काठमाडौँलाई किन दुख्छ र मोफसलको घाउले ?

काठमाडौँलाई किन दुख्छ र मोफसलको घाउले ?

डिल्ली बि.सी.  |  दृष्टिकोण  |  श्रावण ३२, २०८०

‘काठमाडौंलाई कालापानी किन दुख्दैन ?’ शिर्षकमा २०५४ साल भदौ २६ गते जनआस्था साप्ताहिक पत्रिकामा एउटा विचार उत्तेजक, नेपाल र नेपालीको पहिचानसँग जोडिएको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा भएको भारतीय अतिक्रमणको प्रतिवाद गर्दै सासंद प्रेमसिंह धामीको लेख प्रकाशित भयो ।

त्यसको भोलिपल्ट नुवाकोटको भीरमा जीप दुर्घटना भयो ४५ वर्षको अल्प आयुमै देशको सच्चा पुत्र, नीति निर्माता र दार्चुलाको रत्न तत्कालीन सासंद प्रेमसिंह धामी निधन भयो । प्रेमसिंह धामीले राष्ट्रियताका लागि गरेका कयौं लिखित अलिखित दस्तावेज छन् र  होलान् पनि । यसका साथै देशको मिचिएको मुद्दा उहाँको अथक संघर्षबाट राष्ट्रिय र राष्ट्रिय एजेण्डा समेत बनेको छ । 

आज मलाई यो स्वर्गीय धामीले भने जस्तै काठमाडौं र कालापानीलाई ‘काठमाडौं र पेरिफेरी’को प्रसंगले प्रश्न गरिरहेको छ । मलाई त्यही काठमाडौं र त्यसैको पेरिफेरीका बारेमा आफ्ना गन्थन सुनाउन मन लाग्यो र आत्म सम्पादन गर्दै केही संकेतहरु ओकल्ने प्रयास गरेको छु । हुनत यो कुनै नयाँ विषय वा मलाई मात्रै अनुभुति भएको विषय हैन । जो काठमाडौंको प्रतिविम्ब हुनु भएको छ । उहाँहरुलाई पनि हिजोका दिन यस्तै लाग्थ्यो र अरुलाई प्रतिविम्ब बनाउनु हुन्थ्यो होला  नै।

साँच्चिकै शासक बस्ने ठाउँ जहिले पनि व्यस्त, मस्त र दम्भले भरिएको हुन्छ । त्यो हुनु पनि पर्छ होला । काठमाडौं आफैमा अति सुन्दर, मानव सभ्यताका लागि अति अनुकुल, शोभनीय र रमणीय स्थान पनि हो । यो बस्तुसँग पनि मेरो कुनै गुनासो छैन् । गुनासो उनीहरुसँग पनि छैन् । जो जीवन जिउनुका लागि हरिणको तालमा विहान देखि बेलुकासम्म हातमुखका लागि पौँठे जोरी गर्दै छैन् । जसलाई गुनासो गरिरहेको छु तिनीहरुलाई मैले गुनासो पनि गरेको हैन । गुनासो यो छ । यदि मैले जसरी अरुले पनि सोचे भने उनीहरु पनि गुनासो गर्न लायक हुने छैनन् ।

काठमाडौँ बडा गज्जबको छ है । हरेक मान्छे पेरिफेरी छिर्नका लागि यात्रामा रहन्छन् र साथी सँगीले कताको यात्रा हो भनेर सोधे भने काठमाडौं भन्छ । काठमाडौं उच्चारण गर्दा उसको स्वरमा त्यही उच्च स्वर, छाती चौडा भएजस्तो, अलि अग्लो भए जस्तो, अझै भन्दा जान्ने सुन्ने र दुई चार जनाले पत्याएको जस्तो अझ लाग्छ कि उसैको काठमाडौं होला जस्तो हाउभाउ हुन्छ । अनि त्यो सोध्ने मान्छे दोस्रो दर्जाको जस्तो वातावरण हुन्छ । अहिले त हाते फोनको विगविगी छ । कसैले कता हो भन्यो भने म त काठमाडौँ। एकछिन पछि फोन गर्नु, म बैठकमा छु ।

शासनमा अहिले नवहुकुमी शैलीको विजारोपण भएको छ । अति सुन्दर शैलीमा सबै अधिकार आफु अधिनस्थ बनाएको छ । शासक, जे बोल्छ, जे खोक्छ, जहाँ हिँड्छ र जे सोच्दैछ त्यो सबै कानुन बन्ने परम्परा स्थापित भएको छ । मोफसललाई यी सबै हरकत बारेमा जानकारी छ । तर उ अरु भन्दा अब्बल रैती बन्ने र नजिकको हुने होडबाजीमा 'साइलेन्स' बनेको पत्तै पाउँदैन ।

