राष्ट्रपति पुटिन र किम जोङको भेट: राजनीतिक र कूटनीतिक गठबन्धन निर्माणमा नयाँ ‘ब्रेक थ्रु’

राष्ट्रपति पुटिन र किम जोङको भेट: राजनीतिक र कूटनीतिक गठबन्धन निर्माणमा नयाँ ‘ब्रेक थ्रु’

लोकसंवाद संवाददाता  |  विदेश  |  भदौ २०, २०८०

नेपालीमा एउटा असाध्यै घतलाग्दो भनाई छ– दुई हात्तीले प्रेम गरे पनि र कुस्ती खेले पनि माडिने फूलबारी हो ।’ विश्व राजनीतिमा पटक पटक यस्ता घटना देखिन सुरु गरेका छन् ।

विश्वका महाशक्ति बीचको मिलाप र झगडा दुवैका साना राष्ट्रहरु पिल्सिनु र माडिनु नियति नै बन्ने गरको छ  । दोस्रो विश्वयुद्धका क्रममा सोभियत संघ र पश्चिमा शक्तिले मिलेरै युरोपलाई आफ्नो शक्तिका अधि झुक्न बाध्य बनाए भने दोस्रो विश्वयुद्धपछि अमेरिका र सोभियत संघबीच कोरियामा शक्ति प्रदर्शन गरे । सिरियामा पनि त्यस्तै घटना दोहोरियो । 

उत्तर कोरियाले परमाणु हतियार निर्माणलाई तीव्र पारेपछि अमेरिकी चाहनामा रुस र चीनको सहयोगबाट उत्तर कोरियामाथि कडा प्रतिबन्ध लाग्यो र उसले अत्यावश्यक वस्तुहरु किन्न समेत पाएन । आज परिस्थितिमा भने बदलाव आएको छ ।

आफैंले प्रतिबन्ध लगाउन साथ दिएको उत्तर कोरियासँग हतियार किन्ने अवस्थामा रुस आइपुगेको छ  भने रुसी रक्षा मन्त्रीले प्योङयाङ भ्रमण गरेको केही समयपछि नै उत्तर कोरियाली नेता किम जोङ उन रुस भ्रमणमा जाने भएका छन् । उत्तर कोरियाली नेता किम यसै महिना रुस यात्रामा निस्कन लागेको बताइएको छ ।

जुन भ्रमणमा दुई नेताबीच जारी युक्रेन युद्धमा रुसलाई सघाउन उत्तर कोरियाले हतियार दिन सक्ने सम्भावनाबारे छलफल हुने अनुमान गरिएको छ । उनीहरुबीच कहाँ भेट हुन्छ भन्नेबारेमा स्पष्ट नभए पनि दुई नेताबीच रुसी भूमिमा छलफल हुनेछ । 

यो विषयमा उत्तर कोरिया र रुसले आधिकारिक रुपमा कुनै प्रतिक्रिया दिएका छैनन् । 

न्यूयोर्क टाइम्सले स्रोतहरूलाई उद्धृत गर्दै किम जोङ उनले अस्त्रले जडित बख्तर बन्द रेलबाट यात्रा गर्ने धेरै सम्भावना रहेको बताएको छ । उत्तर कोरियाको सुदूर उत्तरपूर्वी क्षेत्रको सिमाना रुससँग जोडिएको छ । युक्रेन युद्ध लम्बिरहँदा रुस र उत्तर कोरियाबीच हतियार सम्झौताको तयारी भइरहेको समाचार बाहिर आइरहँदा किमको सम्भावित रुस भ्रमणलाई अर्थपूर्ण रुपमा हेर्न र लिन थालिएको छ । 

किमले पनि रुसको अहिलेको परिस्थितिको आकलन गरी रुससँग अत्याधुनिक अस्त्र प्रविधि वा ज्ञान माग्न सक्छन् । यस्तो अवस्थामा उत्तर कोरियाको परमाणु कार्यक्रममा महत्वपूर्ण प्रगति मात्र फड्को मार्ने रणनीतिमा छ  ।

