जनैपूर्णिमाको अवसरमा भुलभुले दूधकुण्ड, साप्सुढाप र बराहपोखरी सांस्कृतिक मेला

जनैपूर्णिमाको अवसरमा  भुलभुले दूधकुण्ड, साप्सुढाप र बराहपोखरी सांस्कृतिक  मेला

लोकसंवाद संवाददाता  |  पर्यटन  |  भदौ १५, २०८०

खोटाङ ।  जनैपूर्णिमाको अवसरमा जिल्लाका धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थलमा धार्मिक एवं सांस्कृतिक मेला लागेको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको भालुखोला, वडा नं.–६ नेर्पाको भुलभुले दूधकुण्ड, वडा नं ९ निर्मलीडाँडाको साप्सुढाप र बराहपोखरी गाउँपालिका–१ बराह पोखरीमा धार्मिक एवं सांस्कृतिक मेला लागेको हो ।

ऋषितर्पणी एवं जनैपूर्णिमाको अवसरमा लाग्ने उक्त मेला भर्न तथा दर्शन गर्न जिल्लाका विभिन्न ठाउँका स्थानीय पुगेका छन् । खेतीपातीको काम सकिएपछि देउधाममा सांस्कृतिक मेला लाग्ने भएकाले पूजाआजा गर्नेको भीड हुने गरेको स्थानीयले बताएका छन् । 

किरात र हिन्दू धर्मावलम्बीको धार्मिकस्थलका रुपमा रहेको भुलभुले दूधकुण्डमा शिव, गणेश, बुढानिलकण्ठ, तीन कन्यदेवी, सिद्धसिकारी र यलम्बरको पूजाआजा गर्नका लागि आन्तरिक तथा बाह्य दर्शनार्थी आउने गरेका मेला व्यवस्थापन समितिले जनाएको छ । चिताएको मनोकाङ्क्षा पूरा हुने विश्वासमा भाकल गर्ने र दर्शन गर्नेको घुइँचो लाग्ने गरेको छ ।

    पछिल्लो समयमा आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य थलो बनेको दूधकुण्डमा दशनार्थी दिनभर ढोल, ढ्याङ्ग्रो र झ्याम्टा बजाउँदै धामी नाच्ने गर्दछन् । मेलामा धामीका साथमा आएका आफन्तले धामी÷झाँक्रीसँगै गीत गाउँदै र नाच्दै रमाइलो गरेको दृश्य अवलोकन गर्ने दर्शकको पनि भीड हुने गरेको पुजारी दीर्घराज राईले बताउनुभयो ।

    परापूर्वकालदेखि जलकन्य देवीको पूजाआजा गरिँदै आइएको भालुखोलामा धामी÷झाँक्रीले गीत तथा ढोल, ढ्याङ्ग्रो र झ्याम्टाको आवाजमा नाच्ने गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार प्रचारप्रसारको अभावमा ओझेलमा परेको भालुखोलामा धार्मिक पर्यटन प्रवर्द्धनका लागि विसं २०४५ मा देवस्थलका रुपमा विकास गरिएको हो । 

    ऋषितर्पणी पूर्णिमाको अवसर पारेर धार्मिक तथा पर्यटकीयस्थल साप्सुढापमा पनि मेला लागेको स्थानीय एवं नेकपा ९माओवादी केन्द्र० का युवा नेता मिलनचन्द्र राईले जानकारी दिनुभयो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको लगानीमा स्तरोन्नति गरिएको यस क्षेत्रमा विशेष गरी खोला तथा सिद्धसिकारीको पूजा गर्दै धामी÷झाँक्रीले शक्ति आर्जनका लागि प्रार्थना गर्ने गरेका उहाँले जानकारी दिनुभयो ।  

    साप्सुढापमा लाग्ने मेलामा खोटाङसँगै छिमेकी जिल्ला भोजपुरका स्थानीय बासिन्दासमेत आउने गरेका छन् । एकदिने मेलालाई व्यवस्थित गर्न वडा कार्यालयको संयोजनमा स्वयंसेवकसमेत परिचालन गरिएको वडाध्यक्ष दिनेश कठेतले बताउनुभयो । 

    जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारदेखि १६ कोष दक्षिणमा पर्ने बराहपोखरीमा पनि आज सांस्कृतिक मेला लागेको छ । मेला भर्न जिल्लाका स्थानीय तहका साथै उदयपुर, भोजपुर, धनकुटा, ईलाम, ओखलढुङ्गा, सोलुखुम्बू, सुनसरी, सप्तरी, सिरहा तथा भारत, चीन, भुटान लगायतबाट दर्शनार्थी एवं भक्तजन आउने गरेका जिल्ला सुरक्षा समितिले जनाएको छ ।

 परापूर्वकालमा एउटा घरको अगेनोबाट माछा निस्किएपछि त्यसलाई पोलेर खाँदा त्यहाँबाट पानी निस्किएर १२ घरमगर बस्ती डुबेर बनेको ताल भएकाले यसलाई बराहपोखरी भनिएको किम्बदन्ती छ । तीन सय ३० मिटर लम्बाइ र दुई सय १० मिटर चौडाइ भएको यो पोखरीमा हरेक वर्षको ऋषितर्पणी पूर्णिमा, हरिवोधनी एकादसी, रामनवमी, बालाचर्तुदशी, हरितालिका तिजलगायत पर्वमा ठूलो मेला लाग्दछ ।

    मेलामा हुन सक्ने आपराधिक घटनालाई न्यूनीकरण गर्न इलाका प्रहरी कार्यालय चिसापानीबाट प्रहरी निरीक्षकको नेतृत्वमा सुरक्षाकर्मीको टोली खटाइएको जिल्ला सुरक्षा समितिले जनाएको छ । जिल्लामा लाग्ने धार्मिक तथा सांस्कृतिक मेलालाई प्रवर्द्धन गर्न स्थानीय तहले सहयोग गर्दै आएका छन् । रासस