नेपाल प्रहरी र काठमाडौं विश्वविद्यालयबीच शैक्षिक गुणस्तर तथा शिक्षकहरूको क्षमता अभिवृद्धि सम्झौता

नेपाल प्रहरी र काठमाडौं विश्वविद्यालयबीच शैक्षिक गुणस्तर तथा शिक्षकहरूको क्षमता अभिवृद्धि सम्झौता

लोकसंवाद संवाददाता  |  शिक्षा  |  भदौ २५, २०८०

काठमाडौं ।  नेपाल प्रहरी र काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेशन धुलिखेलबीच नेपाल प्रहरीद्वारा विभिन्न स्थानमा संचालित ९ वटा विद्यालयहरूको शैक्षिक गुणस्तर तथा शिक्षकहरूको क्षमता अभिवृद्धि गर्ने सम्बन्धी सम्झौता(पत्रमा हस्ताक्षर भएको छ ।

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर र काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापाले नेपाल पुलिस स्कुल साँगामा आयोजित एक समारोहबीच आइतबार उक्त सम्झौता(पत्रमा हस्ताक्षर गर्नुभएको हो ।

समारोहमा प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीद्वारा संचालित विद्यालयहरूको शैक्षिक गुणस्तर तथा शिक्षकहरूको क्षमता अभिवृद्धि गर्ने सम्बन्धी भएको सम्झौताका लागि काठमाडौं विश्वविद्यालयलाई धन्यवाद दिनु हुँदै नेपाल प्रहरीका कर्मचारीका सन्ततिहरूलाई प्रभावकारी र गुणस्तरीय शिक्षा प्रदान गर्ने अभिप्रायले स्थापना भएको पुलिस स्कुलले अहिले सर्वसाधारणका सन्ततिहरूलाई समेत समेटी अध्ययन अध्यापन गराउँदै आएको बताउनुभयो । सम्पूर्ण विकासको स्रोत नै गुणस्तरीय शिक्षा भएको उल्लेख गर्दै सम्झौता अनुसार नेपाल पुलिस स्कुलका शिक्षकहरूलाई प्रदान गरिने समयानुकूल ज्ञान र सीपले नेपाल पुलिस स्कुलको शिक्षण पद्दति र विद्यालय सुधारको दिशामा अघि बढ्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

प्रहरी महानिरीक्षक कुँवरले शैक्षिक स्तरलाई माथि उठाउन परिवर्तित आधुनिक शिक्षा प्रणाली र सिद्धान्तहरूलाई अंगिकार गर्दै शिक्षण सिकाईको क्रियाकलापलाई काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेशन र नेपाल पुलिस स्कुलहरू बीचको सहकार्यले शैक्षिक गुणस्तरमा सुधार आउने विचार व्यक्त गर्नुभयो ।
समारोहमा काठमाडौ विश्वविद्यालयका प्रा.डा.  भोला थापाले नेपाल प्रहरी र काठमाडौं विश्वविद्यालयको सहकार्यले नेपाल पुलिस स्कुलको शैक्षिक गुणस्तर अभिवृद्धि हुने बताउनुभयो । साथै आगामी दिनमा पनि नेपाल प्रहरीसँग सहकार्यको क्षेत्रलाई अगाडि बढाउँदै लैजाने उहाँले उल्लेख गर्नुभयो ।