रामचन्द्र न्यौपाने 'वनवासी' : ज्ञानक्रान्ति (महाकाव्य) र भक्तिसागर (खण्डकाव्य) एकसाथ लोकार्पित

रामचन्द्र न्यौपाने 'वनवासी' : ज्ञानक्रान्ति (महाकाव्य) र भक्तिसागर (खण्डकाव्य) एकसाथ लोकार्पित

लोकसंवाद संवाददाता  |  साहित्य  |  भदौ ९, २०८०

काठमाडौँ । कवि रामचन्द्र न्यौपाने 'वनवासी' का ज्ञानक्रान्ति (महाकाव्य) र भक्तिसागर (खण्डकाव्य)  लोकार्पण गरिएको छ  । 

सिसार साहित्य परिवारको आयोजनामा सम्पन्न सो कार्यक्रम त्रिविका उपप्राध्यापक तथा पद्मकन्या बहुमुखी क्याम्पस संस्कृत, पत्रकारिता र हिन्दी विभागका पूर्व विभागीय प्रमुख ज्ञाननिष्ठ ज्ञवालीको सभापतित्वमा सम्पन्न भएको थियो । 

महात्मा दीपकजीको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा अध्यक्ष, प्रमुख अतिथि र साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीलगायत विभिन्न व्यक्तिहरूले संयुक्त रूपमा कृतिहरुको लोकार्पण गर्नुभयो । 

दुबै लोकार्पित कृतिको समीक्षा प्रा.डा. भागवत ढकाल, कवि सीता भट्टराई र पूर्व प्रशासक कृष्णचन्द्र घिमिरेले गर्नुभयो । 

कवि रामचन्द्रका दुई कृतिबाट कवि प्रभा भट्टराई, लक्ष्मी घिमिरे र स्वस्तिक ढकालले रचना वाचन गर्नुभयो । 

कार्यक्रममा साहित्यकारहरु राधेश्याम लेकाली, विजयराज न्यौपाने, चन्द्रप्रसाद न्यौपाने, विजयध्वज थापा, राजनप्रसाद न्यौपाने, मीनप्रसाद ज्ञवालीलगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । 

प्रमुख अतिथि महात्मा दीपकजीले तत्त्वज्ञान प्राप्तिका लागि कृतिहरु सहयोगी भएको धारणा राख्नुभयो भने कृतिका सम्पादक एवं भूमिका लेखक ज्ञाननिष्ठ ज्ञवालीले सम्पादन र भूमिका लेखनको जोखिमबारे धारणा राख्नुभयो । 

कवि वनवासीले धन्यवाद ज्ञापन गर्नु भएको सो कार्यक्रमको संचालन कवि राधिका पन्तले गर्नुभएको थियो ।