कुलपति भूपाल राईको एकल कविता वाचन कार्यक्रम: एक दर्जन कविता वाचित

कुलपति भूपाल राईको एकल कविता वाचन कार्यक्रम: एक दर्जन कविता वाचित

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ ३०, २०८०

चितवन  ।  नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति कवि भूपाल राईको एकल कविता वाचन कार्यक्रम शनिवार भरतपुरमा सम्पन्न भएको छ । भरतपुर महानगर प्रज्ञा–प्रतिष्ठानको व्यवस्थापकीय सहयोगमा साहित्य सङ्गम चितवनले उक्त कार्यक्रम आयोजना गरेको हो । 

भरतपुर महानगरको हलमा आयोजित कार्यक्रममा कवि राईले अघिल्लो वर्ष प्रकाशित आफ्नो ‘यारी’ कविता सङ्ग्रहमा सङ्गृहीत करिब एक दर्जन कविता सुनाउनु भएको हो  । ‘सांस्कृतिक एवम्  प्राज्ञिक सत्ता र समताका लागि’ अभियानअन्तर्गत भरतपुरमा आएर एकल कविता वाचन कार्यक्रम गर्न पाउँदा खुसी लागेको कुलपति राईको भनाइ थियो 

कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव डा। धनप्रसाद सुवेदीले नेपालमा प्राज्ञिक क्षेत्रलाई उपेक्षा गरिएकाले सांस्कृतिक सत्ता र समानताका लागि आवाज उठाउनुपर्ने अवस्था आएको बताउनुभयो । कवि राईको व्यक्तित्व र कृतित्वबारे चर्चा गर्दै कवि भूपिन खड्काले उहाँलाई पहिचानको आन्दोलनसँग जोडिएका विद्रोही चेतना भएका कवि भएको धारणा व्यक्त गर्नुभयो ।

कवितामार्फत सीमान्तकृत समुदायको अधिकारका लागि प्रतिनिधि आवाज उठाउँदै आउनुभएका राईका सुम्निमाको तस्बिर (कवितासङ्ग्रह–२०५३), दाजै कविता गाउँमै छ (कवितासङ्ग्रह–२०५७), पहिलो हरफ शिरबन्दी (गीतसङ्ग्रह–२०५९), किराती सौन्दर्यशास्त्रको अवधारणा (सहलेखन–२०६६), सीमान्त सौन्दर्य (कवितासङ्ग्रह–२०६७), भूमिगत प्रश्नहरु (निबन्धसङ्ग्रह–२०६९), आगोले जन्मोत्सव मनाउँदैन ९कवितासङ्ग्रह–२०७१०, सेवान्ने जिन्दगी (गीतसङ्ग्रह–२०७६) लगायतका काव्य कृति यसअघि नै प्रकाशित भइसकेका छन् । 

आधुनिक नेपाली कविताका प्रतिनिधि  हस्ताक्षर  राई २०७९ फागुन ३ गते  नेपाल प्रज्ञा–प्रतिष्ठानको कुलपतिका रूपमा नियुक्त हुनुभएको थियो । 

साहित्य सङ्गम चितवनका अध्यक्ष प्रकाश चापागाईंको अध्यक्षतामा सम्पन्नता भएको सो कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञसभा सदस्य रामहरि श्रेष्ठ,भरतपुर महानगर प्रज्ञा–प्रतिष्ठानका अध्यक्ष इन्द्र रेग्मी र साहित्य सङ्गम चितवनका सचिव विष्णु तिवारीले पनि बोल्नुभएको थियो ।