एआईजी सरुवाको नियमित आकस्मिकता ! नक्कली शरणार्थी जस्तो घृणित कुकर्म चोख्याउने कडी !?

लोकसंवाद टिप्पणी

एआईजी सरुवाको नियमित आकस्मिकता ! नक्कली शरणार्थी जस्तो घृणित कुकर्म चोख्याउने कडी !?

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ ३, २०८०

नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिन सुरु गर्ने प्रहरी अधिकारी श्यामलाल ज्ञवाली साढे ४ महिनामै हटाइएको छ ।  शरणार्थी प्रकरणमा दोस्रो चरणका उजुरी लिएर अनुसन्धान सुरु गर्ने तयारी गरिरहँदा सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको दबाबमा ज्ञवालीको सरुवा भएको बताइन्छ । 

ज्ञवालीसँगै सबै एआईजीहरुको सरकारले सरुवा गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख श्यामलाल ज्ञवालीलाई कार्य विभागमा पठाइएको छ । सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञवालीलाई सरुवा गर्न दबाब दिएका थिए । दुई साताअघि नेपाली काँग्रेसका सांसद सुनील शर्मा पक्राउ परेको समयमा देउवा र गृहमन्त्री श्रेष्ठबीच भेटवार्ता भएको थियो । देउवाले उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख डा.मनोज केसीलाई पनि हटाउन दबाब दिएको स्रोत बताउँछ । 

एआईजीहरुको सरुवा मन्त्रिपरिषदले गर्ने भएकाले मंगलबार कै मन्त्रिपरिषद बैठकमा सरुवा सम्बन्धी प्रस्ताव लैजाने तयारी भए पनि अन्तिम समयमा रोकिएको थियो । शुक्रबारको बैठकले भने गृह मन्त्रालयको प्रस्तावमा एआईजी सरुवाको निर्णय गरेको हो । ज्ञवाली साढे ४ महिनाअघि मात्रै उपत्यका प्रहरी कार्यालयमा सरुवा भएर आएका थिए । ज्ञवालीको स्थानमा प्रशासन विभागका प्रमुख दीपक थापालाई ल्याइएको छ । प्रशासनमा भने एआईजी मीरा चौधरीलाई लगिएको छ । चौधरी कार्य विभागमा कार्यरत थिइन् । 

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका प्रमुख एआईजी टेकप्रसाद राईलाई मानव स्रोत विभागमा सरुवा गरिएको छ भने मानव स्रोतका प्रमुख सन्दीप भण्डारी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा गएका छन् । सत्तारुढ दलबाटै शरणार्थी प्रकरणको अनुसन्धान गरिरहेका अधिकारीलाई हटाउन दबाब आएपछि गृह मन्त्रालयले साढे ४ महिनामै सबै एआईजीको सरुवा गरेको देखिन्छ । ज्ञवालीको मात्रै सरुवा गर्दा शरणार्थी प्रकरण डिसमिस पार्न लागेको आरोप लाग्ने थियो । 

ज्ञवालीको गृहमन्त्री श्रेष्ठसँग राम्रो सम्बन्ध रहेको बताइन्छ । अर्कोतिर प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरको नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका केशव दुलाल र सानु भण्डारीसँग भेटघाट र सम्पर्क हुने गरेको अनुसन्धानका क्रममा भेटिएको थियो । त्यसैले ज्ञवाली नक्कली शरणार्थी प्रकरणको अनुसन्धान गर्ने ठाउँमा भइरहनु भनेको कुँवरका लागि पनि घाँटीमा तरबार झुन्ड्याए जस्तै हुने थियो । त्यसैले पनि ज्ञवाली देउवा र महानिरीक्षक दुवैको तारो बनेको हुन्  । 

यो प्रकरणको थप छानबिन भए देउवा पत्नी आरजु राणासमेत मुछिन सक्ने त्रास काँग्रेसभित्र छ । त्यसैले हतारहतार प्रधानमन्त्री र गृहमन्त्रीको दल संसदमा कमजोर रहेको, सरकारको अंकगणित पनि कमजोर रहेको, प्रतिपक्षी एमालेसँग दुरी बढेको अवस्थालाई हेरेरै देउवाले प्रधानमन्त्री र गृहमन्त्रीलाई प्रहरी अधिकारी सरुवाको दबाब दिएको आरोप छ ।

