भारतविरुद्ध नेपाल : प्रतिद्वन्द्वीता भन्दा व्यग्रता बढी,  दुवैका लागि ‘गर वा मर’ को अवस्था !

लोकसंवाद टिप्पणी

भारतविरुद्ध नेपाल : प्रतिद्वन्द्वीता भन्दा व्यग्रता बढी,  दुवैका लागि ‘गर वा मर’ को अवस्था !

लोकसंवाद संवाददाता  |  खेलकुद  |  भदौ १८, २०८०

विश्व क्रिकेटमा निकै सफल टोली मानिन्छ,भारत । बलिङ र ब्याटिङ दुवैमा कुनै पनि बेला खेलको नतिजा उल्टाउने क्षमता भारतीय क्रिकेटरहरुले राख्छन् । भारतीय क्रिकेट र क्रिकेटर माथिको लगानी पनि निकै ठूलो छ । एक दिवसीय वरीयता क्रममा भारत तेस्रो नम्बरमा छ । 

अर्कोतिर एसोसिएट्स राष्ट्रमध्ये प्रभावशाली नेपाल टेस्ट राष्ट्रसँग भने अझै पहिलो जितको खोजीमा छ । यसै वर्षमात्रै एक दिवसीय मान्यता जोगाउन कठिन संघर्ष गरेको नेपालको क्रिकेट र क्रिकेट माथिको लगानी निकै सानो छ । नेपाल विश्वको एक दिवसीय वरीयतामा १५औं स्थानमा छ । नेपालले सिनियर टिममा भारतविरुद्ध खेल्न लागेको पहिलो अवसर पनि हो । त्यसैले नेपालले भारतविरुद्ध प्रतिस्पर्धा गर्न लागेको क्षणलाई निकै उत्साहका साथ हेरिएको छ । 

यो खेलमा ऐतिहासिक जित हात पार्दै ‘सुपर फोर’ मा प्रवेश गर्ने दुवै टोलीको दाउ छ । अहिलेसम्म टेस्ट राष्ट्रविरुद्ध जित हात पार्न नसकेको नेपाल पहिलो सिकार भारतलाई बनाउन चाहन्छ । पाकिस्तान सुपर फोरमा पुगिसकेका कारण अब नेपाल र भारतमध्ये एक टोलीले अन्तिम चारमा स्थान पाउनेछ । ६ टोली सहभागी प्रतियोगितामा दुवै समूहबाट शीर्ष दुई–दुई टोली सुपर फोरमा पुग्नेछन् । त्यसैले सोमबारको खेल नेपाल र भारत दुवैका लागि ‘गर वा मर’ को अवस्थामा छ । तर यो खेल वर्षाले प्रभावित पार्नसक्ने सम्भावना प्रबल रहेको मौसमविदहरुले जनाएका छन् । 

मौसम विभागका अनुसार, केन्डीस्थित पालेकेल अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला क्षेत्रमा सोमबार बिहान वर्षाको सम्भावना ६० प्रतिशत छ । यदि सोमबार बिहानै भारी वर्षा भएको अवस्थामा आउट फिल्ड सुक्न समय लाग्नेछ । नेपाल र भारतबीचको खेल नेपाली समयअनुसार, ३: १५ बजे सुरु हुनेछ । 

एक दिवसीय वरियताको पहिलो नम्बरमा रहेको टोली पाकिस्तान विरुद्धको खेलसँगै नेपालले आफ्ना कमजोरी थाहा पाएकाले पनि भारत विरुद्धको खेलमा त्यसलाई सुधार गरेर आफू अनुकूल रणनीति बनाउन सक्नेछ । भारतविरुद्ध कसिलो बलिङ, चुस्त फिल्डिङ र ठूलो पार्टनरसिप हुनबाट रोक्दै विकेट निकाल्नुपर्नेछ भने ब्याटिङमा पनि केही बलिया साझेदारी सहित ५० ओभर सम्म टिक्न सक्नुपर्नेछ ।

यो खेलको टस हुने समय २:४५ देखि साँझ ६ बजेसम्म वर्षाको सम्भावना २२ प्रतिशत र साँझ ६ बजेपछि वर्षाको सम्भावना ६६ प्रतिशत पुग्ने मौसम विभागले जनाएको छ ।

