छन्द–साधना पुरस्कार–२०८० बाट भुवनहरि सिग्देल र कविराज पौडेललाई पुरस्कृत गरिने घोषणा

छन्द–साधना पुरस्कार–२०८० बाट भुवनहरि सिग्देल र कविराज पौडेललाई पुरस्कृत गरिने घोषणा

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ २२, २०८०

काठमाडौँ । छन्द–साधना पुरस्कार–२०८० बाट वरिष्ठ कवि भुवनहरि सिग्देल र खर युवाकवि कविराज पौडेल पुरस्कृत गरिने घोषणा गरिएको छ । 

नेपाली छन्दकविता साधनामा सक्रिय दुई पुस्ताका छन्दसाधकहरूलाई जोड्ने उद्देश्यले ज्येष्ठ पुस्ता र युवा पुस्तालाई एकै ठाउँमा राखेर सम्मान गर्ने अभियानअन्तर्गत २०८० सालको ‘विशिष्ट छन्दसाधना पुरस्कार’ वरिष्ठ कवि भुवनहरि सिग्देल (काठमाडौँ) लाई र ‘छन्दसाधना युवा प्रतिभा पुरस्कार’ प्रखर युवाकवि कविराज पौडेल (रूपन्देही) लाई प्रदान गरिने घोषणा गरिएको  हो । 

नगद रु. २५ हजार र प्रमाणपत्र रहेको ‘विशिष्ट छन्दसाधना पुरस्कार’ र १५ हजार र प्रमाणपत्र रहेको ‘छन्दसाधना युवा प्रतिभा पुरस्कार’को रकममा यस वर्षदेखि वृद्धि गरी क्रमशः ४०हजार  र २० हजार  बनाइएको कुरा पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नेपाली छन्दकवितामा स्तरीकरण तथा मानकीकरण अभियानको घोषणासहित कविद्वय प्रा.डा. रामप्रसाद ज्ञवाली र प्रा.डा. देवी नेपालबाट सञ्चालित ‘छन्द–तरङ्ग’ले एक विज्ञप्तिमार्फत यस वर्षको ‘छन्दसाधना पुरस्कार’ घोषणा गरेको छ । २०७६ सालदेखि हरेक वर्ष छन्द कविताका एक जना विशिष्ट साधकलाई प्रदान गरिँदै आएको विशिष्ट छन्दसाधना पुरस्कार र २०७९ सालदेखि चालिस वर्षभित्रका एक जना युवाकविलाई प्रदान गरिँदै आएको ‘छन्दसाधना युवा प्रतिभा पुरस्कार’को घोषणा  गरिएको हो ।

घोषणा अनुसार नेपाली छन्दकविता साधनामा सक्रिय दुई पुस्ताका छन्दसाधकहरूलाई जोड्ने उद्देश्यले ज्येष्ठ पुस्ता र युवा पुस्तालाई एकै ठाउँमा राखेर सम्मान गर्ने अभियानअन्तर्गत २०८० सालको ‘विशिष्ट छन्दसाधना पुरस्कार’ वरिष्ठ कवि भुवनहरि सिग्देल (काठमाडौँ) लाई र ‘छन्दसाधना युवा प्रतिभा पुरस्कार’ प्रखर युवाकवि कविराज पौडेल (रूपन्देही) लाई प्रदान गरिने भएको छ ।उक्त विशिष्ट छन्दसाधना पुरस्कारबाट यसअघि नै विशिष्ट छन्दसाधकहरू रमेश खकुरेल, चन्द्रप्रसाद न्यौपाने, प्रा. घनश्याम कँडेल र रामचन्द्र भट्टराई पुरस्कृत भइसक्नुभएको छ भने छन्दसाधना युवा प्रतिभा पुरस्कारबाट युवाकवि सुदेश सत्याल पुरस्कृत भइसक्नुभएको छ ।

