विश्वकप क्रिकेट : श्रीलंकासामु अफगानिस्तान निरीह

विश्वकप क्रिकेट : श्रीलंकासामु अफगानिस्तान निरीह
अफगानिस्तानको अन्तिम विकेट लिएपछि खुसी मनाउँदै श्रीलंकाका लासिथ मालिंगा । तस्बिर : क्रिकइन्फो डट कम ।

लोकसंवाद संवाददाता  |  खेलकुद  |  जेठ २२, २०७६

काठमाडौं । इग्ल्याण्डमा जारी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत मंगलबार श्रीलंकाले अफगानिस्तानलाई पराजित गरेको छ ।

श्रीलंकाले अफगानिस्तानलाई डकबर्थ लुइस नियमका आधारमा ३४ रनले पराजित गरेको हो ।

वर्षाका कारण अवरुद्ध भएको खेल केही समय रोकिएपछि अफगानिस्तानले ४१ ओभरमा १८७ रनको मध्यम लक्ष्य पायो । जवाफी ब्याटिङ थालेको अफगानिस्तान नुवान प्रदीप र लासिथ मालिंगाको बलिङमा निरिह सावित बने ।

४.४ ओभरमा ३४ रनको अवस्था मोहम्मद सहजादका रूपमा पहिलो विकेट गुमाएको अफगानिस्तानले त्यसपछि निरन्तर विकेट गुमायो । उसले थप २३ रन जोड्दा ५ विकेट गुमायो । त्यसपछि कप्तान गुल्बादिन नाइब र नाजिबुल्लाह जड्रानले ६४ रनको साझेदारी गरे पनि टिमलाई जित दिलाउन सकेनन् । अफगानिस्तानका लागि जड्रानले सर्वाधिक ४३ रन जोड्दा नाइबले २३ रनको योगदान दिए । यस्तै, हरजजुल्लाह जजाईले ३० रनको योगदान दिए । अफगानिस्तानका सात खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् ।

बलिङतर्फ प्रदीपले सर्वाधिक ४ र मालिंगाले ३ विकेट चट्काए । यस्तै, इसुरु उडना र थिसारा परेराले समान १ विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङ गर्न आएको श्रीलंका ३६.५ ओभरमा २०१ रनमै अलआउट भयो ।

सुरुवात राम्रो भए पनि मध्यक्रम चल्न नसकेपछि श्रीलंकाले राम्रो स्कोर बनाउन सकेन । श्रीलंकाले १३.१ ओभरमा ९२ रनको स्थितिमा कप्तान डिमुथ करुणारत्नेका रूपमा पहिलो विकेट गुमाएको थियो । उनी व्यक्तिगत ३० रनको स्कोरमा आउट भए । श्रीलंकाले दोस्रो विकेट २१.२ ओभरमा १४४ रनको स्थितिमा गुमायो । त्यसपछि भने श्रीलंकाको निरन्तर विकेट पतन भयो । थप ३६ रन जोड्दा श्रीलंकाले थप ६ विकेट गुमायो । त्यतिबेला श्रीलंकाको स्कोर १८०-८ थियो । त्यसको केही समयपछि १८२-८ को स्थितिमा वर्षाका कारण खेल अवरुद्ध भयो ।

अफगानिस्तानका मोहम्मद नाबीले सर्वाधिक ४ विकेट चट्काए । यस्तै, रासिद खान र दौलत जड्रानले समान २ विकेट लिँदा हामिद हसनले एक विकेट लिए ।

खेलको प्लेअर अफ दि म्याच नुवान प्रदीप घोषित भए ।