सन नेपाल लाइफ इन्स्योरेन्सको आइपिओ भर्ने दिन साउन ३२ देखि भदौ १४ सम्म

सन नेपाल लाइफ इन्स्योरेन्सको आइपिओ भर्ने दिन साउन ३२ देखि भदौ १४ सम्म

लोकसंवाद संवाददाता  |  कारोबार  |  श्रावण २४, २०८०

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सर्वसाधारणका लागि आइपीओ निष्काशनको लागि मिति तय गरेको कम्पनीले जनाएको  छ ।

कम्पनीका अनुसार  वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई लक्षित गरी निष्काशन गरेको आइपीओ बाँडफाँड सम्पन्न गरी अब सर्वसाधारणका लागि कम्पनीले साउन ३२ गतेदेखि आइपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीले ७६ लाख ८० हजार कित्ता सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले बोर्डबाट आफ्नो जारी पूँजी ३ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ९६ करोड रुपैयाँ बराबरको ९६ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने अनुमति पाएको हो ।

जसमध्ये ९ लाख ६० हजार कित्ता शेयर प्रतिकित्ता १०० अंकित मूल्यमा १३९ रुपैयाँ थप गरी कुल २३९ रुपैयाँमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँड गरिसकेको छ।

बाँकी रहेको शेयर मध्ये ४ लाख ८० हजार कित्ता शेयर सामूहिक लगानी कोषहरूलाई बाँडफाँड गरिएको छ भने ४ लाख ८० हजार कित्ता शेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित राखिएको छ। सर्वसाधारणले अंकित मूल्यमा १३९ प्रतिशत रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३९ रुपैयाँमा बाँकी रहेको ७६ लाख ८० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

आइपीओ निष्काशन का  लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले इन्स्योरेन्सलाई केयरएनपी त्रिपल बी इस्यूअर रेटिङ्ग प्रदान गरिएको छ। यसले इन्स्योरेन्स वित्तीय दायित्व बहन गर्न सक्षम रहेको औषतस्तरको सुरक्षित कम्पनी रहेको संकेत गर्दछ। आइपीओमा लगानीकर्ताले भदौ ४ गतेसम्म आवेदन दिन सक्नेछन्। उक्त अवधिभित्र पूर्ण आवेदन नपरेमा भदौं १४ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आइपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन  कम्सपनीले जानकारी दिएको छ।

कम्पनीको आइपीओ निष्काशन तथा तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट उपलब्ध गराएको ‘मेरो शेयर’ सफ्टवेयरबाट आवेदन दिन सक्नेछन्।