रत्नलक्ष्मीका दुई कृति  'चिन्ता र चासो' र 'स्वाभिमानको तस्वीर' माथि  परिचर्चा

रत्नलक्ष्मीका दुई कृति  'चिन्ता र चासो' र 'स्वाभिमानको तस्वीर' माथि  परिचर्चा

लोकसंवाद संवाददाता  |  साहित्य  |  श्रावण २४, २०८०

काठमाडौँ ।  साहित्यिक पत्रकार संघको आयोजनामा आज डालो रेस्टुरेन्ट, अनामनगरमा भएको एक कार्यक्रममा लेखक रत्न लक्ष्मी श्रेष्ठका कृतिहरू 'चिन्ता र चासो 'लेखसङ्ग्रह तथा  'स्वाभिमानको तस्वीर' कविता सङ्ग्रहको परिचर्चा कार्यक्रम सम्पन्न भयो । 

साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा वक्ताहरूले रत्नलक्ष्मीका रचनाहरूमा देश र समाज प्रतिका चिन्ता र चासोका अतिरिक्त चिन्तन र विश्लेषण पनि पाइने बताउनुभयो । 

प्रमुख अतिथिको आसनबाट इतिहासविद् प्रा। डा। सुरेन्द्र के। सी।ले हामीले गीताका अभिव्यक्त विचारहरू आफ्नो आवश्यकताअनुसार मात्र प्रयोग गर्ने गरेकोमा असन्तुष्टि व्यक्त गर्दै समग्र गीताको गम्भीर अध्ययन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले श्रेष्ठका कृतिहरूमा समाज र देशमा विद्यमान विकृति विरूद्ध कडा प्रहार पाइने धारणा राख्नुभयो । 

वरिष्ठ समालोचक प्रमोद प्रधानले श्रेष्ठको चिन्ता र चासोमा समसामयिक विषय प्रतिको गहिरो चिन्तन र विवेचना पाइने बताउँदै लेखनमा उहाँ इमानदार हुनुभएको उल्लेख गर्नुभयो । अर्का समालोचक डा। गोविन्दमानसिंह कार्कीले श्रेष्ठका कविताहरूमा विषयगत विविधतासँगै समय र समाजका चित्रहरू सरल रूपमा कोरिएको चर्चा गर्नुभयो । सर्जक डा। गीता शिवाकोटी खरेलले श्रेष्ठको सङ्घर्ष, शिक्षा प्रतिको असीम चाहना र समाजसेवाका बारेमा प्रकाश पार्दै उहाँको योगदानको प्रशंसा गर्नुभयो । कार्यक्रममा समालोचक डा। शान्तिमाया गिरी र साहित्यकार मन्जिला अनिलले पनि कवि एवम् लेखक श्रेष्ठको कृतिहरूमा पाइने विशेषताहरु चर्चा गर्नुभएको थियो । 

लेखक रत्न लक्ष्मी श्रेष्ठले आफू कवि लेखक नभए पनि देश र समाजमा देखिएका विकृति एवम् विसङ्गतहरूलाई हटाउनका लागि हृदयबाटै अभिप्रेरित भएर कलम समाएको बताउनुभयो । उहाँले यस वर्ष आफ्ना दुई कृति प्रकाशित गर्ने योजना भएको जानकारी पनि दिनुभयो । कार्यक्रममा वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, पुस्तकका सम्पादक डा। मधुसूदन लामिछाने र राजेश श्रेष्ठले पनि लेखकलाई शुभकामना दिनुभएको थियो । 

साहित्यकार श्रीबाबु कार्कीले संचालन गर्नुभएको उक्त कार्यक्रममा संघका सचिव नीता श्रेष्ठले स्वागत भाषण गर्नुभएको थियो । कवि मुरारि सिग्देलले 'स्वाभिमानको तस्वीर'  कविता कृतिबाट एक कविता वाचन गर्नु भएको थियो । 

कार्यक्रममा लेखक रत्न लक्ष्मी श्रेष्ठलाई माला, सापस स्वर्ण महोत्सव मेडल, र खादा लगाएर सम्मान पनि गरिएको थियो ।  

कार्यक्रममा साहित्यकारहरु किस्जोर पहाडी, राजेन्द्र के. सी., गीता मैनाली, कमला रिसाल, डा. दामोदर पुडासैनी, हरि थापा, मीठु ठापा, शंकर भारती, डा. बुनु दाहाल, सरस्वती गौतम लगायतको उपस्थिति रहेको थियो ।