भूकम्प पीडित चन्द्रमायाको रोदानः  न गाँस ! न सुरक्षित बास !!

भूकम्प पीडित चन्द्रमायाको रोदानः  न गाँस ! न सुरक्षित बास !!

राजकुमार पराजुली  |  समाज  |  जेठ २२, २०७६


काभ्रेपलाञ्चोक । आजकाल बेतालमा आउने हुरी बतास र पानीले चन्द्रमाया मानन्धरको मुटु झस्काइरहन्छ । जस्तापाताले घेरेको र जस्तापाताले नै छाएको र त्यसमा पनि त्रिपाल र बोराले टालटुल गरेको टहरो पनि उडाएर भएको बास पो उखेल्ने हो कि ! पानी पर्न थालेपछि भएभरका भाँडाकुँडा टहरोभित्रै थाप्नुपर्ने अर्को पीडा पनि त छ मानन्धरलाई । साथमा रहेका अबोध दुई छोरीलाई च्यापेर बस्नुपर्ने बाध्यताले कहाँ छोडेको छ र बनेपा नगरपालिका–७ झापालीटोलकी ४६ वर्षीया चन्द्रमाया लाई ।

 जन्मजात शारीरिक अपाङ्गता र सुस्त मनस्थितिकी १२ वर्षकी उनकी जेठी छोरी रमिलाको हालै भएको निधनले उहाँमा अर्को  पीडा थपिएको छ । रमिला राम्रोसँग हिँड्न र बोल्न सक्दिनथिन । सोमबार उनलाई दागबत्ती दिएपछि चन्द्रमाया सोही टहरोमा किरिया बस्नुभएको छ । यसअघि उहाँ भूकम्पले भत्किएको भग्नावशेषमा आफ्नी अपाङ्गता भएकी छोरीलाई रुँदै खाना खुवाइरहेको अवस्थामा भेटिनुभएको थियो ।
बनेपा सहरको बिच भागमा वरिपरि अग्ला पक्की घरले घेरिएको तीन धारा गल्लीमा चन्द्रमायाको असुरक्षित टहरो अवस्थित छ । कान्छी छोरी प्रमीला जन्मिनु तीन दिनअघिमात्रै पति रामभक्तको पनि मृत्यु  भएपछि  बेसहारा जीवन जिउनु चन्द्रमायाको नियति नै भएको छ । 

अपाङ्गता भएकी छोरीलाई जसोतसो हुर्काइरहेकी चन्द्रमायालाई श्रीमान् बितेकै बखत सुत्केरी बन्नुपरेको बाध्यता र  बत्ती काटेर जसोतसो दुई छोरी हुर्काउँदै गर्दा २०७२ वैशाख १२ को भूकम्पले अर्को बज्रपात थोपरिदिएको थियो । हेर्दाहेर्दै उहाँकै  आँखा अगाडि तीन तले घर ढल्यो । रमिला र प्रमीलालाई च्यापेर घस्रिँदै तीन वटा प्राण बचाउनु पर्दाको  घटना सम्झँदा चन्द्रमाया भक्कानिनुहुन्छ ।

‘भूकम्पले त्यही सबैको प्राण पखेरु छिनाइदिएको भए यसरी दुःखमाथि दुःख त झेल्नु पर्दैनथ्यो’, चन्द्रमायाले रुँदै भन्नुभयो । भूकम्पपछिका प्रत्येक दिनका पीडाका साथै गाँस र बासको अभावले अब बचेकी एक छोरीलाई हुर्काउनुपर्ने बाध्यताले पिरोली रहन्छ । छोरी प्रमीलालाई बसोबास समेत हुने गरी कुनै स्कुलतिरै राख्न पाए आफूले एक पेट दुःखजिलो गरेर खान सक्थेँ भन्ने उहाँको चाहना छ ।

सोझा प्रकृतिका रामभक्त सार्वजनिक सवारीसाधनको एक काउन्टरमा टिकट काट्ने काम गर्नुहुन्थ्यो । यसैक्रममा जसोतसो एउटा घर किनेर उनीहरूले गुजारा चलाउँदै आएका थिए । पहिली छोरी जन्मजात शारीरिक र मानसिक अपाङ्गता भएकी जन्मिई,  त्यही समयदेखि रामभक्त बिरामी पर्नुभएको थियो । चन्द्रमाया भन्नुहुन्छ,– ‘बिरामी श्रीमान् र अपाङ्ग छोरीलाई स्याहारै म कसरी यहाँसम्म आए होला आजसम्म, सम्झँदा पनि कहाली लाग्छ’ ।