नेपाली कविताको इतिहासमा विगत लामो समयदेखि शास्त्रीय छन्दको विकास, विस्तार, परिष्कार तथा मानवीकरणका लागि अहोरात्र समर्पित भई नेपाली छन्द कविताको उन्नयनमा अतुलनीय योगदान दिएबापत वरिष्ठ कवि सिग्देललाई विशिष्ट छन्द साधना पुरस्कार प्रदान गरिएको हो । वि.सं. २००७ जेठ ५ गते दहचोक, काठमाडौँमा जन्मिएर २०५० को दशकबाट अत्यन्त तीव्र गतिमा कविता–काव्यको सिर्जनामा लाग्नुभएका सिग्देलका ‘आर्तनाद’ (२०५४), खाते (२०५५), कानी (२०५५) लगायतका दवटटा खण्डकाव्य, ‘धरणीधर’ (२०५५), ‘मेनुका’ (२०५६) लगायतका पाँचओटा महाकाव्य, विभिन्न कवितासङ्ग्रह, कथासङ्ग्रह, उपन्यास, संस्मरण, बालसाहित्य आदि क्षेत्रका ३६ वटा साहित्यिक कृतिहरू प्रकाशित छन् । सिग्देलका छन्द कविताहरू कलासौन्दर्य र परिष्कृति शिल्पकारिताका दृष्टिले उच्चकोटिका मानिन्छन् । 

यसरी नै वि.सं. २०४० भदौ १२ गते रापाकोट, स्याङ्जामा जन्मिएर २०६० को दशकबाट सिर्जना यात्रामा सक्रिय र रूपन्देहीमा ‘छन्दवादी समाज नेपाल’जस्तो संस्था नै स्थापना गरेर झन्डै दुई दशकदेखि छन्दकविताको साधनामा समर्पित रही ‘चित्रविचित्र’ (२०६२), घाइते राष्ट्र (२०७०) जस्ता छन्दोबद्ध कविता सङ्ग्रह र रूपसी (२०६३), कैदी (२०६५) र छाया छवि (२०६९) जस्ता छन्दोबद्ध खण्डकाव्यका साथै सयौँ फुटकर कविताका माध्यमबाट सशक्त सिर्जना क्षमता, युगीन यथार्थमूलक वैचारिक सम्प्रेषण, जीवन्त वाचन कला, छन्दसम्बद्ध राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्गठन निर्माण, पिङ्गल छन्द र अङ्ग्रेजी छन्दविधानसम्बन्धी प्राज्ञिक अनुसन्धान र विभिन्न प्रशिक्षणका माध्यमबाट नयाँ पुस्तालाई छन्दकविताप्रति आकर्षण प्रदान गर्ने कार्यमा अतुलनीय योगदान दिएबापत युवाकवि कविराज पौडेललाई छन्दसाधना युवा प्रतिभा पुरस्कार प्रदान गरिएको हो । कवि पौडेलले पूर्वीय जगत्को पिङ्गल छन्द र पाश्चात्य जगत्को छन्दविधानका समानता र भिन्नताहरूको गहन अध्ययन र अनुसन्धान गरी आधिकारिक रूपमा सामग्रीहरूको प्रकाशन र प्रसारण गर्ने कार्यमा समेत आफूलाई समर्पित गर्दै आउनुभएको छ ।

उक्त दुवै पुरस्कार निकट भविष्यमा एक विशेष कार्यक्रमको आयोजना गरी प्रदान गरिने कुरा छन्द–तरङ्गबाट प्रेषित विज्ञप्तिमा उल्लेख गरिएको छ । विगत पाँच वर्षअगाडि २०७५ भदौ २२ गतेबाट काठमाडौँको वानेश्वर थापागाउँमा रहेको लेखन कुञ्जमा हरेक महिनाको तेस्रो शुक्रवार फरक फरक पुस्ताका तीन जना कविका पाँच पाँचोवटा कविता प्रस्तुत गर्ने गरी सञ्चालन हुँदै आएको नेपाली कविताको इतिहासमा नै ऐतिहासिक महत्त्व राख्ने सशुल्क छन्दकविता श्रवणको मासिक कार्यक्रम १९ औँ शृङ्खलासम्म अनवरत रूपमा सञ्चालन भएर विश्वव्यापी महामारीका रूपमा फैलिएको कोराना भाइरस (कोभिड–१९) का कारण २०७६ चैत्र महिनादेखि स्थगित भए पनि पुरस्कारलाई भने निरन्तरता दिएको कुराको जानकारी छन्द–तरङ्गका संयोजक द्वयमध्येका एक प्रा.डा. देवी नेपालले दिनुभएको छ ।