नीलगगन

नीलगगन

सब्बु पाठक  |  साहित्य  |  श्रावण २७, २०८०

बर्खे झरी झैँ आँसु बहाएर रुन मन छ 
यो झरी यस्तो ऊर्जा बनोस् कि 
तन, मन मस्तिष्क बेस्मारी पखालियोस् 
यसरी पखालोस् कि 
तेजाबले कुनै सिंगमरमरमा निखार ल्याए जस्तो 
न कुनै दाग, धब्बा न त कतै लेग्रा, लेग्री 

त्यसैले एउटा यस्तो वर्षात बर्साउन मन छ 
तर तत्परता नपुगेका कारण होला 
शायद परम शक्तिको सौगात हात परेको छैन 

तर, विश्वस्त छु अनि ढुक्क पनि 
एक दिन परम शक्तिको प्रभावले 
बर्खे झरीपछि पखालिएको आकाश झैँ 
सुन्दर, सफा तन मनका साथ 
नीलगगन बन्नेछु