केही भन्नु थियो भने पछि फोन गर्नु है । लाग्छ सबै उसैले धानेको होला जस्तो । अनि काठमाडौंका हरेक चिया पसल बैठक कक्ष, हरेक दारु पसल बैठक कक्ष जस्तो बनाउ छन् उनीहरु । काठमाडौँ जाँदै मा प्रधानमन्त्रीले क्याबिनेट बस्दा उसैसँग सल्लाह गर्दछ जस्तो व्यवहार । राष्ट्रपतिले प्रमाणिकरण गर्दा उसैको अनुहारको स्वीकृति पछि हस्ताक्षर गर्दछन् जस्तो । बडा गज्जबको कथा हुन्छ । अनि पेरी फेरी बाहिर केही सूचना नभए जस्तो । उ निरीह भए जस्तो । अरु झुत्रे, उ काठमाडौंं वालाको सान मान र सम्मानको एकल हकदार भए जस्तो देखिन्छ । यो प्रवृतिको आम भोगाइ र कथन भएको छ ।

काठमाडौं र काठमाडौं बासी

यसो सुन्दा र भोग्दा लाग्छ काठमाडौं, शासक बस्ने ठाउँ, काठमाडौं निर्देशन गर्ने ठाउँ ! काठमाडौं घुम्न जाने ठाउँ ! काठमाडौं छाँटिएर गएकाको रासोबासो गर्ने ठाउँ ! काठमाडौं नीति बनाउने र बङ्ग्याइनेको ठाउँ ! काठमाडौं देश हल्लाइनेको ठाउँ ! यस्तै साना हैन ठूला ठूला विशेषणले भरिएको ठाउँ ! तर काठमाडौं बाहिर, उनीहरुले दिएपछि खाने रैतीको ठाउँ !

अवश्य पनि काठमाडौँ भौगोलिक र प्राकृतिक रुपमा विश्वकै अब्बल ठाउँ हो । तर काठमाडौँ छिर्ने र काठमाडौँको भौगोलिक र प्राकृतिक रुपलाई बिगार्ने स्थान विशेषलाई बेइज्जत गराउने अधिकाँस गैर रैथाने(शासक)ले गर्दा काठमाडौको अर्को परिचय बनाउने प्रयास गरिरहेका छन् । त्यो हो नव सामन्त, नव शासक र मोफसललाई हकार्ने, हपार्ने तथा जुका जस्तै चुस्ने ठाउँ भएको छ । के काठमाडौं र पेरिफेरी ले मात्रै सबै देशका अंग चल्छन् । सबै संस्थाका अवयव बन्छन् ।

शासक बन्ने रवाफ आउछ । रैती विनाको शासन हुन्छ । अवश्य संभव छैन् । उनीहरु किस्ता किस्तामा मोफसललाई छिन्न भिन्न पार्दैछन् । टुक्रा टुक्रामा विभक्त बनाउँछन् । लय बिगारि दिन्छन् । वाक्यमा ध्वान्द्रो  बनाइ दिन्छन् । आँखा जुधाएर संवाद गर्नेको आँखामा फुलो पारिदिन्छन् । शीर ठाडो पार्नेलाई निहुराइ दिन्छन् । सूचना खोसी दिन्छन् । सन्देश आफ्नो बनाएर ओकल्छन् । शक्ति खण्डीकरण गर्दछन् ।

भुगोल पनि उनीहरुकै पेरिफेरी पनि उनीहरुकै बनाउँछन् । दिनमै रात बनाउँछन् । विचरा त्यो मोफसलको सर्व ज्ञानी, सच्चा मानवीय गुण भएको, मानव एकलव्य हुन्छ । हरेक हन्डर व्यहोर्छ अनी साइलेन्सर विग्रिएको मोटर साइकलको आवाज जस्तो अ पाच्य बन्छ । फेरी अर्को लक्का मानव पेरिफेरीका लागि आफ्नो साइलेन्सर बिगार्न  मोफसलबाट उही स्वरमा भन्न सुरु गर्दछ । म काठमाडौं जान लागेको । अन्ततोगत्वा टि फुट बाहेक अर्कोले साइलेन्सर बिगारेर फेरी मोफसल फिर्ता हुन्छ । यो वर्षौं देखि हुँदै आएको खेल अब त नेपालीको नियतिको खेल वा भाग्यको खेल भने जस्तै भएको छ । किन कि मोफसलले आफुलाई कहिलै पनि चिमोटेर सोधेन म को हुँ । उ जहिले काठमाडौंको माया जालमा फस्दै आएको छ । 

