धादिङकी पिण्डेश्वरी देवीको संरक्षण र प्रचार-प्रसार भन्दा सम्पत्ति र जग्गा दुरुपयोगमा प्रतिस्पर्धा !

धादिङकी पिण्डेश्वरी देवीको संरक्षण र प्रचार-प्रसार भन्दा सम्पत्ति र जग्गा दुरुपयोगमा प्रतिस्पर्धा !

शर्मिला तिमल्सिना  |  पर्यटन  |  श्रावण २६, २०८०

नेपाल विश्वको सामु एक विशाल हिन्दुको बाहुल्यता भएको देशको रूपमा चिरपरिचित छ । खासगरी सांस्कृतिक सम्पदाको विपुल सम्पत्तिका रुपमा असङ्ख्य मठ मन्दिरहरू हाम्रा पूर्वजले आफ्ना सन्ततिहरूलाई छाडेर गएको यथार्थलाई नकार्न सकिँदैन । यस्तो सम्पदासँगै धादिङ जिल्ला गजुरी गाउँपालिका वडा नम्वर ५ (साविक पिण्डा गाउँ विकास समिति वडा नम्वर ४) मा पर्ने पिण्डेश्वरी देवी र महादेव पनि एक हो ।

पश्चिमतर्फ गलौदी खोला, पूर्वतर्फ दरियाल खोलाको कलकल झरना, दक्षिणतर्फ डोल भञ्ज्याङ् माध्यमिक विद्यालय र उत्तरतर्फ गजुरी पिण्ड माध्यमिक विद्यालय भीमसेनथान, यी चार किल्लाभित्र एउटा गतिलो शिल्पकारले बुनेको ढक्की घोप्ट्याएको जस्तो सुन्दर थुम्की जसले क्षितिजलाई नै चुम्न खोजिरहेको जस्तो देखिन्छ । तैपनि गलौदी खोलालाई दर्जनौँ पटक पछार्दै हरियाली खोलाको छ्‌वाङछ्‌वाङ सुसेलीको लयमा रमाउँदै पूजा गर्न हजारौँ  भक्तजनहरुको भीड लाग्छ पिण्डेश्वरीमा । 

साँच्चै नै धार्मिक विश्वास अनि परम्परालाई कसैले पनि टाढा र बिरानो ठाउँमा राख्दैन । प्रत्येकले उसको मुटुको स्पन्दनसँग राखेको हुन्छ । जड छ तर त्यो यथार्थमा सजीव छ । त्यसैले पिण्डेश्वरी प्रति आस्था राख्ने गाउँलेहरू सदा देवस्थल धाउने गर्छन् । विगतमा निकै जीर्ण अवस्थामा रहेको उक्त मन्दिर निर्माण कार्यले अलिकति भएपनि मुहार फेर्न सुरु गर्दैछ । बुढा महादेव अनि देवी प्राकृतिक काखमा बसेर बेदनाका कथाहरू सुनाइरहेका छन् ।

पिण्डेश्वरी मन्दिरको निर्माण सम्बन्धी एउटा किंवदन्ती रहेको कुरा बताउँदै पिण्डेश्वरी मन्दिरका पुजारी नारायणप्रसाद तिमल्सिना बताउनु हुन्छ । पिण्डेश्वरी मन्दिरको जङ्गलमा चर्दै गरेको गाई एक्कासी हराएपछि गोठालोले गाई खोज्दै जाँदा हाल पिण्डेश्वरी मन्दिर पछाडिको शिला भएको ठाउँ नेर उभिएर गाईले बाच्छोलाई दुध चुसाउने क्रममा गाईको थुनबाट दुध चुहिएछ । दुध त्यस शिलामा परेको गोठालोको नजरमा पर्न गएको रहेछ । गोठालोले गाई लिएर घर आएको  र त्यसै रात गोठालोलाई सपनामा ‘गाईको दुध चुहिएको ठाउँमा पिण्डेश्वरी देवीको  बास छ । मन्दिर बनाएर पूजा गर्नु’ भनेकोले त्यसै ठाउँमा मन्दिर निर्माण भएको किंवदन्ती छ । 

