थाइल्याण्ड सर्किटमा नेपाली मोटरसाइकल दुई रेसरले भाग लिँदै

थाइल्याण्ड सर्किटमा नेपाली मोटरसाइकल दुई रेसरले भाग लिँदै

लोकसंवाद संवाददाता  |  खेलकुद  |  भदौ १४, २०८०

एसियाली मोटरसाइकल फेडेरेसन को आयोजनामा भोलि सेप्टेम्वर १ देखि ३ सम्म थाइल्याण्डमा हुने एसिया कप अफ रोड रेसिङ्ग मा भाग लिन तीन सदस्यीय नेपाली टोली आज बैङकक् तर्फ प्रस्थान गरेको छ ।

नेपाली राइडरद्वय राजकुमार कार्की (नुवाकोट) र आसिक लामा (काठमाडौँ) तथा नेपाल अटोमोवाइल्स एसोसिएसनका सचिव विनोद तन्दुकार अफिसियलको रुपमा त्यस तर्फ प्रस्थान गर्नु भएको हो । 

राष्ट्रिय खेलकुद परिषदका कार्यकारी बोर्ड सदस्य एकेन्द्र कुवँर , एफआइए वल्र्ड काउन्सिल मेम्बर गोबिन्द भट्टराई, नेपाल अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष दसरथ रिसाल तथा उपाध्यक्ष तथा मोटरसाइकल कमिसनका प्रमुख सिताराम न्यौपानेले नेपाली टोलीलाई आज बिदाइ गर्नुभएको  । 

थाइल्याण्ड सर्किट (नाखोन्चाइसी) ट्रयाकमा हुने २०० सिसिका मोटरसाइकलको सो रेसमा एसिया महादेशका आठवटा देशका राइडर्सले आफ्नो साहस, सृजना र कला प्रस्तुत गर्नेछन् । २५०० मिटर लम्बाई र १२ देखि १५ मिटर चौढाईको उक्त ट्रयाकमा ६ वटा दाया मोड, ४ वटा बाया मोड तथा २ वटा स्लालम टाइपका मोडहरु रहने छन् । नेपाल सहित सो प्रतियोगितामा जापान, भारत, थाइल्याड, फिलिपिन्स, श्रीलंका, ताइवान र चीनका राइडर्सको सहभागिता रहने  नेपाल अटोमोबाइल्स एसोसिएसनले जनाएको छ ।