प्राज्ञ शशी राम कार्कीको 'देवरात' महाकाव्यको विमर्शसहित  विमोचित

प्राज्ञ शशी राम कार्कीको 'देवरात' महाकाव्यको विमर्शसहित  विमोचित

लोकसंवाद संवाददाता  |  साहित्य  |  भदौ ३१, २०८०

बाँके।  १५८ औँ मोती जयन्तीको अवसरमा नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ सभा सदस्य   शशिराम कार्कीद्वारा लिखित महाकाव्य  'देवरात' को  विमोचन तथा विमर्श कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्राविधिक विश्व विद्यालय सेवा आयोगका सदस्य डा. कृष्ण प्रसाद घिमिरेले देवरात महाकाव्यको विमोचन गर्दै देवरात महाकाव्यले साहित्यिक क्षेत्रमा नेपालगन्जको इज्जत बढेको बताए ।  

कार्यक्रमका विशिष्ट अतिथि कर्णाली प्रदेश योजना आयोगका सदस्य जीतबहादुर शाहले प्राज्ञ शशिराम कार्कीले पछिल्लो समयमा नेपाली साहित्यमा पुराएको योगदान महत्त्वपूर्ण रहेको बताए । प्रज्ञा-प्रतिष्ठानका प्राज्ञसभा सदस्य महानन्द ढकालले  शशिराम कार्कीले छोटो समयमा नेपाली साहित्यमा कथा, कविता, उपन्यास हुँदै महाकाव्य प्रकाशन गरेर नेपाली भाषा साहित्यलाई पुराएको योगदान उदाहरणीय रहेको बताए ।

देवरातका समीक्षकद्वय डा. इन्द्रबहादुर भण्डारी र विरेन्द्र शाहीले कवि कार्कीले महाकाव्य मार्फत उठाएका विषयवस्तुहरू महत्त्वपूर्ण रहेको बताउँदै महाकाव्य रहर र लहडले लेखिने कुरा नभएको र देवरात महाकाव्यमा केही कमिकमजोरी रहेपनि कार्कीले लेख्नकै लागि मात्रै  महाकाव्य नलेखेको विचार राखे । 

प्राज्ञ हरिप्रसाद तिमिल्सिनाद्वारा मोतीराम भट्टको साहित्यिक योगदानको चर्चा गरिएको कार्यक्रममा  कृतिकार शशि राम कार्की र किरण आचार्यले मन्तव्य राखेको थिए ।

साहित्यकार चरित्रा शाह र भिम प्रज्वलले देवरात महाकाव्यका केही श्‍लोकहरू वाचन गरेर सुनाएको कार्यक्रममा महेन्द्र पुस्तकालयका अध्यक्ष वलराम यादवले सभापतिको मन्तव्य राख्दै पुस्तकालयले भाषा साहित्यको विकास र सम्बर्द्धनका लागि निरन्तर कोसिस  गर्दै आएको बताए । 

कार्यक्रममा वरिष्ठ कथाकार प्राज्ञ सनत रेग्मी,  प्राडा जनार्दन आचार्य, सुमित्रा न्यौपान, नवीन अभिलाषी, बि.पि. अस्तु, भिमवहादुर शाही, पङ्कज श्रेष्ठ , लक्ष्मी बस्याल, बालकृष्ण रेग्मी, बद्री ढकाल 'हिरामणि' लगायत चार दर्जन बढी साहित्यकारहरूको उपस्थिति रहेको थियो ।