मनोकामना पूरा हुने धार्मिक विश्वासले यस मन्दिरमा देवी भएको स्थानमा दसैंको घटस्थापना देखि महा नवमीसम्म  हजारौँ बोका, कुखुराको पञ्चबलि चढाइन्छ । यसो गर्दा भाकल र कार्य सिद्धि हुने धार्मिक विश्वास छ । महादेव भएको ठाउँमा दुध चढाउने चलन छ । भाकल पूरा हुने धार्मिक विश्वासले पुस मसान्तको  दिन बेलुका दीप प्रज्वलन गरी रातभर जाग्राम बस्ने तथा जात्रा गर्ने चलन छ । सङ्क्रान्तिको दिन बाजागाजा सहित फूलै फूलले भरिएको फुलको डोली ल्याउने र फर्किदा कन्या राखेर घर लाने चलन छ ।

देवीको  स्थानमा दुध र महादेवको स्थानमा बली पर्न गएमा अनिष्ट देखा पर्ने, देउरालीको वनमा दिउँसै बाघ निस्कने, घर घरमा गएर बाघले आक्रमण गर्ने गरेपछि फेरि क्षमा पूजा गर्ने गरिएको सन्दर्भ निवर्तमान पुजारी लोकनाथ (गोविन्द) तिमल्सिना बताउनुहुन्छ। तार्के झैडाँडा, किराञ्चोक, राक्सिङ, गजुरीबजार, आदमधाट लगायत ठाउँबाट भक्तजनहरु मन्दिर दर्शनका लागि आउने गर्छन् । मन्दिरमा खुल्ला आकाशमा बस्न रुचाउने महादेवको मन्दिर निर्माण गर्दा पुरै छानो ढाकेर छाइएको वर्ष त्यस भेगमा खडेरी परेपछि थोरै छानो भत्काएर आकाश देखिने गराइएको थियो । हाल पनि आकाश देखिने गरि दुलो राखिएको तिमल्सिनाद्वय बताउनुहुन्छ ।  उक्त मन्दिर विक्रम सम्वत् १७५५ साल पुस २४ गते निर्माण भएको कुरा त्यहाँको शिलालेखमा उल्लेख छ ।

 
पिण्डेश्वरी मन्दिर

दुध खसेको शिला मन्दिर पछाडि अहिले पनि देख्न सकिन्छ । त्यो शिला भएको ठाउँमा मन्दिर बनाउन साँघुरो भएर अगाडि सारेर महादेव र देवी स्थापना गरिएको र पूजा गर्दा पछाडिको शिलामा समेत गर्ने गरेको पुजारी तिमल्सिना बताउनुहुन्छ । उक्त मन्दिरमा चढाएको दुध करिब ५० मिटर तल पहरामा खस्दछ जुन अनौठो शक्तिको प्रतिविम्ब देखिन्छ । विगतमा जीर्ण अवस्थामा रहेको मन्दिर गजुरी गाउँपालिकाको पहलमा अहिले केही निर्माण गरिएको र दाताहरूको सहयोगमा गणेश र कुमारको मूर्ति लगायत बली घर समेत निर्माण भएको छ । धार्मिक आस्थाले विगतका पुजारीहरू स्व। देवी विलास तिमल्सिना, स्व. मोदनाथ तिमल्सिना, स्व. तुलसीप्रसाद तिमल्सिना, स्व. खेमराज तिमल्सिना, ऋषेश्वर तिमल्सिनाले घरबाटै पूजाको सामग्री लगेर पूजा गर्ने गर्नु भएको थियो । उहाँहरुको धार्मिक आस्थाको सधैँ सम्मान छ र उहाँहरूप्रति श्रद्धासुमन अर्पण गर्दछु । 

यस मन्दिरमा तिमल्सिना परिवारले पूजा चलाउने गरेको छ । गोविन्दप्रसाद तिमल्सिना पुजारी हुँदा अनि राजेन्द्र विक्रम बस्नेत गाउँपालिका अध्यक्ष हुँदादेखि  पूजाको सामग्री खर्च भनेर पालिका द्वारा वर्षको ७२ हजार छुट्याइएको थियो भने फेरि गणेशलाल श्रेष्ठ अध्यक्ष भएपछि २०७९ सालमा १२ हजार घटाएर ६० हजार छुट्याइएकोमा मन्दिरमा समेत राजनीति भयो भनेर स्थानीयले चर्को विरोध गरेपछि त्यसै वडाका वडाध्यक्ष गोविन्द लामिछानेसँग लेखकले प्रश्न गर्दा पालिकामा बजेट नभएकोले बजेट घटेको कुरा बताउनुभयो । २०८० सालमा फेरि ७२ हजार नै छुट्याइएको थियो ।

