भारतीय सिमावर्ती सहरमा पोखरा–नेपाल पर्यटन प्रवर्द्धन अभियान सञ्चालनमा

भारतीय सिमावर्ती सहरमा पोखरा–नेपाल पर्यटन प्रवर्द्धन अभियान सञ्चालनमा

लोकसंवाद संवाददाता  |  पर्यटन  |  भदौ २३, २०८०

कास्की । नेपालसँग सिमाना जोडिएका भारतीय सहरमा पोखराको पर्यटन प्रवर्द्धनका लागि भोलिदेखि प्रवर्द्धनात्मक अभियान सञ्चालन हुने भएको छ  ।

 नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशले भारतको सिलगुढीमा ‘बङ्गाल ट्राभल मार्ट’ को अवसर पारेर भदौ २५ गतेसम्म यहाँका पर्यटन व्यवसायीबाट पर्यटन प्रवर्द्धन अभियान सञ्चालन गरिने आज साँझ पोखरामा पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिएको हो ।

 नाट्टाका अध्यक्ष हरिराम अधिकारीले पोखरा र नेपालको लागि पर्यटकको स्रोत बजारका बनेको नेपालसँग सिमाना जोडिएका भारतका सहरमा प्रवर्द्धन अभियान सञ्चालन हुने बताउनुभयो । उहाँले भन्नुभयो, 'नेपालको राजनीतिक घटनाक्रम र विभिन्न प्राकृतिक प्रकोपका कारण अहिले पोखराको पर्यटन सुस्ताइरहेको छ । यस्तो अवस्थामा भारतीय बजारमा बोर्डर सिटी प्रमोसनल अभियान अत्यन्त महत्वपूर्ण बन्ने विश्वास लिएका छौँ । यसबाट भारतका सहरबाट पर्यटक आगमन बढाउन मद्दत पुग्नेछ ।'

नाट्टाले गत वैशाखमा पनि भारतको पटना, वाराणासी, अयोध्या र गोरखपुरमा प्रवर्द्धन अभियान र ‘बीटुबी मिट’ आयोजना गरेको थियो । त्यस बेलाको अभियानले पोखरामा भारतीय पर्यटकको सङ्ख्या बढाउन योगदान गरेको व्यवसायीको भनाइ छ । भारतको सिलगुढीमा हुने ‘बङ्गाल ट्राभल मार्ट’ मा भारतका विभिन्न सहर, बङ्गलादेश र भुटानको पाँच सयभन्दा बढी टुर अपरेटरको सहभागिता र एक हजारभन्दा बढी भिजिटरको आगमनले पोखरा, गण्डकी प्रदेशसहित समग्र नेपालको प्रवर्द्धनमा सघाउ पुग्ने बताइन्छ ।

'बङ्गाल ट्राभल मार्ट’ मा धेरै देशका ट्राभलको सहभागिता रहने भएकाले हामी उहाँहरुलाई पोखरा घुम्न आउनका लागि सकारात्मक सन्देश दिन्छौँ र  यहाँको सडक, हवाईयात्रा लगायतका बारेमा रहेको नकारात्मक कुरा चिछौँ', अध्यक्ष अधिकारीले भन्नुभयो । मार्टमा नाट्टा गण्डकीको समन्वय र पोखरा महानगरपालिकाको सहकार्यमा राखिने स्टलमा बीटुबी छलफल हुनेछ ।

 पोखराको कला र संस्कृति झल्कने गरी सजाइने सो स्टलमा पोखराको वृत्तचित्र निरन्तर प्रदर्शन गरिने र अन्य प्रवर्द्धनात्मक सामग्री प्रदर्शन र वितरण गरिने नाट्टाका निर्वतमान अध्यक्षसमेत रहनुभएका पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताउनुभयो ।

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको र हवाई र स्थलमार्गबाट पुग्न सकिने नजिकको पर्यटकीय गन्तव्य भएकाले पोखरा सबै मौसमका लागि घुम्न उपयुक्त भएको विषय आगन्तुकलाई अवगत गराइने नाट्टाले जनाएको छ । पोखरा महानगरका प्रवक्ता मोतिराज तिमिल्सिनाले पोखराको समृद्धि पर्यटन क्षेत्रको विकासबाट मात्र सम्भव भएकाले प्रवर्द्धनात्मक कार्यक्रमलाई महानगरले जोड दिएको बताउनुभयो ।

उहाँले यस अभियानलाई महानगरको तर्फबाट रु १० लाख सहयोग गरिएको जानकारी दिनुभयो । बोर्डर सिटी प्रमोसनल अभियानमा पर्यटन व्यवसायी, सञ्चारकर्मी लगायत गरी १३ जनाको सहभागिता रहने बताइन्छ ।