कहाँ छन् शासक

शासक भन्नुको अर्थ केवल सरकार संचालक लाई मात्रै भनिएको हैन । यो शासक तपाईले आफुलाई बुझे पनि हुन्छ, मैले मलाई बुझे पनि हुन्छ । संस्था, संगठन, राजनीतिक दल वा यस्तै मानव गठित र संगठित शासकको बखान हो । संरचनामा शासक, नीतिमाथि पनि शासक, विधिमाथि पनि शासक, प्रक्रियामाथि पनि शासक, विधानमाथि पनि शासक हुँदाहुँदा जीवन रक्तसञ्चारमा पनि शासकको अधिनस्थ बस्नै पर्ने बाध्यता आएको छ । शासकले नीति, विधि, विधान, ऐन, नियम र प्रकृति न्यायलाई समेत ध्वस्त पारिदिएको छ । 

शासनमा अहिले नवहुकुमी शैलीको विजारोपण भएको छ । अति सुन्दर शैलीमा सबै अधिकार आफु अधिनस्थ बनाएको छ । शासक, जे बोल्छ, जे खोक्छ, जहाँ हिँड्छ र जे सोच्दैछ त्यो सबै कानुन बन्ने परम्परा स्थापित भएको छ । मोफसललाई यी सबै हरकत बारेमा जानकारी छ । तर उ अरु भन्दा अब्बल रैती बन्ने र नजिकको हुने होडबाजीमा 'साइलेन्स' बनेको पत्तै पाउँदैन । जुन दिन शासकले हेपेको, थिचेको, आफुलाई रजाइँ बनाएको थाहा पाउँछ उ(मोफसल वाला) विग्रिएको साइलेन्स बनिसकेको हुन्छ । त्यसको मुल्य ‘रुप’मा हुँदैन, थोत्रामा परिणत भइसकेको हुन्छ । 

संरचनामै शासक बन्ने परम्पराले गर्दा नेपाली समाज रुपान्तरण हुनसक्छ र ! भन्ने जन मनमा ठूलो भय छाएको छ । आम मोफसल र शासन बाहिरका सबै नागरिकमा नैराश्यता, हिनताबोध र आत्मीयता बाट नेपाल र नेपाली समाज टाढा हुँदैछ । हितकारी, मनकारी र नीति अधिनस्थ को संख्या दिनानुदिन कम हुँदै छ । पत्याउन गाह्रो छ । अधिकांस नेपाली जाँगर भएकाहरु राष्ट्रियता बाहिर लम्किँदै छन् । चोक, चौराह र सार्वजनिक स्थलमा दुई जना पनि जम्को भेट भयो भने प्रश्न एउटै हुन्छ । के छ खबर अरु त ठिकै छ, तर खत्तम छ । अब यहाँ बसेर केही हुँदैन् । कतै भाग्नु पर्‍यो कि क्या हो । यस्तै निराश अभिव्यक्ति आम जन जनमा पाइन्छ । हाम्रा 'तिघ्रे' नेता र नीति कार्यान्वय कर्ता कै मुखारबिन्दबाट यस्तै सुनिन्छ । अनि के देश बन्छ ।

पलायनको प्रयास

बडा गर्वका साथै नेपाली अधवैंशे उमेर समूहमा चर्चाको विषय भएको छ । मेरो त ठूलो (छोरा वा छोरी युरोप, अमेरिका, अष्ट्रेलिया, जापान आदि) गर्‍यो । अब एउटा छ । त्यो पनि उतै जाने योजनामा छ । के गर्ने, काम गर्ने कोही छैन् । अब यस्तै छ । यी र यस्तै शब्द गुन्जिन तपाई हामी सबैले सुनेका कुरा हुन । अहिलेसम्म केही बिकाउ हुन सक्ने शैक्षिक प्रमाणपत्र थिए र यस्ता स्वर सुन्न पाइएको छ । विभिन्न बहानामा अब गरिब, विपन्न र मझेउला परिवारका सदस्यले पाउने शैक्षिक प्रमाणपत्र पनि बढीमा ४ वर्षपछि त्यो पनि पाउदैनन् । किन कि करिब २५०को हाराहारीमा त्यस्ता प्रमाणपत्र पाउने शैक्षिक संस्था समेत बन्द भइसकेका छन् । अनि के हुन्छ । जे आउछ पचाउ छ भन्ने स्वर सुनिन्छन् ।

