नेपाल प्रज्ञा- प्रतिष्ठान :  मातृभाषा साहित्य श्रृङ्खला प्रारम्भ

नेपाल प्रज्ञा- प्रतिष्ठान :  मातृभाषा साहित्य श्रृङ्खला प्रारम्भ

लोकसंवाद संवाददाता  |  साहित्य  |  श्रावण २७, २०८०

काठमाडौँ ।   नेपाल प्रज्ञा- प्रतिष्ठानको साहित्य (मातृभाषा) विभागले  मातृभाषा साहित्य शृङ्खला प्रारम्भ गरेको प्रज्ञा- प्रतिष्ठानले जनाएको छ।

प्रज्ञा- प्रतिष्ठानका अनुसार  शृङ्खलामा मातृभाषा साहित्यबारे  सिर्जना, संवाद र विमर्श नियमित रूपमा प्रत्येक महिनाको अन्तिम शुक्रबारका दिन आयोजना गरिने छ ।

नेपाल  प्रज्ञा-प्रतिष्ठानका   साहित्य ( मातृभाषा)  विभागका सदस्य तथा युनेस्कोका सहजकर्ता   डा. सोमबहादुर धिमालले ‘धिमाल भाषाको साहित्य विषयक  कार्यपत्र प्रस्तुत गर्नुभयो।

 यसमा धिमाल जातिका मौलिक विशेषता र परम्पराहरू , आरोह अवरोह, अवस्था, पुस्तान्तरण ,चलचित्र ,गीति साहित्य,पत्रकारिता,लोककथा,लोक उखान,किंवदन्ती ,कविता,गीत, नियात्रा आदि विधागत कृतिबारे कार्य पत्रमा उल्लेख गरिएको छ। 

यसै अवसरमा नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले 'सबै जातजाति र समुदायका आ-आफ्नै भाषा छन् । तिनले बोल्ने सबै भाषा मातृभाषा हुन ।भाषामा विभेद झल्किने कुनै पनि मार्जिन को जरुरत छैन । कर्मकाण्डीय रूपमा वर्षमा एकचोटि मातृभाषा दिवस मनाइन्थ्यो । त्यस परम्पराको साटो  मातृभाषाको संरक्षण र संवर्द्धन  गर्ने उद्देश्यले मातृभाषा साहित्य शृङ्खलाको  सुरु गरिएको हो ।यसले मातृभाषाका स्रष्टाहरूलाई उत्साहित र प्रोत्साहित गर्ने छ'  भन्नुभयो ।

यसैगरी प्रज्ञा-प्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठ 'विमल निभा' ले 'सबै जातजातिको मातृभाषा र साहित्य प्राण हो ।यसको उत्थान र विकासमा लाग्न मातृभाषा साहित्य शृङ्खलाले उत्साह र हौसला थप्ने छ'  भन्नुभयो ।
 प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा।धनप्रसाद सुवेदीले स्वागत मन्तव्यको क्रममा नेपाल बहुजातीय र बहुभाषिक भएको देश हो ।यहाँ भएका सम्पूर्ण मातृभाषाको संरक्षण र संवर्द्धन   गर्ने दायित्व वहन गरेका छौँ।यसै अनुरूप मातृभाषा साहित्यको नियमित शृङ्खला सुरु गरेको बताउनुभयो ।

कार्यक्रमको  समापनका क्रममा  मातृभाषा साहित्य शृङ्खलाका अध्यक्ष, प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य (मातृभाषा) विभाग प्रमुख  राजन मुकारुङले  सबै भाषाका साहित्यिक स्रष्टाहरूले आआफ्नो स्वत्व आत्मसात् गर्नेगरी मातृभाषा साहित्य शृङ्खलाको प्रारम्भ गरिएको बताउनुभयो ।उहाँले  यसअघि प्रज्ञा-प्रतिष्ठानले फेब्रुअरी  २१मा पर्ने अन्तर्राष्ट्रिय मातृभाषा दिवस एकदिन मनाउने गर्दथ्यो । त्यस परम्पराको सट्टा  विविध  मातृभाषामा  सिर्जना, संवाद र विमर्श गर्न लागेको कुरा प्राज्ञ मुकारुङले बताउनुभयो । 

  कार्यक्रममा  डा. सोमबहादुर धिमालद्वारा लिखित 'धिमाल साहित्य'  विषयक  कार्यपत्र माथि प्राज्ञ सभा सदस्य डा. तारामणि राईले  'धिमाल भाषाको साहित्य र संस्कृतिबारे सुपरिचित ता भयौँ  तर कार्य पत्रलाई सापेक्षित र  परिमार्जन गर्नु उपयुक्त हुने छ'  भन्ने पूरक टिप्पणी  गर्नुभयो ।  प्रतापसिंह नाछिरिङ,रामनारायण देव, लोचना मोक्तान,विक्रम मणि त्रिपाठी , सन्ध्या पहाडी ,गणेशबहादुर घले,कमला शाक्य सृष्टि र प्रकाश वान्तवा लगायतले प्रस्तुत कार्य पत्रमाथि  पूरक टिप्पणी गर्नुभएको थियो  ।

 मातृभाषा साहित्य शृङ्खला प्रारम्भ कार्यक्रममा  तीन कविले  तीन भाषाका कविता कार्यक्रममा वाचन  गर्नुभयो । जसमा    नेपाल सङ्गीत नाट्य प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ सभा सदस्य  देवकुमार चौधरीले थारु भाषामा ,अञ्जु राजवंशीले राजवंशी भाषामा र  विनिता ताजपुरियाले ताजपुरिया भाषामा आआफ्नो  कविता वाचन गर्नुभयो ।कार्यक्रमको सञ्चालन प्रज्ञा-प्रतिष्ठानका भौतिक संसाधन व्यवस्थापन महाशाखा प्रमुख तथा कवयित्री सन्ध्या पहाडीले गर्नुभयो ।