अमेरिकी राष्ट्रिय सुरक्षा परिषदका प्रवक्ता जोन किर्बीले रुसी रक्षामन्त्री सेर्गेइ शोइगुले उत्तर कोरिया भ्रमणमा प्योङयाङलाई हतियार बेच्न मनाउने कोशिस गरेको बताएका छन् । शोइगुको भ्रमणका क्रममा उत्तर कोरियाले अन्तर महादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र ह्वासङ प्रदर्शन गरेको थियो । उक्त अस्त्रलाई ठोस प्रोपेलेन्ट प्रयोग गर्ने उत्तर कोरियाको पहिलो अन्तर महादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र (आइसीबीएम) मानिन्छ । कोरोना महामारीपछि उत्तर कोरिया पुग्ने उनी पहिलो विदेशी पाहुना थिए । 

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ उनले शोइगुको भ्रमणयता पत्र आदानप्रदान गर्दै द्विपक्षीय सहयोग बढाउने वाचा गरेका छन् । उता अमेरिकाले भने उत्तर कोरियालाई रुससँग अस्त्र वार्ता बन्द गर्न आग्रह गर्दै रुसलाई अस्त्र दिने वा बेच्ने काम नगर्न अनुरोध गरेको छ ।

युक्रेनले युद्धका क्रममा अमेरिका र युरोपेली देशबाट ठूलो मात्रामा हतियार आपूर्ति गरेर रुस विरुद्ध प्रयोग गरिरहेका बेला रुसले पनि आफ्ना सहयोगी देशसँग हतियार आपूर्तिको योजना बनाएको हो । 

तर उत्तर कोरियाले रुसलाई अस्त्र दिएमा अमेरिकाले आर्थिक प्रतिबन्ध लगायतका कारबाही गर्ने अमेरिकाले चेतावनी दिएको छ । जुन पहिलेदेखि नै लाग्दै आएको प्रतिबन्धको अर्को चरण मात्र  हो । 

अमेरिका र राष्ट्रसंघले प्रतिबन्ध लगाएपछि उत्तर कोरियाले लामो समयदेखि खाद्य संकटको सामना गरिरहेको छ । आयात प्रतिबन्ध लगाउँदै उत्तर कोरियाली अर्थतन्त्र ध्वस्त पार्ने रणनीति पूर्ण रुपमा सफल भने हुन सकेको छैन । तर उत्तर कोरियाले केही वर्षदेखि खाद्य संकटको सामना गर्नुपरेका खबरहरु आइरहेका छन् । त्यसैले यो वार्ताका क्रममा उत्तर कोरियाले हतियार दिएको बदलामा उत्तर कोरियाले खाद्यान्नसहित अत्यावश्यक वस्तु आपूर्ति गर्न चाहेको छ । 

सोमवार मात्रै दक्षिण कोरियाको गुप्तचर निकायले शोइगुले रुस, चीन र उत्तर कोरियाले पनि अमेरिका, जापान र दक्षिण कोरियाले जस्तै संयुक्त नौ सैनिक अभ्यास गर्नुपर्ने प्रस्ताव राखेको जनाएको छ । अर्को डर भनेको रुसले उत्तर कोरियालाई आवश्यक परेको खण्डमा जतिबेला पनि अस्त्र दिन सक्नेतर्फ देखिएको छ । त्यतिमात्रै होइन, अमेरिकाले युक्रेन र अन्य युरोपेली देशहरुलाई दिएजस्तै रुसले पनि महत्वपूर्ण हतियार प्रविधि उत्तर कोरियालाई दिनसक्छ ।

किमले पनि रुसको अहिलेको परिस्थितिको आकलन गरी रुससँग अत्याधुनिक अस्त्र प्रविधि वा ज्ञान माग्न सक्छन् । यस्तो अवस्थामा उत्तर कोरियाको परमाणु कार्यक्रममा महत्वपूर्ण प्रगति मात्र फड्को मार्ने रणनीतिमा छ  ।

यद्यपि यतिबेला रुसलाई हतियार र उत्तर कोरियालाई खाद्यान्न र आर्थिक सहायताको आवश्यकता छ । त्यसैले सोही विषयमा छलफल केन्द्रित हुने सम्भावना पनि छ । सम्भवतः रुसको पूर्वी तटीय बन्दरगाह सहर भ्लादिभोस्तोकमा हुनसक्ने दुई नेताको भेटले यो क्षेत्रको राजनीतिक र कूटनीतिक गठबन्धन निर्माणमा नयाँ ‘ब्रेक थ्रु’ गर्ने अनुमान लगाइएको छ । तर शक्ति राष्ट्रहरु बीचको यो घम्साघम्सी मा कसको फूलबारी माडिन्छ त्यो चाहि समयले नै बताउने छ ।