको संस्थापक शेयर २०७९ असारमा प्रति कित्ता ३२५ रूपैयाँ न्यूनत्तम बिक्री मूल्य कायम गरी बिक्रीमा राखिए पनि क्रेता नभेटिएपछि स्थगित हुन पुगेको थियो ।

आइएमई समूहले आइजिआई प्रुडेण्सियल इन्स्योरेन्स र नेपाल इन्स्योरेन्स समेत गरी तीनवटा निर्जीवन बीमा कम्पनीमा लगानी गरेपछि प्राधिकरणले क्रस होल्डिङको अवस्था कायम भएको भन्दै यी कम्पनीहरुलाई आपसमा गाभ्न गाभिन वा शेयर लगानी झिक्न आइएमई समूहलाई सुझाएको थियो ।

प्राधिकरणबाट एशियन लाइफका लागी लगानीको ढोका खुल्ला भएसँगै अब नेपाल इन्स्योरेन्सको सञ्चालक समितिले शेयर खरिद  बिक्री गर्नका लागि स्वीकृती प्रदान गर्ने छ ।