भारतीय सेनामा लगाइदिन्छु भन्दै ठगी गर्ने समूह नगद सहित पक्राउ

भारतीय सेनामा लगाइदिन्छु भन्दै ठगी गर्ने समूह नगद सहित पक्राउ

लोकसंवाद संवाददाता  |  अपराध  |  जेठ २२, २०७६

बाँके । भारतीय सेनामा भर्ना गराइदिने भन्दै रकम असुली गरिरहेका सात जनालाई बाँके प्रहरीले रु ३८ लाखसहित पक्राउ गरेको छ ।

 बाँकेका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता प्रकाश सापकोटाका अनुसार गोप्य सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिएको छ । । पक्राउ परेका सातै जनाको नाम भने नेपाल प्रहरीले गोप्य रुपमा राखिएको छ । 

पक्राउ परेकामध्ये दुई जना महिला रहेको प्रहरीले जनाएको छ । पक्राउ परेकाले भारतीय सेनामा भर्ती गराइदिने भन्दै विभिन्न व्यक्तिसँग रकम उठाएको स्वीकार गरि सकेका छन । कुन व्यक्तिसँग कति रकम लिएको भन्ने नखुलेको प्रवक्ता सापकोटाले जानकारी दिनुभयो । 

बाँके प्रहरीका प्रवत्ताको भनाइ थियो– ‘विशेष सूचनाका आधारमा सोमबार राति नेपालगञ्जस्थित होटल स्नेहाबाट पक्राउ गरेका छौँ । अहिलेसम्म पीडित पक्ष सम्पर्कमा नआएकाले उनीहरुले क–कसबाट कति रकम असुलेको भन्ने खुलेको छैन । पीडित पक्षले जाहेरी नदिएसम्म सबै कुरा खोल्न मिल्दैन । हामी अनुसन्धानकै क्रममा छौँ ।’

आफू भारतीय सेनामा कार्यरत रहेको र भारतीय सेनामा भर्ना हुने युवाको कागजपत्र संकलन गर्न आएको भन्दै पक्राउ परेकाहरुले रकम असुलेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । 
ठगीको आरोप पुष्टि भएमा उनीहरुलाई सैनिक ऐन तथा संगठित अपराध ऐनअन्तर्गत कारबाही हुने प्रवक्ता सापकोटाले जानकारी दिनुएको थियो ।