राजेन्द्रमान डङ्गोल : नियात्रा सङ्ग्रह ‘बादलडाँडा'को  लोकार्पण

राजेन्द्रमान डङ्गोल : नियात्रा सङ्ग्रह ‘बादलडाँडा'को  लोकार्पण

लोकसंवाद संवाददाता  |  साहित्य  |  भदौ ११, २०८०

काठमाडौँ। नियात्रा कार राजेन्द्रमान डङ्गोल रचित नियात्रा सङ्ग्रह ‘बादलडाँडा'को  लोकार्पण  प्रमुख अतिथि प्रा.डा. रमेशप्रसाद  भट्टराईले गर्नुभयो ।यस अवसरमा उहाँले डङ्गोलका नियात्रामा आत्मपरक लेखनको प्रभाव , पर्यावरण संरक्षण र  स्थानीय जन जीविकाका  सवालमा नियात्रा रचिएको बताउनुभयो ।

यसैक्रममा विशिष्ट अतिथि ,नेपाल प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव तथा समालोचक डा। धनप्रसाद सुवेदीले नियात्रा कारले भूगोल, संस्कृति र समाजको सौन्दर्यलाई आत्मसात् गर्दै रचिएको  ‘बादलडाँडा’ नियात्रासङ्ग्रह  स्तरीय र पठनीय रहेको बताउनुभयो ।उहाँले चीनमा अध्यापनरत रहँदा  चिनियाँ विद्यार्थीहरूलाई  उत्कृष्ट सामग्री सिफारिस गर्न धौधौ परेको धारणा राख्दै ‘बादलडाँडा’ जस्ता कृतिले त्यस अभावलाई मेट्ने बताउनुभयो । साथै  नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञहरू रारा साहित्यिक महोत्सवमा सहभागी हुँदा जेजस्ता  टीकाटिप्पणीहरू भएपनि  त्यो  नियात्रा लेखनका लागि महत्त्वपूर्ण  साहित्यिक खुराक भएको दृष्टिकोण सबैले राख्नुपर्ने बताउनुभयो ।

 यसै सिलसिलामा कवि तथा समालोचक डा.विन्दु शर्माले नियात्रा कार  राजेन्द्रमान डङ्गोलको 'बादल डाँडा' मा यथार्थ र तथ्यपरक सूचना समेटिएको छ, घुमफिरका क्रममा स्थानीय ठाउँको  सूक्ष्म दृष्टिकोणसहित पर्यटन प्रवर्धन ,आर्थिक विकास ,  विसङ्गति ,जीविकोपार्जनको अवस्था , पर्यावरणमा आएका असर र जोखिमका बारेमा स्पष्ट पारेको देखिन्छ भन्नुभयो ।
 यसैगरी   समालोचक राम लोहनीले नियात्रा कार डङ्गोलको लेखन शैली र भाषामा परिष्कार रहेको बताउनुभयो ।  कवि तथा समालोचक आर।एम। डङ्गोलले नियात्रा कार डङ्गोलको परिचय, व्यक्तित्व र कृतित्वबारे प्रकाश पार्दै नियात्रा लेखनमा राजेन्द्रमान डङ्गोगले नयाँपन दिएको आभास हुन्छ भन्नुभयो ।
 नियात्राकार राजेन्द्रमान डङ्गोलले  लेखकका कृतिहरू सार्वजनिक  भएपछि सबैको सम्पति हुने  बताउँदै  ‘बादलडाँडा’ पाठकको  मनमस्तिष्कमा रहे मात्र नियात्राकार बाँच्न सक्छ भन्नुभयो ।  प्राडा  ऋषिराम शर्मा ,पर्यटन व्यवसायी तथा समाजसेवी आङछिरिङ शेर्पा,टानका पूर्व अध्यक्ष नवराज दाहाल र नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले  शुभकामना मन्तव्य राख्नुभयो ।

यसैगरी  गाउँ पर्यटन मञ्च (भिटोफ) का महासचिव निशेष थापाले स्वागत मन्तव्य र भिटोफका पूर्व अध्यक्ष बोधराज भण्डारीले धन्यवाद ज्ञापन गर्नुभयो ।भिटोफ नेपालका अध्यक्ष गोपाल थापाको अध्यक्षतामा सम्पन्न भएको यस कार्यक्रमको सहजीकरण कवयित्री  लक्ष्मी रूम्बाले गर्नुभयो ।