भूकम्पले घर भत्किएपछि सबैले घर ठड्याए । तर लामो समयसम्म चन्द्रमायाको परिवार भूकम्प लाभग्राहीको सूचीकृतसम्म भएन । भूकम्पपछि बनेपास्थित पुन्यमाता किनारमा भाडामा जसोतसो एउटा टहरो बनाएपछि जग्गा कारोबारीले एक वर्षमै जग्गा बेचियो भनेर हटाइदिए । त्यसपछि पनि नजिकै रहेको किनारमा टहरो सारेर बस्नुभएकी चन्द्रमायालाई भत्केको घर नाप्न सर्वेक्षण कर्ता कहिले आए, गए केही पत्तै भएन ।

पुन्यमाताको नदी किनारमा भाडा तिरेर बस्दा पनि निकै पटक बाढीको सामना गर्नुभएकी  चन्द्रमाया भन्नुहुन्छ,–‘कहिले आधा जिउसम्म पानीले डुबायो त कहिले बगाउँला नै जस्तो हुन्थ्यो’। चन्द्रमायाको  दुःख त्यतिमै पनि सीमित भएन, बनेपा नगरपालिकाले ‘पुन्यमाता कोरिडोर’ बनाउने नाउँमा गत वर्ष डोजर लगाएर भएको टहरो पनि भत्काएपछि भने आफ्नो भतक्केको घरमै टहरो हालेर जेनतेन जीवन निर्बाह गरिरहनु भएको छ ।  

सरकारले अनुदान दिन्छ भन्ने सुन्नुभएकी चन्द्रमायाले पटक–पटक गुनासो गरेपछि मात्र बल्ल यो वर्ष भूकम्पपीडितको सूचीमा उहाँको नाम सूचीकृत भएको छ । भूकम्पपीडितको सूचीमा नाम त आयो तर यसबाहेक घर कसरी बनाउने हो भन्ने पिर गर्दै चन्द्रमाया भन्नुहुन्छ,–‘कहाँ जाने हो ? के गर्ने हो ? केही जानेको छैन ।  निरक्षर छु, कुनै अक्षर पढ्न आउँदैन म के गर ?

आफ्नो बोलिदिने कोही नहुँदा पहिले भूकम्पपीडितको लाभग्राही सूचीमा नपरेको गुनासो गदै उहाँले भन्नुभयो –‘अहिले सूचीमा त परेँ, तर घर बनाउन सक्ने औकात छैन’।

सहयोगको अपिल गरिरहनुभएको चन्द्रमायाको समस्या थाहा पाएर पनि नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोक शाखा पनि अहिलेसम्म बेखबर छ । त्यति बेला शाखा सभापति रघुवर चौ प्रधानले नै भूकम्प पुनः निर्माण प्राधिकरण जिल्ला कार्यालय धुलिखेलमा चन्द्रमायाको अवस्थाबारे जानकारी गराउनाका साथै एकमुष्ट राहत अनुदानका साथै एकल तथा असहाय महिला भएकाले अनुदानमा पनि रु ५० हजार थप्ने मौखिक सहमति गराउनुभएको थियो । सभापति प्रधान भन्नुहुन्छ,–केही सहयोगी संस्था खोजेर आवासको प्रबन्ध गर्ने प्रयास गर्दछौँ’ । 
 

वडाध्यक्ष वर्ण शाक्य नगरपालिकाको इन्जिनियरलाई घरको नमुना र मूल्याङ्कन गर्न लगाउने बताउनुहुन्छ । वडाध्यक्ष शाक्य भन्नुहुन्छ–‘चन्द्रमायाको आवासका लागि वडा कार्यालयबाट आवश्यक कागजात मिलाई पुनः निर्माण प्राधिकरणलाई एकै पटक अनुदान दिन अनुरोध गर्नेछौँ’  भन्ने कुरा राससमकाे समाचारमा उल्लेख छ ।