स्टार हस्पिटल: २ सय जनाको जोर्नी प्रत्यारोपण गरेर रेकर्ड कायम गर्ने ३ चिकित्सक अभिनन्दित

स्टार हस्पिटल: २ सय जनाको जोर्नी प्रत्यारोपण गरेर रेकर्ड कायम गर्ने ३ चिकित्सक अभिनन्दित

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  भदौ ५, २०८०

ललितपुर । स्टार हस्पिटल लिमिटेडका कार्यकारी अध्यक्ष किशोर महर्जनले २ वर्षको अवधिमा २ सय जनाभन्दा बढीको जोर्नी प्रत्यारोपण गर्ने प्र‍ा.डा. दिर्गराज आरसी नेतृत्वको चिकित्सकहरूको समूहलाई हस्पिटल परिसरमा आयोजित एक समारोह बीच अभिनन्दन गर्दै र शुभकामना  प्रदान गर्नु भएको छ । 

स्टार हस्पिटलमा उक्त चिकित्सकहरूको समूहले २ सय जना भन्दा बढीको  शल्यक्रियाको माध्यमबाट सफल 'जोइन्ट रिप्लेसमेन्ट' गरेको भन्दै हस्पिटलले  अभिनन्दन सहित शुभकामना दिएको हो । यसरी अभिनन्दन सहित शुभकामना प्राप्त गर्नेहरूमा चिकित्सक द्वय डा. सुमन बाबु मरहट्ठा र  डा. रामइश्वर यादव रहनु भएको छ । 

स्टार हस्पिटलले सोही समारोहमा जोर्नी प्रत्यारोपण गर्नुहुने उमा कार्की  र मेजर जनरल  दिगम्बर शमशेर जबरालाई समेत अभिनन्दन गरिएको थियो ।

अभिनन्दित  व्यक्तित्व डा. सुमन बाबु मरहट्ठा ले व्यवस्थापनले सहयोग गर्ने हो भने जोर्नी प्रत्यारोपणमा अन्तर्राष्ट्रिय स्तरको सेवा दिन सक्षम रहेको  दावी गर्दै करिब २  वर्षमा २ सय जनाको जोर्नी प्रत्यारोपण गर्दा ३ जनामा सामान्य इन्फेक्सन देखा परेको र २ जनामा नसाको समस्या देखा परेको अरु करिब १सय ९५ जनाले सामान्य जीवन बिताइरहनु भएको तथ्य प्रस्तुत गर्नु भएको थियो ।

जोर्नी प्रत्यारोपण  चिकित्सक समूहका टोली नेता तथा प्र‍ा.डा. दिर्गराज आरसीले करिब सतप्रतिशत सफलता हँसिला हुने यो विद्यामा नेपाल सरकारले विशेष ध्यान दिन र जोर्नी प्रत्यारोपण केन्द्रको स्थापना गर्न माग गर्नु भयो । प्र‍ा.डा. आरसी को भनाई थियो - ' सरकारले कम्तीमा 'कृतिमा जोर्नी' उपलब्ध गराउन सके यो उपचार सर्वसाधारणको पहुँचमा पुग्छ ।' स्टार अस्पतालले दिएको जानकारी अनुसार स्टार अस्पताल जोर्नी प्रत्यारोपण गर्दा ७ देखि १० लाखसम्म लाग्ने जानकारी समेत कार्यक्रममा दिइएको थियो । 

 

एक आँकडा प्रस्तुत गर्दै  प्र‍ा.डा. आरसीले नेपालमा करिब ३० हजारको सङ्ख्यालाई शल्यक्रियाको माध्यमबाट 'जोइन्ट रिप्लेसमेन्ट' गर्न जरुरी रहेको बताउनु भयो । 

स्टार अस्पताल जोर्नी प्रत्यारोपण गर्नुहुने उमा कार्कीले आफू अस्ट्रेलियामा एक लाख डलर डाक्टरको फिस बुझाउन नसकेर नेपालमा आएको तर प्र‍ा.डा. आरसीको नेतृत्वको समूहले ८,१० लाखमै जोर्नी प्रत्यारोपण गरेर आफूलाई सहज जीवनमा फर्काएकोमा धन्यवाद दिनु भएको थियो । समारोहमा मेजर जनरल  दिगम्बर शमशेर जबराले समेत जोर्नी प्रत्यारोपणका अनुभव सुनाउनु भएको थियो । 

स्टार हस्पिटल लिमिटेडका कार्यकारी अध्यक्ष किशोर महर्जनले सभापतिको आसनबाट बोल्दै   नेपालका निजी अस्पतालहरूमा सबैभन्दा बढी शल्यक्रियाको माध्यमबाट जोर्नी प्रत्यारोपण गर्न सफल भएकोमा प्र‍ा.डा. दिर्गराज आरसी लगायतका समूहलाई बधाई दिँदै स्टार हस्पिटललाई बिस्तारै जोर्नी प्रत्यारोपण केन्द्रका रुपमा विकास व्यवस्थापन लाग्ने वचनबद्धता व्यक्त गर्नु भएको थियो ।  सहभागीहरूलाई स्वागत भाषण  स्टार हस्पिटलका मेडिकल डाइरेक्टर डा. दीपक महर्जनले गर्नु भएको थियो  ।