विदेशमन्त्री बेपत्ता र बर्खास्तीको घटना सेलाउन नपाउँदै चिनियाँ रक्षामन्त्री ली साङ्फु अचानक बेपत्ता !

विदेशमन्त्री बेपत्ता र बर्खास्तीको घटना सेलाउन नपाउँदै चिनियाँ रक्षामन्त्री ली साङ्फु अचानक बेपत्ता !

लोकसंवाद संवाददाता  |  विदेश  |  भदौ ३१, २०८०

चिनियाँ  विदेशमन्त्री चिन गांग बेपत्ता भएको र बर्खास्तीमा परेको घटना सेलाउन नपाउँदै चिनियाँ रक्षामन्त्री अचानक बेपत्ता भएका समाचारले संसारलई चकित तुल्याएको छ  । केही सार्वजनिक कार्यक्रममा सहभागी नभएपछि रक्षामन्त्री ली साङ्फुबारे प्रश्न उठेको हो । आश्चर्यको कुरा त के छ भने चिनियाँ रक्षा मन्त्रीका विषयमा यतिबेला चीनसँगको सम्बन्ध खराब रुपमा अघि बढिरहेको देश अमेरिकाका कुटनीतिज्ञले प्रश्न उठाएका छन् ।

रक्षामन्त्री साङ्फुलाई भ्रष्टाचारसँग जोडिएको कुनै घटनामा कारबाही गरिएको हुनसक्ने आशंका बीच जापानका लागि अमेरिकी राजदूत राहम एमानुएलले चिनियाँ रक्षामन्त्री ली तीन सातादेखि नदेखिएको र उनले भियतनाम भ्रमण रद्द गरेको अड्कलबाजी सहित ट्विट गरेका छन् । जसमा उनले लेखेका छन्, ‘चीन सरकारभित्र बेरोजगारीको दर बढिरहेको छ ।’ 

त्यसो त बेपत्ता भएका ली साङ्फूलाई चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव तथा राष्ट्रपति सी जिनपिङप्रति वफादार मानिन्छ । उनी मन्त्रीस्तरीय वरीयताभन्दा माथि रहेका पाँच जना चिनियाँ स्टेट काउन्सिलर मध्ये एक हुन् । रक्षामन्त्री बेपत्ता भएको घटनामा चीनले भने हालसम्म कुनै प्रतिक्रिया दिइसकेको छैन । यद्यपि चीनले पछिल्लो समयमा केही उच्च पदस्थ सैनिक अधिकारीहरुलाई बर्खास्त गरेको छ । ली पनि सार्वजनिक कार्यक्रममा उपस्थित नभएकाले उनलाई हटाउन लागिएको समाचार केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले लेखेका छन् । तर चीनमा बेलाबेला नेताहरु हराउने, कारबाहीमा पर्ने र त्यस्तो नभएमा नियमित काममा फर्किने भएकाले रक्षामन्त्री बेपत्ता भएको घटना यस्तै हो भन्न सकिने अवस्था छैन । अर्कोतिर चीनमा यसरी बेपत्ता भएका नेताहरुले पुरानै हैसियतमा फर्किए पनि आफू बेपत्ता भएको घटनाबारे सार्वजनिक रुपमा बताउने गरेका छैनन् । 

सार्वजनिक वृत्तबाट चिनियाँ विदेशमन्त्री चिन गाङ बेपत्ता भएको झण्डै एक महिनापछि रक्षामन्त्री बेपत्ता भएको घटना बाहिर आएका हो । चिन गाङ अकस्मात् अनुपस्थित भएपछि गत जुलाईमा उनलाई पदबाट बर्खास्त गरिएको थियो । तर उनी अझै पनि सार्वजनिक भएका छैनन् भने उनलाई कारबाही गरिनुको कारण पनि खुलाइएको छैन । रक्षामन्त्री बेपत्ता भएको घटनाबारे पत्रकारले सोधेको प्रश्नमा विदेश मन्त्रालयकी प्रवक्ताले आफूलाई जानकारी नरहेको जवाफ दिएकी थिइन् । 

भियतनाममा पूर्वनिर्धारित कार्यक्रममा रक्षामन्त्री नगएपछि चीनले उनको स्वास्थ्य अवस्थाका कारण आउन नसकेको बताएको उल्लेख गरिएको छ । चिनियाँ नेताहरूले स्वास्थ्यको कारण देखाएर महत्वपूर्ण भेटवार्ताहरू हत्तपत्त रद्द नगर्ने भएका कारण रक्षामन्त्री बेपत्ता हुनुमा अरु कुनै कारण हुनसक्ने अनुमान गरिएको छ । 

ली अन्तिम पटक बेइजिङमा आयोजित अफ्रिकी राष्ट्रहरू सम्मिलित सुरक्षा फोरममा देखिएका थिए । उनी एयरोस्पेश इन्जिनियर पनि हुन् र उनले आफ्नो करिअर भूउपग्रह र रकेट प्रक्षेपण केन्द्रबाट सुरू गरेका थिए ।

रक्षामन्त्री साङ्फु राष्ट्रपति सीले अत्याधिक मन पराउने नेता मानिन्थे । गत अगस्टमा देशको रकेट प्रणाली सम्बन्धी फौजका दुई जना जर्नेलहरूलाई परिवर्तन गरिएपछि सेनाभित्र भ्रष्टाचारसम्बन्धी कदमहरू चालिएको अनुमान गरिएको छ । सैनिक अदालतका अध्यक्षलाई समेत नियुक्तिको केही महिनामै हटाइएको थियो । 

भियतनाममा पूर्वनिर्धारित कार्यक्रममा रक्षामन्त्री नगएपछि चीनले उनको स्वास्थ्य अवस्थाका कारण आउन नसकेको बताएको उल्लेख गरिएको छ । चिनियाँ नेताहरूले स्वास्थ्यको कारण देखाएर महत्वपूर्ण भेटवार्ताहरू हत्तपत्त रद्द नगर्ने भएका कारण रक्षामन्त्री बेपत्ता हुनुमा अरु कुनै कारण हुनसक्ने अनुमान गरिएको छ । 

चिनियाँ रक्षामन्त्री ली केही पटक विवादमा पनि आएका थिए । सन् २०१८ मा सेनाको उपकरण सम्बन्धी निकायको नेतृत्व गर्दा रुससँग फौजी विमान र हतियार किनेको भन्दै अमेरिकी सरकारले उनीमाथि प्रतिबन्ध लगाएको थियो । यसैवर्ष आयोजित सिंगापुर डिफेन्स समिटमा आफ्ना अमेरिकी समकक्षी लोइड अस्टिनलाई भेट्न उनले अस्वीकार गरेका थिए । जसको कारण त्यही प्रतिबन्ध भएको बताइन्छ । कतिपयले त यो घटनालाई लिएर सीका निर्णयको पनि आलोचना गरेका छन् । राष्ट्रपति सीले अनुमोदन गरेर छनौट भएका व्यक्तिहरु बेपत्ता हुनु र बर्खास्तमा पर्नुले उनको निर्णयमा कमजोरी रहेको औंल्याउन थालिएको छ ।  सीले शक्तिमा आएको एक दशक लामो अवधिमा पनि भ्रष्टाचार विरुद्धका कारबाहीहरू भने  जारी राखेका छन् ।