गण्डकी प्रदेश सरकार: पोखरा उपत्यकाभित्र मिटरमा ट्याक्सी नगुडेको पाइएमा कारबाही हुने

गण्डकी प्रदेश सरकार: पोखरा उपत्यकाभित्र मिटरमा ट्याक्सी नगुडेको पाइएमा कारबाही हुने

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ ११, २०८०

कास्की ।  गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले पोखरा उपत्यकाभित्र मिटरमा ट्याक्सी नगुडेको पाइएमा कारबाही हुने बताउनुभएको छ ।

 पोखरा उद्योग वाणिज्य सङ्घद्वारा आइतबार आयोजित सवारी व्यवस्थापनका चुनौती र समाधान विषयक अन्तरक्रियामा उहाँले ट्याक्सी मिटरमा गुडे/नगुडेकोबारे कडाइका साथ अनुगमन गरिएको उल्लेख गर्नुभयो । 'मिटरमा यात्रु बोक्न तयार नहुने ट्याक्सी चालकलाई सवारी ऐनअन्तर्गत कारबाही हुन्छ, ऐनले नै न्यूनतम पाँच हजारदेखि १५ हजारसम्म जरिवाना तोकेको छ', मन्त्री जुग्जालीले भन्नुभयो, 'जस्तो सुकै दबाब र चुनौती आए पनि ट्याक्सीमा मिटर प्रणाली लागू भएरै छाड्छ ।'

    मन्त्रालयको विशेष पहलमा यही भदौ १ गतेदेखि पोखरा उपत्यकाभित्र चल्ने ट्याक्सीमा मिटर प्रणाली लागू भएको थियो । अहिले पनि कपितय ट्याक्सी चालकले मिटरमा हिँड्न आनाकानी गरिरहेको गुनासो आएको जनाउँदै उहाँले यात्रु ठग्ने ट्याक्सीलाई कारबाही गरिने बताउनुभयो । ट्राफिक प्रहरीसँगै मन्त्रालयको संयन्त्रले पनि अनुगमन गरिरहेको बताउँदै उहाँले कुनै ट्याक्सी मिटरमा गुड्न तयार नभएमा सम्बन्धित निकायमा खबर गर्न आग्रह गर्नुभयो । मन्त्रालयका पदाधिकारीसँग पटकपटकको छलफलपछि ट्याक्सी चालक मिटर प्रणालीमा हिँड्न तयार भएका थिए ।

    विसं २०७८ फागुन १ गतेदेखि लागू हुने गरी प्रदेश सरकारले भाडादर समायोजन गरे पनि लामो समयसम्म पोखराका ट्याक्सी मिटर प्रणालीमा चलेका थिएनन् । ट्याक्सीले मनपरी भाडा लिने गरेको जनाउँदै जनगुनासो उठ्दै आइरहेको थियो ।