उपत्यका प्रहरी प्रमुख रहेका ज्ञवालीसँग सुमधुर सम्बन्ध नभएका कारण महानिरीक्षक कुँवर पनि ज्ञवालीलाई प्रहरी प्रधान कार्यालयभित्र महत्वपूर्ण विभागमा जिम्मेवारी दिन चाहिदैन थिए । शरणार्थी प्रकरणमा ज्ञवालीले महानिरीक्षक कुँवरलाई समेत जानकारी नदिई पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई पक्राउ गरेका थिए । कुँवर नै उपत्यका प्रहरी प्रमुख रहेका बेला नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रलोभनमा पारेर भएको ठगी प्रकरणमा निवेदन परेको थियो । तर उनले त्यसलाई गम्भीरतापूर्वक अनुसन्धान गरेनन् । 

उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरका एसएसपी केसीले लामो समयदेखि अलपत्र नक्कली शरणार्थी प्रकरणको फाइल खोलेर १२ चैत, २०७९ मा तीन जना आरोपीलाई पक्राउ गरेका थिए । 

तत्कालीन आईजीपी धीरज प्रताप सिंह जिम्मेवारीमा नभएको र नयाँ महानिरीक्षक नआइसकेको अवस्थामा उनले चलाखीपूर्वक यो प्रकरणका आरोपी केशव दुलाल, टंक गुरुङ र सानु भण्डारीलाई पक्राउ गरेपछि नक्कली शरणार्थी प्रकरण जबर्जस्ती अनुसन्धानको दायरामा आएको थियो । 

भण्डारीले बयानका क्रममा तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का सुरक्षा सल्लाहकार इन्द्रजित राईदेखि अख्तियार प्रमुख प्रेमकुमार राईसम्मको यसमा संलग्नता रहेको भन्दै नाम लिएका थिए । भुटानी शरणार्थी प्रकरणलाई त्यसबेला पनि सामान्य ठगी मुद्दामा छानबिन गरेर सामसुम पार्ने कोशिस भएको थियो । तर केसीले थप जाहेरी लिएर जिल्ला प्रहरी परिसर, टेकुमा पठाइदिएका थिए ।

त्यसपछि भएको संगठित अपराधको छानबिनका क्रममा पूर्वगृहमन्त्री खाँण, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, रायामाझीका छोरा सन्दिप, पूर्वगृहमन्त्री थापाका छोरा प्रतिक लगायत दुई दर्जन बढी मुछिएका छन् । 

खाँणलाई एसएसपी केसी नेतृत्वको टोलीले नै पक्राउ गरेका कारण काँग्रेस केसीसँग रुष्ट छ । उनले हालै लिएको थप १८ जनाको उजुरीमा लमजुङ, सुनसरी, सिन्धुपाल्चोक, गोरखा, ललितपुर, चितवन र काठमाडौंका गरी १८ जनाबाट करिब १ करोड ८५ लाख ९२ हजार लिएर ठगी गरेको उल्लेख छ । यो प्रकरणको थप छानबिन भए देउवा पत्नी आरजु राणासमेत मुछिन सक्ने त्रास काँग्रेसभित्र छ । त्यसैले हतारहतार प्रधानमन्त्री र गृहमन्त्रीको दल संसदमा कमजोर रहेको, सरकारको अंकगणित पनि कमजोर रहेको, प्रतिपक्षी एमालेसँग दुरी बढेको अवस्थालाई हेरेरै देउवाले प्रधानमन्त्री र गृहमन्त्रीलाई प्रहरी अधिकारी सरुवाको दबाब दिएको आरोप छ ।  एआईजी सरुवा प्रकरण सरकारले जुन नियमित आकस्मिकता देखाउन खोजेको छ, यसले हरेक काण्ड छानबिन गर्ने सरकारको बाचामाथि प्रश्न मात्रै उठाउँदैन, नेपालीलाई भुटानी शरणार्थी बनाएर बेच्ने जस्तो घृणित कुकर्मलाई पनि चोख्याउने मार्ग कोर्ने पछिल्लो कडीका रुपमा लिन थालिएको छ ।