तमोर मेवा जलविद्युत आयोजनाको  सार्वजनिक सुनुवाई: खरिदबिक्री दर सार्वजनिक

तमोर मेवा जलविद्युत आयोजनाको  सार्वजनिक सुनुवाई: खरिदबिक्री दर सार्वजनिक

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ २९, २०८०

कठमाडौँ ।  विद्युत नियमन आयोगद्वारा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा  स्पार्क हाईड्रोईलेक्ट्रिक कम्पनीद्वारा प्रवर्द्धित तमोर मेवा जलविद्युत आयोजना (१२८ मे.वा.) ले खरिदबिक्री दर सार्वजनिक गरेको छ । 

 विद्युत नियमन आयोगको प्रधान कार्यालय सानो गौचरण काठमाडौँमा आयोजित सार्वजनिक सुनुवाईमा खरिदबिक्री दरको जानकारी  आयोजनाले  दिएको हो ।

आयोजनाले पेश गरेको दर नै नेपाल विद्युत प्राधिकरणबाट सहमति जुटेपछि आज औपचारिक रुपमा सार्वजनिक गरिएको आयोजनाका प्रमुख भानेन्द्र लिम्बुले जानकारी दिनु भयो । साथै उहाँले खरिद बिक्रि दर हिउँदमा ८ रुपैयाँ ४० पैसा र वर्षयाममा ४ रुपैयाँ ८० पैसा कायम गरिएको समेत उल्लेख गर्नु भयो ।

कार्यक्रममा बोल्दै विद्युत नियमन आयोगका अध्यक्ष दिल्ली बहादुर सिंहले अस्वभाविक रुपमा खर्च गरि विद्युतको मूल्य बढ्ने गरि लागत बढाएर प्रस्तुत गरेको थाहा पाएमा कारबाही गर्ने बताउनुभयो। उहाँले आयोगले उपभोक्ता हितको सुरक्षामा समेत ध्यान दिने भएकाले गलत विवरण पेश नगर्न समेत आग्रह गर्नुभयो।

विद्युत प्राधिकरणले कम लागतमा खरिद गरेमात्र उपभोक्तालाई पनि कम मुल्यमा बिक्रि गर्न सक्ने भएकाले अस्वभाविक खर्चमार्फत लागत नबढाउन आग्रह  अध्यक्ष सिंहले गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै उहाँले सय मेगावाट भन्दा बढी मेगावाटका जलविद्युत आयोजनाहरुमा मात्र सार्वजनिक सुनुवाई गर्नुपर्छ भनेर आयोगले मार्गनिर्देशन बनाएको बताउनुभयो। त्यो भन्दा कम क्षमताका आयोजनाको पनि सार्वजनिक सुनुवाई हुनुपर्ने भनेर माग आएपनि त्यसले आयोजनामा ढिलासुस्ती हुने हुँदा त्यस्तो नगरिएको स्पष्टिकरण दिइएको थियो । 

यस्तै, कार्यक्रममा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आयोजना र प्राधिकरणका तर्फबाट भएको सहमतिअनुसार काम अघि बढ्ने बताउनुभयो। साथै उहाँले अब आयोजनाको कामलाई ढिलासुस्ती नगरी काम गर्न समेत आग्रह गर्नुभयो।

आयोजनाको कुल लागत २४ अरब ३२ करोड रहेको छ भने प्रति मेगावाट लागत १९ करोड पर्न आएको छ। आयोजना ताप्लेजुङमा अवस्थित रहेको छ भने कम्पनीको कुल पुँजी १ अर्ब १० करोड, जारी पुजी १ अर्ब १० करोड र चुक्ता पुँजी३४ करोड ३३ लाख ६८ हजार रुपैयाँ रहेको छ।