ई-प्रेम

ई-प्रेम

सुरेश राई  |  साहित्य  |  भदौ १०, २०८०

यो ईश्वरबिनाको ई-शासनमा  
ई-पत्रहरूमा गफ उडाउँदै
ई-सिगेरेटको धुवाँ पिउँदै
आऊ !  हामी ई-प्रेम गरौँ 

ई-पसलबाट ई-उपहार किनेर 
कुनै ई-पुस्तकालयबाट 
ई-पुस्तक छानेर 
त्यसैमा मीठो ई-प्रेम भरेर 
तिमीलाई पठाईदिउँला
कुनै ई-हुलाकमार्फत
यतैबाट  ई-पेमेन्ट गरेर 
तिमी नि जबाफ फर्काउनु मलाई 
लहरै  मुटुको एमोजीज् भरेर 

प्रिय !
यो ई-समाज जो बन्दो छ
यो ई-सँस्कृती जो हुर्केको छ
ठीकै छ जहाँसम्म दुख्दैन 
तर जब  दुख्ने पालो आउँछ 
छाति भित्रको यही एक्ले मुटु 
एक्लै एक्लै दुख्छ
भेटिन्न कुनै अर्को ई-मुटु 
पाइन्न कुनै अर्को ई-ढुकढुकी 

त्यसैले आऊ आज वाचा गरौं 
प्रेम हामी आजको जमाना अनुसारै गरौँला 
तर यसको निर्वाह 
पुरानो युगअनुसार गरौँला 

जस्तो कि हाम्रो बाजेबोजूको प्रेम थियो 
जस्तो कि मुना मदनको माया थियो 

 

खोटाङ हाल द .कोरिया