जनैपूर्णिमाको अवसर पारेर नेपाली चलचित्र ‘ऐँचो पैँचो’ र ‘गणपति’ एकै पटक प्रदर्शनमा

जनैपूर्णिमाको अवसर पारेर नेपाली चलचित्र ‘ऐँचो पैँचो’ र ‘गणपति’ एकै पटक प्रदर्शनमा

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  भदौ १५, २०८०

काठमाडौँ ।  परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ सँगै रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) को अवसर पारेर दुई नयाँ चलचित्र ‘ऐँचो पैँचो’ र ‘गणपति’ प्रदर्शन भएको छ । शुक्रबार नयाँ चलचित्र प्रदर्शन गर्ने गरिए पनि चाडपर्वका कारण एक दिन अगाडी नै यी चलचित्र प्रदर्शन भएका हुन् । 

राजनीतिलाई पृष्ठभूमि बनाएर तयार गरिएको चलचित्र ‘ऐँचो पैँचो’ लाई कृषा चौलागाईंले निर्देशन गर्नुभएको छ । यद्यपि चलचित्र पूर्णरुपमा राजनीतिमै केन्द्रित नरहेको निर्देशक चौलागाईंले बताउनुभयो । 'हाम्रो दैनिक जीवन जसरी राजनीतिबाट टाढा छैन, त्यसरी नै चलचित्रका पात्र जोडिएका हुन् । यद्यपि यसमा सामाजिक विषयवस्तु नै छ । प्रचार सामग्री हेर्दा त्यस्तो भने लाग्न सक्छ', निर्देशक चौलागाईंले भन्नुभयो । 

चलचित्रमा अभिनय गर्नुभएकी अभिनेत्री स्वस्तिमा खड्काले राजनीतिज्ञको भूमिका निर्वाह गर्नुभएको छ । राजनीतिलाई पेसा बनाउनेप्रति व्यङ्ग्य गर्ने प्रवृत्ति रहेको भन्दै खड्काले चलचित्रले उठाएको विषयवस्तु समाजसँग जोडिएको बताउनुभयो । 

केपी फिल्मस्को ब्यानरमा निर्माण भएको उक्त चलचित्रमा कोसिस क्षेत्री, सुशील सिटौला, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रवीन्द्र झा, सरिता गिरी, विशाल पहारीलगायत कलाकारले अभिनय गर्नुभएको छ ।

भदौ १४ देखि प्रदर्शन भएको अर्को चलचित्र ‘गणपति’ लाई सविन अधिकारीले निर्देशन गर्नुभएको छ । उहाँकै लेखन रहेको चलचित्रमा निःसन्तान दम्पतिलाई भगवान गणेशजस्तो स्वरुपको पुत्र लाभ भएपछि आइपर्ने विविध परिस्थितिलाई प्रस्तुत गरिएको छ ।

चलचित्रमा मुुकुन भुसाल,मेनुका प्रधान,राजाराम पौडेल,सूर्यमाला खनाल,स्व।जयनन्द लामा,सुशील पोखरेल,प्रकाश घिमीरे, पुस्कर गुरुङलगायतका कलाकारले अभिनय गर्नुभएको छ । अभिनेता भुसालले चलचित्रमार्फत समाजको विकृतिलाई व्यङ्ग्य गरिएको बताउनुभयो । 

उहाँले भन्नुभयो,'यो केही फरक रुपमा तयार भएको छ । यसमा अभिनय गर्दा पात्रमै रहेर केही समय विताएको थिएँ ।'

चलचित्रमा हरिबहादुर घलेले छायाङ्कन , विपिन मल्लले सम्पादन, कविराज गहतराजले नृत्य निर्देशन गर्नुभएको छ ।