नास्टद्वरा विज्ञान, प्रविधि र प्राकृतिका बारेमा खोज गर्ने २० जना पुरस्कृत

नास्टद्वरा विज्ञान, प्रविधि र प्राकृतिका बारेमा खोज गर्ने २० जना पुरस्कृत

लोकसंवाद संवाददाता  |  ज्ञानविज्ञान  |  जेठ २२, २०७६

ललितपुर । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले विज्ञान, प्रविधि र प्राकृतिक क्षेत्रको खोज, अध्ययन र अनुसन्धानमा योगदान पुर्‍याउनु हुने २० जना वैज्ञानिक, प्राध्यापक र विद्यार्थीलाई विभिन्न १० विधामा पुरस्कृत गरेको छ । 

नास्टद्वारा ललितपुरको खुमल्टारमा २०७६साल जेठ २१ गते मंगलबार आयोजित विशेष समारोहमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले उहाँहरुलाई पुरस्कृत गर्नु भएको हो । मन्त्री पोखरेलले पुरस्कारले विज्ञानको क्षेत्रमा खोज अनुसन्धानका लागि हौसला मिल्ने बताउँदै वैज्ञानिक खोज र अनुसन्धानमा नास्टले महत्वपूर्ण भूमिका खेलेको स्मरण गर्नुभयो । ‘अब नेपालमा टायर बाल्ने होइन, टायरबाट तेल उत्पादन गर्ने जनशक्तिको उत्पादन गर्नुपर्छ’, मन्त्री पोखरेलको भनाइ थियो–‘सरकारले विज्ञान क्षेत्रमा थप योगदान पुर्‍याउन साइन्स म्युजियमको स्थापना गर्ने योजना अघि बढाएको छ ।’
 नेपालमा पहिलो पटक इमेल सेवा भित्राउनेदेखि नेपालमा पहिलो पटक भू–उपग्रह प्रक्षेपण गर्ने काम नास्टले गरेको उपकुलपति डा. सुनिलबाबु श्रेष्ठले जानकारी दिनुभयो । 

नेपालको वन तथा जैविक विविधताको संरक्षणमा योगदान गरेको भन्दै सामुदायिक वन उपभोक्ता महासंघलाई रु दुई लाख राशिको ‘प्रकृति संरक्षण पुरस्कार,  ‘नबिल विज्ञान तथा प्रविधि पुरस्कार’बाट स्याङ्जाका डा. टेकबहादुर गुरुङ र डा. गजेन्द्र शर्मा, प्यूठानका डा. रबा थापा तथा तेह्रथुमका प्रा.डा. विजया पन्तलाई पुरस्कृत गरिएको थियो । उक्त पुरस्कारको राशि जनही रु एक लाख २५ हजार रहेको थियो ।
 भूगर्भ विज्ञानको क्षेत्रमा योगदान पु¥याएबापत प्रा.डा. मेघराज धिताललाई रु एक लाख नगदसहित ‘विज्ञान पुरस्कार’ र वातावरण क्षेत्रमा योगदान पु¥याएकोमा सप्तरीका प्रा.डा. विनयकुमार झालाई रु एक लाख राशिकै ‘प्रविधि पुरस्कार’ प्रदान गरिएको छ ।

 नास्टले अन्य पाँच जनालाई रु ७५ हजार राशिको ‘विज्ञान तथा प्रविधि युवा पुरस्कार’ समेत प्रदान गरेको थियो । पुरस्कार पाउनेमा गुल्मीका डा. भानुभक्त न्यौपाने, डडेलधुराका डा. महेशकुमार जोशी, चितवनका डा. अजय पौडेल, झापाका दीपेन्द्र गौतम, कास्कीकी डा. ईन्दिरा पराजुली रहनुु भएको छ । नास्टले रु ५० हजार राशिको ‘प्रज्ञा प्रतिष्ठान विज्ञान तथा प्रविधि प्रवद्र्धन पुरस्कार’ बाट नेपाल पोलिमर इन्स्टिच्यूट काठमाडौँलाई र स्थानीय सामग्रीबाट प्रयोगात्मक एवं प्रदर्शनात्मक शिक्षण विधिको विकासमा योगदान पुर्‍याएबापत काभ्रेका माधवप्रसाद अधिकारीलाई पुरस्कृत गरेको छ । रु पचास हजार राशिको ‘विज्ञान तथा प्रविधि पत्रकारिता पुरस्कार’बाट कैलालीका पत्रकार उमेशकुमार ओझालाई सम्मान गरिएको छ । 

कार्यक्रममा विश्व विज्ञान प्रतिष्ठानले काभ्रेका डा. सुदीप ठकुरी र प्रविधि विकासमा काठमाडौँका डा। सविन बसीलाई जनही एक हजार अमेरिकी डलरसहित सम्मान गरेको थियो । 
यस्तै जलवायु परिवर्तनको क्षेत्रमा योगदान गर्ने त्रिभुवन विश्व विद्यालय वनस्पति शास्त्र केन्द्रीय विभागका मिनु अधिकारी र जैविक प्रविधि केन्द्रीय विभागका मितेश श्रेष्ठलाई  २५ हजार राशिको ‘दयानन्द बज्राचार्य अनुसन्धान पुरस्कार’ प्रदान गरिएको थियो । 

त्यसैगरि ५० हजार राशिको ‘फणिन्द्रप्रसाद न्यौपाने अनुसन्धान पुरस्कार’ बाट त्रिविको कृषि तथा पशु विज्ञान अध्ययन संस्थानमा कार्यरत सरिता पौडेल पुरस्कृत हुनुभएको थियो । कार्यक्रममा नास्टका कुलपति केपी शर्मा ओेलीले प्रधानमन्त्री कार्यालयबाट पठाउनुभएको शुभकामनापत्र वाचन समेत गरिएको थियो ।