हामीले कल्पना समेत नगरेका धेरै बुवा आमाहरु आज भोली सामाजिक सञ्जालमा बच्चा स्याहार्न  (समाजमा चर्चाको नाम 'तेल भिसा' मा) अस्ट्रेलिया, अमेरिका र युरोपसम्म पुगेका तस्विर देखिन्छ । किमार्थ यो विउ पलायनले थोक(मुल)नै नास हुने अवस्थामा जाने छौं । तर शासक वर्ग विप्रेषण मा रमाइ रहेको छ । आफुलाई काठमाडौं ठान्दैछ अरु मोफसल बनाएर बसेको छ ।

रुप एक सार अनेक

कुरा रुपको हो । जुन रुपमा वस्तु छ त्यसको सारमा पनि त्यही रुप भएन भने रुप एक सार अनेक मा बदलिन्छ । यो सबै भन्दा खतरनाक अधोगति हो । अर्को तर्फ सार अनेक रुप एक भएर पनि उन्नति हुँदैन् । रुप अनुसारको सार हुनै पर्दछ अन्यथा रुप पनि कुरुप हुन्छ । शासक वर्गमा रुप एक सार अनेक को शैलीले गर्दा समाज आशा विहीनता, भरोसा विहीनता र भविष्य विहीनताको अवस्था छ । सरसर्ती हेर्दो के फरक पर्दछ भन्ने छ तर जुन दिन फरक पर्दछ अनि पछुतोको कुनै अर्थ छैन् ।

रुप बदल्ने सबै भन्दा बढी रोग राजनीति दलमा देखिएको छ । त्यसको भरथेग गर्ने अर्को कर्मचारी प्रशासनमा त्यस अजंगको रोग सरेको छ । अहिले राजनीतिमा दर्शन, कार्यनीति, कार्यक्रम, अभियान र आन्दोलनको बृहत्तर समीक्षा भन्दा पनि अंकुश प्रवृत्ति क्यान्सरको तेस्रो अवस्था जो 'किमो' को पनि कुनै अर्थ नरहने अवस्था पुगेको छ । राजनीतिमा नश्लवादको ऐझेरु झाँगिए जस्तै ठूलो रुपमा झाँगिएको छ । यसको अधोगतिको पहिलो भागिदार मोफसलमा परेपनि अन्ततोगत्वा शासक विर्सजन र विघटनमा पुग्ने छन् । जुन रुप अति कुरुप हुने छ । अहिले शासक अधिनस्थ दल जोगाउने अमृत बुटी जान–अन्जानमा संविधानमा व्यवस्था गरेको समानुपातिक व्यवस्था र प्रभुत्व वादी शक्तिको आडमा राजनीतिक दर्शन, कार्यनीति र आन्दोलन पोत्नि(पोतारी) बनाएर जुठ्यानमा थन्काएर अशोभनीय र अपवित्र गठबन्धनले बचाएको छ । एक दिन त्यो पनि समाप्त हुने छ । बढीमा अबका दुई संघीय निर्वाचनमा सबै अस्त्र खिया लाग्ने छन् र अहिलेको यात्राले परिणाम विघटनमा पुग्ने छ ।

यसर्थ काठमाडौंलाई कालापानी नदुखे पछि किन, दुखेन भनि सोध्नु भयो अनुत्तरित भएरै स्वर्गीय हुनु भएका प्रेमसिंह धामीको कालजयी प्रश्नको उत्तर जुग जुगसम्म काठमाडौंले नदिनमा म ढुक्क छु । यावत सवालमा मोफसलले काठमाडौं र पेरिफेरी लाई प्रश्न गर्न सक्दैन र गरेको प्रश्नको उत्तर पनि पाउने छैन् । किन की उ काठमाडौं हो । उ काठमाडौंको पेरिफेरी पनि हो । मोफसल जहिले पनि जस्तै अवस्थामा पनि खण्डित भयो र हुनेछ । त्यो काठमाडौं र पेरिफेरीका लागि छाँटिएका उत्तराधिकारी उत्पादन गर्ने बाहेक मोफसल निरीह हुने छ । दर्जा विहिन भएर बस्ने छ । यो शासकीय शैलीको ‘रुप’ उही हो ‘सार’ अनेक हुनेछन् ।