प्रज्ञा–प्रतिष्ठानको ४० औँ प्राज्ञ सभा : आर्थिक वर्ष २०८०/८१ कार्यक्रम तथा बजेट अनुमोदन

प्रज्ञा–प्रतिष्ठानको ४० औँ प्राज्ञ सभा : आर्थिक वर्ष २०८०/८१ कार्यक्रम तथा बजेट अनुमोदन

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ ७, २०८०

काठमाडौँ । चालु आर्थिक वर्षका लागि कार्यक्रम र बजेट पारित गर्न नेपाल प्रज्ञा–प्रतिष्ठानको ४० औँ प्राज्ञ सभाको उद्घाटन सत्र समापन भएको छ । संस्कृति ,पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवम् प्रज्ञा-प्रतिष्ठानका संरक्षक सुदन किराँतीका पिता हर्कबहादुर राई कीर्तिशेष हुनु भएकाले यस प्राज्ञ सभामा संस्कृति मन्त्री उपस्थित हुन सक्नु भएन्।यस शोकको दु:खद् घडीमा उहाँका पिताप्रति हार्दिक श्रद्धाञ्जली तथा मन्त्री किराँतीलगायत परिवारजनमा प्राज्ञ सभाले गहिरो समवेदना प्रकट गर्यो ।

प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइँलाले आज शुभारम्भ गर्नुभएको सो सभामा प्राज्ञ परिषदद्वारा पारित भएका कार्यसूची र निर्णय अनुमोदन गरिने भएको छ । सभामा आर्थिक वर्ष २०७९/८० को कार्यक्रम तथा बजेटको वार्षिक प्रतिवेदन र आर्थिक वर्ष २०८०/८१ कार्यक्रम तथा बजेट अनुमोदन, प्रतिष्ठानको नियमावली, २०६७, कलाकार तथा कर्मचारी सेवासम्बन्धी नियमावली, २०७७ र आर्थिक प्रशासन नियमावली, २०७९ का केही नियममा समसामयिक संशोधनका कार्यसूची रहेका छन् । पूर्व कुलपति काइँलाले राज्यले प्राज्ञिक निकायलाई पर्याप्त बजेट नदिएर उपेक्षा गर्ने गरेको बताउनुभयो । उहाँले बजेट वृद्धिका लागि प्रतिष्ठानका कुलपति र सदस्य सचिव मन्त्रालयका उपसचिव तथा सहसचिवको कार्यकक्षमा धाउनुपर्ने बाध्यता आफूहरूले पनि व्यहोरेको सुनाउनुभयो ।

प्रतिष्ठानका कुलपति भूपाल राईले ‘सबै भाषा, सबै ज्ञान, सबैको प्रज्ञा–प्रतिष्ठान’ भन्ने उद्‍घोषसहित आफूहरूले कार्य प्रारम्भ गरेको उल्लेख गर्दै व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकापछि प्राज्ञिक क्षेत्रलाई प्राथमिकता दिनुपर्नेमा प्रस्ताव गर्नुभयो ।

राजनीतिज्ञ र कर्मचारीतन्त्रले प्राज्ञिक क्षेत्रलाई महत्त्व नदिएको गुनासो गर्दै उहाँले ज्ञान र विचारको विकेन्द्रीकरण गर्ने पक्षमा आफूहरू अग्रसर रहेको उल्लेख गर्नुभयो ।
भाषा आयोगका अध्यक्ष गोपाल ठाकुरले सबै राष्ट्रभाषाको प्रज्ञा- प्रतिष्ठान हो भन्ने मान्यता र सोचलाई आत्मसात् गरेर काम गर्न सुझाव दिनुभयो ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा -प्रतिष्ठानका कुलपति निशा शर्माले प्रज्ञा- प्रतिष्ठानलाई व्यवस्थित रूपमा सञ्चालन गर्न कानुन संशोधन हुनुपर्नेमा जोड दिनुभयो भने ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले तीनवटै प्रज्ञा–प्रतिष्ठान बीच सहकार्य हुनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

स्वागत मन्तव्यका क्रममा प्रज्ञा-प्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठ 'विमल निभाले प्राज्ञिक क्षेत्रमा महत्त्वपूर्ण काम गर्ने बताउनुभयो । कार्यक्रमको सञ्चालनका क्रममा प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदीले प्रज्ञा-प्रतिष्ठानलाई समावेशी चरित्रको बनाउँदै सबैलाई समेट्ने बताउनुभयो ।

कार्यक्रममा प्रतिष्ठानको नयाँ प्रकाशन ‘समाज अनुसन्धान’ पत्रिका विमोचन गरियो । । यस पत्रिकाको प्रधान सम्पादकमा प्राज्ञ परिषद् सदस्य तथा सामाजिक शास्त्र विभाग प्रमुख डा.कौशिला रिसाल ,सम्पादन मण्डलमा प्राज्ञ सभा सदस्यद्वय नारायणप्रसाद मरासिनी र नवीन जिरेल ,गोकुल पोखरेल,प्रकाश थापा मगर, सरोजदिलु र कार्यकारी सम्पादकमा नारायण शर्मा रहनुभएको छ।