पाटन हाइस्कूलले मनायो १००औं वार्षिकोत्सव

पाटन हाइस्कूलले मनायो १००औं वार्षिकोत्सव

लोकसंवाद संवाददाता  |  शिक्षा  |  भदौ २९, २०८०


ललितपुर । ललितपुरको पाटनढोका स्थित पाटन हाइस्कूलले १००औं वार्षिकोत्सव भव्य रुपमा मनाएको छ ।

स्कूलले शुक्रबार पाटनको अशोक हलमा आयोजित एक भव्य समारोहकाबीच १०० औं वार्षिकोत्सव मनाएको हो ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा ललितपुर महानगरपालिका वडा नं. ११ का वडाध्यक्ष अरोजकुमार खड्गीको सभापतित्वमा भएको थियो । कार्यक्रमको प्रमुख अतिथिमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन रहेका थिए । 

यसैगरी कार्यक्रमको विशिष्ट अतिथिको रुपमा नेपालका लागि जापानी राजदूत किकुता युकाता, जाइकाका प्रतिनिधि, कोरियन प्रतिनिधिहरु रहेका थिए । कार्यक्रममा स्कूलका पूर्व प्रधानाध्यापकहरु, पूर्व व्यवस्थापन समितिका पदाधिकारीहरु, पूर्व विद्यार्थीहरु, अभिभावकहरु तथा स्थानीय समाजसेवी समेतको सहभागिता रहेको थियो ।

वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि चिरीबाबु महर्जनले १०० औं वर्ष पुगेको अवसरमा शुभकामना व्यक्त गरे । ‘आफ्नो राम्रो सौभाग्य भएकोले नै १०० वर्ष पुरा गरेको विद्यालयको शतवार्षिकोत्सवको समुद्घाटन गर्न पाउँदा मलाई गर्व लागेको छ’ उनले भने, ‘यो चानचुने कुरा नै होइन म यो विद्यालयका सरोकारवाला सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।’ यो स्कूललाई सैद्धान्तिक र व्यवहारिक सहयोग गर्न पाएको भन्दै उनले खुसी व्यक्त गरे । भूकम्पपछि क्षतविक्षत बनेको विद्यालय भवनलाई चिटिक्क परेको नयाँ भवन बनाउन सहयोग गर्ने जापान सरकारलाई पनि धन्यवाद ज्ञापन गरे । स्कूलले आगामी दिनमा शैक्षिक क्षेत्रमा पनि फड्को मार्ने उनले अपेक्षा गरे ।

जापानी राजदूत किकुता युकाताले बधाई ज्ञापन गर्दै यो कार्यक्रममा उपस्थित भई सम्मानित हुन पाउँदा खुसी लागेको बताए । जापान सरकारले नेपाललाई गरेको सहयोगको खुलेर प्रशंसा गरेको सुन्दा धन्य भएको पनि उनले बताए ।

जापान सरकारले नेपालका २४० वटा विद्यालय पुनर्निर्माणमा सहयोग गरेको भन्दै त्यसमा एक पाटन हाईस्कूल पनि भएको उनले बताए । सोही स्कूलमा पुनः आएर शतवार्षिक समारोहमा सहभागी हुन पाउँदा गर्व लागेको उनले बताए । यो स्कूलमा राम्रोसँग पढेर नेपालको प्रेरक शक्ति बन्न पनि विद्यार्थीहरुलाई उनले आग्रह गरे । 

कार्यक्रममा सहभागीहरुलाई विद्यालयका प्रधानाध्यापक हरिशचन्द्र गौलीले स्वागत गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुले नृत्य, गीत, कविता आदि पनि प्रस्तुत गरेका थिए । कार्यक्रमलाई विद्यालयका शिक्षकहरु ताराप्रकाश केसी, कुमार चौलागाई, अनिता पौडेल र सिर्जना बञ्जाडेले सञ्चालन गरेका थिए । 

यो विद्यालय वि.सं. २०८१ भदौ २९ गते तत्कालीन राणा प्रधानमन्त्री श्री ३ चन्द्र शमशेरको पहलमा स्थापना भएको हो । विभिन्न आरोह अवरोहहरु पार गर्दै विद्यालय हाल व्यवस्थित भवनमा सञ्चालित छ । कक्षा १ देखि १२ सम्म अध्ययन अध्यापन हुने यो विद्यालयमा हाल ११५६ जना विद्यार्थी अध्ययनरत छन् । कक्षा ११ र १२ मा व्यवस्थापन, शिक्षा, मानविकी र कानून संकायमा अध्यापन भइरहेको छ ।