गत पुस मसान्तमा बत्ती बाल्न आउने भक्तजनहरुको समेत मन्दिरको नाममा राजनीति गर्न नहुने कुरा भनाई रहेको थियो ।

मन्दिरको गुठीको केही जग्गा उपभोग गर्ने पिंडाको दमाईहरूले  पर्वहरुमा बाजा बजाउने सर्तमा कमाएर उपभोग गरिरहेका छन् र उनीहरुले जात्रा पर्वमा मन्दिरमा आएर बाजा समेत बजाउने गरेका छन् । उनीहरुले आफ्नो धर्म निभाएका छन् । घाट बेसीमा पनि गुठीको जग्गा छन् । मन्दिरको गुठीको जग्गा मन्दिरको लागि उपयोगमा आउन जरुरी देखिन्छ । आफुलाई भन्दा स्थानीय नारायण अर्याललाई झन् बढी थाहा भएको बताउनु हुन्छ २०४४ मा प्रधानपञ्च र २०४९ सालमा गाउँ विकास समितिको अध्यक्ष हुनु भएका जीतबहादुर भण्डारी ।

त्यसैगरी नारायण अर्याललाई प्रश्न  गर्दा भन्नुहुन्छ, 'बालुवा बेचेर मनोमानी गरिरहेका छन् । मन्दिरको गुठीको जग्गा भएका प्रमाण लिएर म बसेको छु । बरू तपाईँले यो कुरालाई सार्वजनिक गरिदिनु होला ।' यो जग्गा मन्दिरको संरक्षणको लागि पालिकाले पहलकदमी लिनु पर्ने नारायण अर्यालको जिकिर छ । मन्दिरको गुठीको जग्गा कहाँ कसले भोगचलन गर्दै आएको छ खोजी गरी मन्दिरको लागि प्रयोगमा ल्याउनु पर्ने स्थानीयको माग छ ।

यसै मन्दिरको नामबाट साविकको पिण्डा गाउँ विकास समिति नाम रहन गएको थियो । विसं १९८२ सालमा पिण्डा संस्कृत भाषा पाठशालाको रूपमा स्थापित विद्यालय हाल पिण्डा माध्यमिक विद्यालयको नामले चर्चित छ । यो पाठशाला जिल्लाकै सबैभन्दा पुरानो मध्येको एक पाठशाला हो । पृथ्वीनारायण शाह गोर्खाबाट काठमाडौँ हमला गर्न जान लाग्दा गजुरीमा गजुर बिसाएर पिण्डेश्वरी मन्दिरको दर्शन गरेर आक्रमण गर्दा विजय हासिल गरेको भनाइ रहेको कुरा तिमल्सिना द्वय बताउनुहुन्छ।

तिमल्सिनाहरूले नै यो मन्दिरको पुजारीको भूमिका निर्वाह गर्दै आएका छन् । विगतदेखि हालसम्मका पुजारीहरू हुन् ( स्व. देवी विलास तिमल्सिना, स्व. मोदनाथ तिमल्सिना, स्व. तुलसीप्रसाद तिमल्सिना, स्व। खेमराज तिमल्सिना, ऋषेश्वर तिमल्सिना, लोकनाथ (गोविन्द) तिमल्सिना र नारायण तिमल्सिना ।

ऐतिहासिक, धार्मिक र साँस्कृतिक हिसावले निकै महत्वपूर्ण पिण्डेश्वरी देवीको महिमा बारे नयाँ पुस्तालाई जानकारी गराउनु अत्यन्तै आवस्यक छ । साँस्कृतिक गतिविधिहरूको निरन्तरताको लागि सम्बन्धित सरोकारवालाहरू सबैले पहल गर्नु जरुरी छ । गजुरी गाउँपालिका तथा वडा कार्यालयले मन्दिरको जग्गाको न्यायोचित उपयोग तथा भौतिक संरचनाको सुधारको लागि विशेष ध्यान दिनु पर्ने देखिन्छ ।