जयपृथ्वीबहादुर सिंहको १४७जन्मजयन्ती:  जयपृथ्वी बाल प्रतिभा पुरस्कार आश्रित श्रेष्ठ र समर्पण न्यौपानेलाई

जयपृथ्वीबहादुर सिंहको १४७जन्मजयन्ती:  जयपृथ्वी बाल प्रतिभा पुरस्कार आश्रित श्रेष्ठ र समर्पण न्यौपानेलाई

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ ९, २०८०

काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठानले नेपाल बालसाहित्य समाज र जयपृथ्वी फाउन्डेसनसँगको सहकार्यमा राष्ट्रिय विभूति जयपृथ्वीबहादुर सिंहको १४७ औँ जन्मजयन्ती मनाएको प्रज्ञा-प्रतिष्ठानले जनाएको छ ।

यस अवसरमा व्यानर वाचन गरेर कार्यक्रमको  उद्घाटन गर्दै  प्रमुख अतिथि नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले  बालसाहित्य विधामा तेजप्रकाश श्रेष्ठलाई जयपृथ्वीबहादुर सिंह सम्मान, चित्रकला विधामा  जयपृथ्वी बाल प्रतिभा पुरस्कार सुश्री आश्रित श्रेष्ठ र  साहित्य विधामा  जयपृथ्वी बाल प्रतिभा पुरस्कार समर्पण न्यौपानेलाई प्रदान गर्नुभयो ।
     यसैक्रममा कुलपति राईले   जयपृथ्वीबहादुर सिंह एक मानवतावादी र प्रतिरोधी चेतना भएका राणाकालीन सङ्घर्षशील व्यक्तित्व हुनुहुन्थ्यो ।उहाँले साहित्य लेखन , शिक्षा,स्वास्थ  ,दर्शन र पत्रकारिताको क्षेत्रमा ऐतिहासिक भूमिका निर्वाह गर्नुभयो ।यसले  नेपालमा आधुनिक विकास र चेतनाको ढोका खोल्ने महत्त्वपूर्ण  योगदान रह्यो भन्नुभयो । 
     स्वागत मन्तव्यका क्रममा  प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव  डा।धनप्रसाद सुवेदीले जयपृथ्वीबहादुर सिंह विद्रोही चेतना  भएका व्यक्ति हुनुहुन्थ्यो ।उहाँले शिक्षा ,दर्शन र समाज सुधार लगायतका क्षेत्रमा  अनुकरणीय विचार फुल्याउनु भएको थियो  ।  तिनलाई आत्मसात् गर्दै अघि बढ्न सक्नुपर्छ भन्नुभयो ।

 यसैगरी प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा सामाजिक शास्त्र विभाग प्रमुख   डा।कौशिला रिसालले जयपृथ्वी बहादुर सिंहले राणाकालीन समयमा सत्यवादी पाठशाला खोलेर जनताका छोराछोरीलाई पढ्ने अवसर प्रदान गर्नु ,नेपाली भाषामा आफैँले पाठ्यपुस्तक लेखेर पठनपाठनको थालनी गर्नु महत्त्वपूर्ण  योगदान हो ।उहाँलाई  शिक्षा सेवी, भाषा सेवी , साहित्य साधक, समाज सुधारक, मानवतावादी र स्वास्थ्य सेवीको रूपमा लिनुपर्दछ भन्नुभयो ।  

  यस कार्यक्रममा भाषा आयोगका सदस्य डा. पुष्करराज भट्टले जयपृथ्वीबहादुर सिंहको योगदानबारे चर्चा गर्नुभयो । कार्यक्रममा  कवि प्रभा भट्टराईले सम्मानित व्यक्तित्वहरूको परिचय गराउनु भयो ।
 अध्यक्ष डा. दामोदर पुडासैनी 'किशोर' , त्रिवि दर्शनशास्त्र विभाग प्रमुख डा. गोविन्द शरण उपध्याय , मानववाद र जयपृथ्वी फाउन्डेसनका अध्यक्ष मीनबहादुर सिंह एवम् पुरस्कृत र सम्मानित प्रतिभाहरूले समेत आआफ्नो  मन्तव्य राख्नुभएको  थियोे ।

नेपाल बालसाहित्य समाजका सदस्य  सुशीला प्रधानाङ्गले धन्यवाद ज्ञापन गर्नुभयो । नेपाल बालसाहित्य समाजका अध्यक्ष प्रमोद प्रधानको अध्यक्षतामा सम्पन्न भएको  कार्यक्रमको सञ्चालन  बालसाहित्य समाजका  महासचिव विजयराज आचार्यले  गर्नुभयो ।