त्यसैले मौसममा नाटकीय परिवर्तन नभएमा खेलको दोस्रो इनिङ वर्षाका कारण बिथोलिने सम्भावना बढी छ । भारतसँगको खेल रद्द भएको अवस्थामा नेपाल समूह चरणबाटै बाहिरिनेछ भने भारत २ अंकसहित ‘सुपर फोर’ मा पुग्नेछ । समूह चरणको पहिलो खेल पनि वर्षाका कारण रद्द भएपछि भारतले १ अंक जोडेको छ । भारतविरुद्धको खेलमा नेपालले बलियो आत्मविश्वाससहित मैदान उत्रिनुपर्नेछ । त्यसमाथि पनि भारतविरुद्धको खेलमा दर्शकहरुको उत्साह र रोमाञ्चकता पाकिस्तान सँगको खेलमा भन्दा बढी हुनेछ ।

एक दिवसीय वरियताको पहिलो नम्बरमा रहेको टोली पाकिस्तान विरुद्धको खेलसँगै नेपालले आफ्ना कमजोरी थाहा पाएकाले पनि भारत विरुद्धको खेलमा त्यसलाई सुधार गरेर आफू अनुकूल रणनीति बनाउन सक्नेछ । भारतविरुद्ध कसिलो बलिङ, चुस्त फिल्डिङ र ठूलो पार्टनरसिप हुनबाट रोक्दै विकेट निकाल्नुपर्नेछ भने ब्याटिङमा पनि केही बलिया साझेदारी सहित ५० ओभर सम्म टिक्न सक्नुपर्नेछ ।

पाकिस्तान विरुद्धको खेलमा नेपालले २३८ रनको फराकिलो हार बेहोर्‍यो । जुन नेपालले एक दिवसीय क्रिकेटमा भोगेको अहिलेसम्मकै ठूलो हार हो । जुन खेलमा नेपालको ब्याटिङ लाइन पूर्णतः फ्लप भयो । नेपालले एक दिवसीयको शीर्ष वरीयतामा रहेको पाकिस्तानविरुद्ध ४० ओभरसम्म सम्हालिएको प्रदर्शन गरे पनि त्यसपछि भने अनुभवी पाकिस्तानी खेलाडीसामू निकै निरीह देखियो । सोही कारण नै नेपालविरुद्ध पाकिस्तान ३४२ रनको विशाल योगफल बनाउन सफल भयो । पाकिस्तानविरुद्ध नेपाली फिल्डरहरुले पटक पटक गल्ती दोहोर्‍याए भने समयमा विकेट लिन पनि सकेनन् । जसको परिणाम नेपालले खेलमाथिको नियन्त्रण गुमायो । 

भारत र पाकिस्तान दुवैका लागि नेपाली टोली बलियो प्रतिद्वन्द्वी होइन । भारत पाकिस्तानसँग नेपाली क्रिकेटको लगानी र प्रतिफल दुवै तुलना नहुने विषय हुन् । नेपालका तीव्र गतिका बलरहरूको उच्चतम बलिङको गति १३५ किमी प्रतिघण्टा हो । जबकि त्यो भारतीय खेलाडीहरूको सामान्य गति हो । उनीहरू औसतमा प्रतिघण्टा १५० किमीको गतिमा बलिङ गर्छन् । अर्थात जहाँबाट नेपाली बलरको तीव्र गतिको बलिङ सीमा समाप्त हुन्छ, उनीहरूको सुरु हुन्छ ।

भारतीय टोलीमा अन्तर्राष्ट्रिय खेलमा १० हजार रन पुरा गरिसकेका खेलाडीहरू छन् भने नेपाली टोलीमा १० अन्तर्राष्ट्रिय एकदिवसीय नखेलेका खेलाडीहरू समेत छन् । भारतका पूर्व कप्तान विराट कोहली १३ हजार रन निकट पुगेका छन् भने नेपालका कुशल भुर्तेलको हालसम्म ९९४ रनमात्रै बनाएका छन् । 

त्यस्तै भारतीय कप्तान रोहित शर्माले ९ हजार ८४८ रन बनाएका छन् भने नेपाली कप्तान रोहित पौडेलले १ हजार ४६९ रन मात्रै बनाएका छन् । भारतीय कप्तान रोहितले २४५ एक दिवसीय खेलिसकेका छन् भने नेपाली कप्तान रोहितले ५३ एक दिवसीय खेल मात्रै खेलेका छन् । यद्यपि भारतविरुद्धको खेल नेपालीका लागि नै सबैभन्दा बढी बहुप्रतिक्षित बनेको छ ।